विश्वकप फुटबलको फाइनलमा आज आइतबार फ्रान्स र क्रोसिया भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा क्रोसियाले इङल्याण्डलाई पराजित गरेपछि विश्वकपको फाइनलमा पुगेको हो ।
क्रोसिया विश्वकपको फाइनलमा पहिलो पटक पुगेको छ भने फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । यस अघि सन् १९९८ को विश्वकप विजेता फ्रान्स यस विश्वकपसहित १५ औ पटक विश्वकप खेलिरहेको छ । फ्रान्सले सन् १९९८ मा आयोजकको रुपमा विश्वकप जितेको थियो । त्यस बाहेक फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो ।
विश्वकप फुटबलका लागि नेपालगन्जका विभिन्न होटलहरुले विशेष व्यवस्था गरेका छन् । उनीहरु प्रतियोगिताको सुरुदेखि ठूला–ठूला पर्दामा प्रतिस्पर्धा हेर्ने व्यवस्थादेखि विभिन्न छुटमा परिकारहरुको सेवा गरिरहेको जनाएका छन् । ‘आठ सय बढी त पर्दा मात्रै बिक्री भएको छ’, प्रोजेक्टरमा प्रतियोगिता व्यवस्था गरिएपछि पर्दा बिकेको जानकारी दिंदै सेन्चुरी इन्फोटेकका प्रबन्धक निर्देशक संजय थापाले दैनिक नेपालगन्जसँग भने, ‘यसपालीको विश्वकप यसअघि भन्दा निकै उत्साहजनक देखियो ।’
यद्यपि, आम नेपालीले फेबर गर्ने टिमहरु हार्दै गएपछि क्वाटरफाइनल यता प्रतियोगिताको हेर्नेको चाप भने घटेको छ । ‘तर फाइनल खेल सँगै वल्र्डकप सेलिब्रेसन गर्दैछौं’, होटल सिद्धार्थका विजनेश डेभलपमेन्ट अफिसर मोहम्मद रफिले भने, ‘ठूलो पर्दामा हेर्ने व्यवस्था मात्रै होइन खानपानदेखि कम्पिमेन्ट्रीसम्मका सुविधा थप गरेका छौं ।’ कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजाले पनि वल्र्डकप फाइनलका लागि विशेष व्यवस्था गरेको जनाएको छ ।