इलाका प्रहरी कार्यालय धनौली खजुराले आगामी साउन १ गतेदेखि खजुरामै मुद्दा चलाउने भएको छ ।
क श्रेणीमा रहेको इलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्दा चलाउने भएपछि अब खजुरा क्षेत्रमा प्रहरीकहाँ परेका मुद्दाका लागि जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता टरेको छ ।
हाल इलाका प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय भगवानपुर र जिल्ला प्रहरी कार्यालय बाँकेले मात्रै मुद्दा चलाउँदै आएको छ । इलाका प्रहरी कार्यालय खजुरा धनौलीमा भर्खरै सरुवा भएर आएका प्रहरी निरिक्षक मख्खन प्रसाद यादवले आगामी साउन १ गते देखि धनौलीले मुद्दा चलाउने जानकारी दिए ।
ब्राउनसुगर विरुद्ध अभियानको तयारी
स्थानीय क्षेत्रमा बढ्दो सेवन र दुब्र्यसनले प्रहरीलाई चिन्ता
बाँके जिल्ला भारतीय सिमाना संग जोडिएको जिल्ला हो । लागुऔषध ब्राउनसुगर जिल्लाको मुख्य समस्याको रुपमा रही आएको छ । ईलाका प्रहरी कार्यालय धनौली खजुरा बांकेको आयोजनामा वडा एरिया अन्तर्गतको समग्र शान्ति सुरक्षाको बिषयमा शुक्रवार अन्तरक्रिया कार्यक्रम गरिएको छ । खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति लगायत वडा अध्यक्षहरु, जनप्रतिनिधी, समाजसेवी, राजनितिक दलका प्रतिनिधि, शिक्षक, संचारकर्मीको सहभागिता रहेको कार्यक्रममा मुख्य विषय लागुऔषध नै रह्यो ।
इलाका प्रहरी कार्यालय धनौलीमा नयाँ आएका प्रहरी निरीक्षक मख्खन प्रसाद यादव संगको परिचयात्मक कार्यक्रम सहितको अन्तरक्रियामा बोल्दै स्थानीयहरुले टोलमा बढ्दो लागुऔषध बारे चिन्ता ब्यक्त गरेका हुन् ।
मुद्दा अनुसन्धान सम्बन्धी काम गर्दै आएका धनौली प्रहरीका अधिकारी प्रकाश जैसीले यसअघि २५ बढि युवाहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको जानकारी दिए ।
लागुऔषध सोनपुर, उढरापुर, रनियापुर लगायत क्षेत्रको मात्रनभई पूरै जिल्लाको हकमा ठूलो चुनौतीको रुपमा रहेको बताउँदै स्थानीयहरुले सो नियन्त्रणमा पहल गर्न प्रहरीलाई आग्रह गरेका थिए । कार्यक्रमबारे स्थानीय नेता सतिष निरौलाले भनेका छन्, ‘लागुऔषध विरुद्ध भएको टिप्पणी कार्यान्वयनको अपेक्षा राख्दछु ।’ स्थानीय क्षेत्रबाट सहभागी भएका बासिन्दाले सुरक्षामा समेत लागुऔषध नै चुनौतीको रुपमा प्रमाणित भइरहेको सो तर्फ प्रभावकारी रुपमा काम गर्न प्रहरीलाई सुझाव दिएका थिए ।
प्रहरीले वडा अध्यक्षको संयोजकत्वमा रहने गरि हरेक क्षेत्रमा प्रहरी सम्मिलित समिति बनाएर लागुऔषध विरुद्ध काम गर्ने योजना बनाएको जनाएको छ । भारतीय क्षेत्रमा २५ ग्राम लागुऔषध ओसारपसार गर्न सहुलियत रहेको र नेपाली क्षेत्रमा एक ग्राम पनि पक्राउ भए मुद्दा चलाउने कानून भएकोले समस्या उत्पन्न भएको प्रहरी भनाई छ । भारतीय क्षेत्रमा सहजै उपलब्ध हुने लागुऔषध नेपाली क्षेत्रमा कडाईका साथ प्रतिबन्ध गर्न गार्हो भइरहेको बताइएको छ । सोनपुर क्षेत्र पछिल्लो समयमा लागुऔषधको केन्द्र बन्दै गएको प्रहरी स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी युवा असलम राईले लागुऔषध सेवनका कारण स्थानीय क्षेत्रमा अपराध समेत बढेको बताएका छन् । उनले समूहिक रुपमा सबैलाई अभियानमा सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गरे । प्रदेश प्रहरीले समेत सिदा अप्रेशन अन्तरगत बाँकेमा लागुऔषध नियन्त्रणको कारवाही अघि बढाउँदै आएको छ । रुपईडिहाबाट सहजै पहाडी जिल्ला सम्म सप्लाई हुने लागुऔषध बारे प्रहरीले विभिन्न प्रयास गर्दै आएपनि नियन्त्रणको अवस्था सन्तोषजनक हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७२।०७३ मा ९७ वटा मुद्दामा १०८ जना पक्राउ परेको ५८७ ग्राम ३८ मिलीग्राम ब्राउनसुगर बरामद भएको हो । सो क्रममा २० किलो २०० ग्राम चरेस, ५ किलो अफिम, २५ ग्राम गाँजा, ९३४ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७३।०७४ मा १३७ वटा मुद्दामा १८० जना पक्राउ परेको ५३७ ग्राम ३१२ मिलीग्राम ब्राउनसुगर बरामद भएको हो । ५३ ग्राम अफिम, ३७ किलो १ ग्राम गाँजा, ४ लिटर २०० मिलिलिटर कोरेक्स ९७५ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको छ ।
आर्थिक वर्ष २०७४।०७५ को हाल सम्म १४२ वटा मुद्दामा ३१० जना पक्राउ परेको ८६ केजी २५० ग्राम चरेस, ७ केजी ३०० ग्राम अफिम, १०० ग्राम गाँजा, २६५० मिलीलिटर कोरेक्स, ३५०१ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको छ ।