अवैध मदिरा प्रहरी साँठगाँठमा भारत तिर !

अवैध मदिरा नियन्त्रण लिएर नष्ट गर्न लैजाँदै प्रहरी ।
कानून बमोजिम मान्यता प्राप्त नगरी मदिरा उत्पादन र बिक्री वितरण गर्न नमिल्ने भएपनि बाँके राप्तीपारि क्षेत्रमा घरै पिच्छे घरेलु मदिरा उत्पादन र भारतीय क्षेत्रसम्म तस्करी हुँदै आएको खुलेको छ । बाँके राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्रबाट घरेलु मदिरा भारतीय बजार सम्म सहजै पुग्ने गरेको बारे इलाका प्रहरी कार्यालय कार्यालय भगवानपुरका प्रहरी इन्चार्ज विरेन्द्र विर विश्वकर्मा भन्छन्, ‘अहिले म उत्पादन भइरहेका स्थानहरु बारे अनुसन्धान गर्दैछु ।’

 
प्रहरीले थालेको अनुसन्धानको दुई सातासम्म पनि कति स्थानमा उत्पादन सुरु भएको वा बन्द भएको अथवा कारवाही गर्ने अभियानको तयारी रहेको बारे विवरण समेत अनुसन्धानमा नै रहेको विश्वकर्माले बताए । नरैनापुर गाउँपालिकाको गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईंयासम्मको क्षेत्रबाट दिनहँु बेहिसाब स्थानीय मदिरा भारतीय क्षेत्रमा तस्करी भइरहँदा प्रहरीले थाले अनुसन्धानमा उत्पादनगृह समेतको विवरण खुल्न सकेको छैन ।
प्रहरीले आफै सेवन गर्ने गरेका कारण कारवाही अघि बढ्न नसकेको स्थानीय मदिरा ब्यवसायीले बताउँदै आएका छन् । यसअघि इलाका प्रहरी कार्यालय भगवानपुरले कारवाही चलाउने दावी लिएपनि एक सातासम्म शून्य कारवाही देखा परेपछि प्रहरी संलग्नताका विवरणहरु बाहिर आउन थालेका छन् ।

 
‘इलाका प्रहरी कार्यालय भगवानपुरको उत्तर तर्फ एक सय मिटर क्षेत्रमा रहेको मोतीपुर गाउँबाट दिनहुँ घरेलु मदिरा स्थानीय क्षेत्रमा सप्लाई हुन्छ’, श्रोतले भन्यो, ‘प्रहरी आफै सेवनकर्ता भएका कारण कारवाही सुरु नै हुन सकेको छैन ।’ प्रहरी इन्चार्ज प्रहरी निरीक्षक विश्वकर्माले मदिरा बारे अनुसन्धान भइरहेको दावी गरेपनि कुन र कति विषयमा अनुसन्धान भइरहेको उनले खुलाउन सकेनन् । अनुसन्धानको विवरण बारे प्रष्ट पार्दै उनले भने, ‘एक साता लगाएर कुन कुन स्थानमा बिक्री हुन्छ भन्नेसम्म पत्ता लगाइयो ।’

 
उत्पादन हुने प्रहरी नजिकको गाउँ मोतीपुर र महादेव नगरमा प्रहरीले कारवाही अघि बढाउन सकेको छैन, त्यस संगै जमुनी, दोन्द्रा, भोजपुर, लालपुर, कोहला, ननकउपुर, फत्तेपुर, सर्रा, मेहमानपुर लगायत क्षेत्र पनि इलाका प्रहरी कार्यालय भगवानपुरको दायरामा परेपनि कारवाही नभएको स्थानीयहरुले बताएका छन् ।

 
मोहतीपुरका बासिन्दा समेत रहेका एक मदिरा ब्यवसायीले दिएको जानकारी अनुसार घरेलु मदिरालाई प्रहरीले समेत सेवन गरेको पाइएको छ । विभिन्न समयमा प्रहरी कार्यालयमा नै मदिराको जाने गरेको बताउँदै ब्यवसायीले भने, ‘प्रहरीले चाहेको खण्डमा एक दिनमा नै मदिरा नियन्त्रण हुन्छ ।’

 
सो क्रममा वडा प्रहरी कार्यालय नेपालगन्जले विहिवार नेपालगन्ज वडा नं.६ फुल्टेक्राबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ । लुकीछिपी मदिरा उत्पादन गर्दै गरेको सूचनाको आधारमा कारवाही गर्दा मदिरा बरामद भएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

 
‘घरमा छापा मार्ने समयमा कुनै ब्यक्ति नभएका कारण मदिरा मात्र नियन्त्रणमा लिइएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै डाँगीले भने, ‘ब्यक्ति बारे अनुसन्धान सुरु गरिएको छ ।’ मदिरा उत्पादन कार्यमा संलग्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउँदै इन्चार्ज डाँगीले भने, ‘अवैध कार्यमा संलग्न ब्यक्तिलाई चाँडै फन्दामा लिने तयारी रहेको छ ।’

 
‘जिल्लाको जुनसुकै स्थानमा अवैध मदिरा उत्पादन सम्बन्धी काम कारोबार भएको रहेछ भने सो सम्बन्धमा हामी कारवाही गर्छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘गृहमन्त्रालयको कार्ययोजना अनुरुप प्रहरीले काम कारवाही अघि बढाएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया