समाचारदाता
दैनिक नेपालगन्ज
नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब मुलुकको लक्ष्य सुशासन र विकास भएको बताएका छन् । कार्लमाक्र्स जन्म द्वीशतबार्षिकी समारोहको सन्दर्भमा नेपालगन्जमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले राजनीतिक क्रान्तिको कोर्ष पूरा भएको बताउँदै अब मुलुक बनाउने तर्फ लाग्नु पर्ने धारणा राखे ।
‘२०१० सालमा सुरु भएको क्रान्तिको कोर्ष ०६२÷०६३को जनआन्दोलनसँगै पूरा भएको छ’, पूर्व प्रधानमन्त्री खनालले भने, ‘त्यसकै उपलब्धीस्वरुप गणतन्त्र आयो, नयाँ संविधान जारी भयो ।’, संविधानलाई उपलब्धीको रुपमा चर्चा गर्दै नेता खनालले त्यसलाई संस्थागत गर्ने जिम्मेवारी सबैमा रहेको जिकिर गरे ।
राष्ट्र र राष्ट्रियता कमजोर हुँदा देशका सीमा मिचिएको उल्लेख गर्दै नेता खनालले भने, ‘राष्ट्रियता कमजोर हुँदा कालापानी नेपालको भएको प्रमाण हुँदा पनि स्वामित्वका लागि आवाज उठेन ।’ उनले राष्ट्र र राष्ट्रियता जोगाउन सम्पूर्ण कम्युनिष्ट शक्ति एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताए ।
वर्तमान संविधान समय र माग अनुसार परिमार्जन गर्दै लगिने बताउँदै अध्यक्ष खनालले भने, ‘संविधानलाई अझ विकसित गर्दै लैजान नै हामी एक भएका हौं ।’ माक्र्सवाद र लेनिनका कुरा गर्ने कम्युनिष्टहरुले त्यसलाई कसरी लागु गर्ने भनेर सोंच्नु पर्ने नेता खनालको भनाइ थियो । ‘नेपाली समाजमा माक्र्सवाद र लेलिनवादलाई कसरी लागु गर्ने भन्ने अध्ययन आवश्यक छ’, उनले भने ।
दुवै पार्टी एक भएको सन्दर्भमा बोल्दै नेता खनालले नेकपाले कुनै पूर्वाग्रह मुक्त भएर काम गर्नुपर्ने बताए । उनले पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीभित्र जिम्मेवारीको ग्यारेन्टी गरिनुपर्ने धारणा राखे ।
कार्ल माक्र्स जन्म द्वीशतबार्षिकी समारोह समितिका प्रदेश ५ का संयोजक ठाकुर गैरेले माक्र्सवादी विचारको प्रयोगबाट नेपालमा समृद्धी, विकास र सार्वभौमिक अखण्डता कायम गर्न सकिने बताए । उनले मेचीदेखि महाकालीसम्म माक्र्सवादका बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रम भैरहेको जानकारी दिए । दुई दिनसम्म चल्ने प्रशिक्षणमा मुख्य प्रशिक्षकका रुपमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको कम्युनिष्ट आन्दोलन विकास क्रम बारे प्रस्तुति राखेका छन् ।
प्रदेश ५ का १२ वटै जिल्लाबाट झण्डै १ हजार प्रतिनिधि सहभागी प्रशिक्षमा नेकपाका महामन्त्री सिंहसँगै नेकपाका स्थायी समिति सदस्य समेत रहेका मूल समारोह समितिका घनश्याम भुषाल र सहसंयोजक राम कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरी, गणेश शाह लगायतले विषयगत प्रशिक्षण गर्नेछन् ।