डुडुवामा बाढी पीडितलाई आश्रय स्थल निर्माण गरिंदै

नेपालगन्ज/समाचारदाता
हरेक बर्ष बाढीको पीडा खेप्दै आएको बाँकेको डुडुवा गाउँपालिकाले पीडितहरुका लागि आश्रय स्थल निर्माण सुरु गरेको छ । बर्षात्मा बाढीका कारण घर नै छाडेर हिड्नु पर्ने अवस्था आउने भएकाले पीडितहरुका लागि दुई आश्रय स्थल भवन निर्माण सुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

 
‘वडा नं. १ मा आश्रय स्थल बनाउँदै छौं’, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने । उनले होलियाको छिटाईपुर्वा र चौफेरी पाँजामा रु ५ लाखका दरले दुई वटा भवन निर्माण सुरु गरिएको जानकारी दिए । राप्ती नदीको बाढी तथा ढुबानले सो क्षेत्रका नागरिकहरु वर्षेनी डुवानमा परि मानवीय क्षति तथा धनमाल नष्ट हुने गरेको अवस्थामा यो भवनले सो घटनाबाट जोगाउने विश्वास लिइएको छ ।

 
‘भवन निमार्णपछि विपद्का बेला प्रभावितहरुलाई आश्रय लिन सहज हुनेछ’, अध्यक्ष चौधरीले भने, ‘त्यसैले आश्रय स्थल बाढीले प्रभाव पार्न नसक्ने उचाइ भएको स्थानमा बनाइँदैछ ।’

 

यसैबीच, डुडुवा गाउँपालिका– १ होलिया छिटाइपुर्वाका अग्नीपिडितलाई राहत वितरण गरिएको छ । २०७४ बैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो । डुडुवा गाउँपालिका विपत व्यवस्थापन कोषबाट अग्नीपिडित ३२ परिवारलाई नगद रु दुई हजारका दरले वितरण गरिएको हो । एक बर्षसम्म पीडितले कुनै निकायबाट सहयोग नपाए पछि गाउँपालिकाबाटै रकम वितरण गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया