समाचारदाता
दैनिक नेपालगन्ज
रुकुमबाट भारतीय क्षेत्रमा अफिमको कारोबार गर्दै आएका एक वडा सदस्य सहित थप दुई जना अभियुक्तलाई बाँके प्रहरीले फन्दामा लिएको छ । रुकुम सिस्ने गाउँपालिका वडा नं.४ बस्ने २७ वर्षिय भुपेश खड्का, २६ वर्षिय बम बहादुर खड्का र ४० वर्षिय बम बहादुर खत्रीलाई प्रहरीले ६ केजी ५०० ग्राम अफीम सहित फन्दामा लिएको हो ।
रुकुमबाट भारतीय क्षेत्रमा कारोबार गर्दै आएका अभियुक्त बारे प्रदेश अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले कारवाही गर्दा नेपाली रुपैयाँ प्रति केजी १ लाख पर्ने अफिम भारतीय क्षेत्रमा ५ लाख रुपैयाँ प्रति केजी बिक्री हुने गरेको अभियुक्तले बताएका छन् ।
फन्दामा परेका खत्री नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय वडा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतवार पत्रकार भेटघाट गरी घटना बारे जानकारी गराएको हो । पक्राउ परेका तीनै जना उपर लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही अघि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले बताए ।