प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई झण्डै २ करोड छात्रवृत्ति घोषणा गरिएको हो
समाचारदाता
दैनिक नेपालगन्ज
क्यान महासंघले प्राविधिक शिक्षा तर्फ अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुका लागि झण्डै २ करोडको छात्रवृत्ति घोषणा गरेको छ । क्यानले सात वटै प्रदेशबाट १÷१ जना छात्रालाई पूर्ण र ६÷६ जनालाई आंशिक छात्रवृत्तिको घोषणा गरेको हो । छात्रवृत्तिको कुल रकम १ करोड ८३ लाख ३६ हजार ५ सय बराबरको हुने महासंघले जानकारी दिएको छ ।
क्यान महासंघ ५ नं. प्रदेशले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी छात्रवृत्ति बारे जानकारी दिएको हो । ‘गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको दिन लागिएको हो’, क्यान महासंघ प्रदेश ५ का अध्यक्ष सुदिप शर्माले भने, ‘यसले ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउन सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।’ क्यान नेसनल आइसीटी स्कलरशीपको बारे जानकारी दिंदै अध्यक्ष शर्माले काठमाडौं स्थित लर्ड बुद्ध एजुकेसन फाउण्डेशनसँगको सहकार्यमा कुल ४९ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको बताए । ‘प्रत्येक प्रदेशबाट फिमेल मेरिट आइसीटी स्कलरशीप ४ जना, आइसीटी मेरिट स्कलरशीप ३ जनालाई प्रदान गरिनेछ’, अध्यक्ष शर्माले भने । उक्त छात्रवृत्ति मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बुद्ध एजुकेशनमा स्नातक तह अन्तर्गत बिएस्सीआइटीको अध्ययनका लागि हो ।
५० प्रतिशत अंक सहित प्लस टु पास र कक्षा १० को गणितमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सीटीइभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने अध्यक्ष शर्माले जानकारी दिए । ‘अनलाइनबाटै छात्रवृत्तिको लागि आवेदन दिन सकिनेछ’, प्रदेश अध्यक्ष शर्माले भने, ‘छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न क्यानले जिल्ला, प्रदेश र केन्द्रीय स्तरको छात्रवृत्ति छनौट समिति गठन गर्नेछ ।’
कार्यक्रममा बोल्दै क्यानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले आइटी ठूलो सम्भावनाको क्षेत्र भएको उल्लेख गर्ने मार्केटको आवश्यकता अनुसार विषय छनोट गरिनुपर्ने धारणा राखे । ‘आइटी भित्र धेरै विधा छन्’, कुँवरले भने, ‘सही विषयको छनोटले सहज रोगजारी प्राप्त हुनसक्छ ।’ यसले शिक्षा आर्जनपछि पनि विद्यमान बेरोजगारीको अवस्था अन्त्य गर्ने कुँवरको भनाइ थियो ।
त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जलानले छात्रवृत्तिले जेहेन्दार विद्यार्थीलाई प्रविधि शिक्षा पढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कलेजको विशेषता, अध्ययन हुने विषय लगायतका बारेमा जानकारी दिएका थिए ।
क्यान महासंघ बाँके अध्यक्ष भोजराज तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश ५ का महासचिव भेषराज बस्नेत, क्यानका संस्थापक अध्यक्ष इश्वर प्रसाद पोखरेल, पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापा, धम्बोझी माविका प्राचार्य किरण आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, उपसचिव काशिराम शर्मा, प्रेस चौतारी बाँके अध्यक्ष हेमन्त विक लगायतको सहभागिता रहेको थियो ।