बाँकेबाट भारतीय क्षेत्रमा पेट्रोलियम तस्करी गरेको सन्दर्भमा अनुगमन र अनुसन्धान थालेको एउटा टोलीले सोमवार जयसपुर स्थित जय बागेश्वरी आयल स्टोरलाई सिल गरेको छ । निर्देशन विपरीत भारतीय सवारी साधनमा पेट्रोलियम पदार्थ बिक्री गरेको र १० लिटर पेट्रोलियम पदार्थमा ४० एमएल कम बिक्री गरि उपभोक्ता ठगी गरेको फेला परेपछि पम्प सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिएका छन् ।
भारतीय सिमानाबाट करिब एक किलोमिटरको दूरीमा रहेको पेट्रोल पम्पबाट भारतीय सवारी साधनले अधिकतम पेट्रोलियम खरीद गरी तस्करी गर्ने गरेको विशेष सूचनाको आधारमा अचानक कारवाही गर्दा पेट्रोल पम्प सिल भएको हो । त्यहाँबाट अबैध रुपमा पेट्रलियम पदार्थ भारत जाने गरेको पनि पाइएको छ ।
अनुगमन टोली पुग्दा पनि ग्यालेनमा खुल्ला रुपमा पेट्रोलियम पदार्थ भारतीय क्षेत्रमा तस्करी भइरहेको बरामद भएपछि कारवाही शख्त रुपमा अघि बढाइएको हो । पेट्रोल पम्प संचालकले आयल निगमको परिपत्रलाई समेत उल्लंघन गरी बिक्री वितरण गरेको पाइएको पौडेलले जानकारी दिए । ‘बरामद भएको कतिपय बिलमा सवारी साधनको नम्बर नै उल्लेख भएको छैन,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै पौडेलले भने, ‘कालो बजारी गर्नेहरुलाई कानूनको दायरामा ल्याउने प्रयास अनुरुप पेट्रोल पम्पलाई कारवाही गरिएको हो ।’ पम्पले भारतीय नं. उल्लेख गरि आयल निगमको निर्देशन समेत उल्लंघन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
ब्यवसायीले अतिरिक्त लाभ लिनका लागि पुरानो स्टक लुकाएर मृल्य बृद्धि पछि मात्र बिक्री गर्ने उद्देश्यबाट गरेको क्रियाकलाप विरुद्ध प्रशासनले थाले अनुगमन र छापा कारवाहीमा ब्यवसायीहरु फन्दामा पर्न थालेका छन् ।
सिल गरिएको पेट्रोल पम्प एक साता सम्मका लागि बन्द गरिएको र संचालकलाई ३ दिन भित्र उपस्थित हुन पत्राचार गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके, वाणिज्य कार्यालय नेपालगन्ज र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जको संयुक्त टोलीले पम्प सिल गरि कारवाही अघि बढाएको हो ।
जय बागेश्वरी आयल स्टोर जयसपुरले जेष्ठ ३१ गते अघि देखि नै भारतीय सवारी साधनमा आयल निगमको निर्देशन विपरीत पेट्रोलियम बिक्री गर्दै आएको बिल र अभिलेखबाट खुलेको छ । ‘भारतीय सवारी साधनको नम्बर समेत बिलमा इन्ट्री गरेको पाइयो,’ प्रशासकीय अधिकृत पौडेलले भने । नेपाल आयल निगमले २०७४ माघ १० गते नै सबै पेट्रोल पम्पलाई निर्देशन दिँदै कुनैपनि भारतीय सवारी साधनमा एक सय लिटर भन्दा बढि पेट्रोलियम पदार्थ नहाल्न भनेको छ ।
