प्राविधिक शिक्षामा बढ्दो आकर्षण

सरकारी स्तरबाटै पहिलो पटक प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान थालिएको छ ।
प्राविधिक शिक्षामा सरकारले प्राथमिकता दिइरहँदा निजी क्षेत्रबाट सञ्चालित प्राविधिक शिक्षालयहरुमा आकर्षण बढेको देखिएको छ । नेपालगन्जकै तथ्यांकलाई आधार मान्ने हो भनेपनि प्राविधिक शिक्षाप्रतिको आकर्षण उल्लेख्य बढेको सम्बद्धहरुको भनाइ छ ।

 

‘सरकार पहिलो पटक प्राविधिक शिक्षामा प्राथमिकताका साथ देखा परेको छ’, एक दशकदेखि नेपालगन्जमा प्राविधिक शिक्षाका लागि शैक्षिक प्रतिष्ठान सञ्चालन गर्दै आएका फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका सदस्य किशोर पाण्डेले दैनिक नेपालगन्जसँग भने, ‘पछिल्ला दिनमा विद्यार्थीदेखि सरकारसम्मले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छन् ।’

 

बाँकेमा मात्र डेढ दर्जन प्राविधिक शैक्षिक प्रतिष्ठान सञ्चालनमा आइसकेको जानकारी दिंदै पाण्डेले खुल्ने क्रम जारी रहेको बताए । एक दशकदेखि नेपालगन्ज टेक्निकल कलेज सञ्चालन गर्दै आएका पाण्डेले प्राविधिक शिक्षा अध्ययन गर्नेहरुले नतिजासँगै व्यवहारिक जीवनमा पनि उल्लेख्य उपलब्धी हासिल गरेकाले पनि आकर्षण बढ्दै गएको धारणा राखे ।
यसैबीच, आइतबार देशभर प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आइतबारबाट प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ सुरु भएको हो । ‘यसअघि पनि केपी ओली प्रधानमन्त्री हुँदै प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने कुरा उठाएका थिए’, नेपालगन्ज टेक्निकल कलेजका प्रमुख पाण्डेले भने, ‘यसपटकदेखि राष्ट्रिय जागरण अभियान नै सुरु भएको छ ।’

 
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई परिपूर्ति गर्न प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न अपिल गर्ने उद्देश्यले पहिलो पटक अभियान सुरु गरिएको सम्बद्ध सरकारी अधिकारीले बताएका छन् । सरकारले प्राविधिक शिक्षालाई प्रत्येक स्थानीय तहसम्म पुर्याउन गरेको घोषणा अनुरुप सामुदायिक विद्यालयहरुमा यसैबर्षदेखि ‘सामुदायिक विद्यालयका लागि प्राविधिक शिक्षा’ कार्यक्रम पनि सञ्चालनमा ल्याइसकेको छ ।

 

आइतबार नेपालगन्जमा स्थानीय प्राविधिक शिक्षालयहरुले संयुक्त रुपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गरे । विभिन्न प्ले कार्ड सहित विपिचोकबाट निकालिएको जागरण र्याली त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल हुँदै धम्बोझी चोक पुगेको थियो ।

 

धम्बोझी चोकमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगन्जलाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गरिने बताइन् । ‘यसैपनि नेपालगन्ज प्राविधिक शिक्षाको हबका रुपमा परिचित भैसकेको छ’, उपप्रमुख थापाले भनिन्, ‘प्राविधिक शिक्षाको गुणस्तर र पूर्वाधारमा अझ बढी ध्यान दिएर नेपालगन्जलाई पश्चिम क्षेत्रकै हबका रुपमा विकास गरिनुपर्छ ।’

 

कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव संजय सिंहले सरकारले घोषणा गरेको एक स्थानीय एक प्राविधिक शिक्षालय भन्ने अवधारणालाई सार्थक पार्नुपर्ने बताए । ‘प्राविधिक शिक्षामा नेपालगन्ज हबको रुपमा अग्रसर भएकोले प्राविधिक शिक्षा घरघरमा हुन जरुरी छ’, सिंहले भने । कार्यक्रममा भेरी प्राविधिक शिक्षालयका प्रमुख भीमकान्त लामिछानेले नेपालका लागि उपयुक्त शिक्षा नै प्राविधिक शिक्षा भएको धारणा राखे ।

प्रतिक्रिया

प्रतिक्रिया