सामाग्री स्टक रहेको अवस्थामा अभावको कृतिम अवस्था उत्पन्न गरी उपभोक्तालाई ठगी गर्ने ब्यवसायी विरुद्ध प्रशासनले थालेको कारवाहीमा सोमवार पेट्रोल पम्पहरु कारवाहीको दायरामा परेका हुन् । ‘कानून विपरीत काम गरेका कारण पम्प सिल गरिएको हो,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रतिनिधि अजय बहादुर पन्तले भने, ‘विभिन्न निर्देशन र नियमहरु पालन नगरेको पाइएकोले कारवाही अघि बढ्ेको हो ।’
अनुगमन टोलीले जयसपुरको जय बागेश्वरी आयल स्टोर, विपी चोकको कुसुम फिलिंग सेन्टर, मयंक ट्रेडर्स, खजुरा रोडको कल्याण आयल स्टोर, एनबी रिफ्युलिंग सेन्टर लगायतमा चेकजाँच गरि कानून विपरीत रहेको क्रियाकलापमा फेला परेका पेट्रोल पम्पलाई कारवाही अघि बढाएको हो ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जका बरिष्ठ निरीक्षक शम्भु कुमार झाले पेट्रोलपम्पमा देखिएको प्राविधिक त्रुटि तर्फपनि कारवाही अघि बढाउने बताएका छन् । ‘खासगरि मिटर सेटिंग, जिरोको सेन्टर र न्युनतम् अधिकतम् मापदण्डमा देखिएको समस्या बारे ब्यवसायी माथि कारवाही गर्ने तय भएको हो,’ झाले भने, ‘कानून मिच्ने अधिकार कसैलाई छैन । प्राविधिक त्रुटिको हकमा केहि समझदारी तय हुन सक्छ, तर कम पेट्रोलिम दिएको खण्डमा कारवाही निश्चित भएको हो ।’
भारतीय क्षेत्र भन्दा नेपाली क्षेत्रमा २४ रुपैया सस्तो पेट्रोेलियम पदार्थ मुल्य भएपछि अचेल भारतीय सवारी साधनमा तस्करीको खेल भइरहेको सूचनाको आधारमा कारवाही गर्दा जयसपुरमा तस्करहरु रंगेहात फेला परेका हुन् । अनुगमन टोलीले जाँच गरिरहँदा दर्जन बढि भारतीय सवारी साधनलाई पेट्रोल पम्प संचालकले पछि आउन संकेत गर्दै फिर्ता पठाएका थिए । पेट्रोलियम पदार्थमा मनोमानी भएको सन्दर्भमा अनुगमन टोलीले गम्भीरता पूर्वक कारवाही अघि बढाउने जनाएको छ ।
सो क्रममा टोलीले युपी ३१ के ७७७३, युपी ४० यु ३५२५ नं.को मोटरसाइकल र युपी ४० एन, ८३००, युपी ७८ ईएक्स ६६०१ नं.को कारले अवैध रुपमा पेट्रोलियम खरीद गरिरहेकै अवस्थामा बरामद गरी फिर्ता गराएको हो ।
नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले नेपालगन्जका पेट्रोल पम्पहरुलाई पत्राचार गरि भारतीय सवारी साधनलाई १०० लिटर भन्दा बढि पेट्रोलियम पदार्थ नदिन निर्देशन गरेको छ । भारतीय क्षेत्रमा पेट्रोलियमको मुल्य नेपाल भन्दा बढि भएको र नेपालमा सस्तो पर्ने भएकोले नेपाली क्षेत्रबाट भारतीय क्षेत्रमा तस्करी हुने गरेको सूचनाको आधारमा आयल निगमले आवश्यक निर्देशन दिएको थियो ।
सो निर्देशनको अवज्ञा गर्दै पम्पले मनोमानी ढंगले भारतीय क्षेत्रमा पेट्रोलियम तस्करी गराउनमा संलग्न रहँदै आएको अनुगमनले देखाएको छ । आयल निगम अधिकारीले तस्करीमा संलग्नताको आरोपमा पनि पेट्रोल पम्पलाई कारवाही चलाउने जनाएका छन् ।