समाचारदाता
दैनिक नेपालगन्ज
कोहलपुर नगर पालिकाले उपभोक्ताको अधिकार संरक्षण गर्न कानून निमार्णको काम थालेको छ । नगरपालिकाले उपभोक्ताको हित संरक्षणका लागी आवश्यक नीति बनाई कार्यान्वयन गर्न सक्ने कानूनी प्रावधान अनुसार नगरपालिकाले उपभोक्ताको हित संरक्षण सम्बन्धि निर्देशिका तयार पारिसकेको छ । नगरपालिकाले बजार अनुगमनलाई ब्यवस्थित गर्नका लागि छुट्टै कार्यविधि निर्माण गरि कार्यान्वयन ल्याउने तयारीमा लागेको छ ।
यसै सन्दर्भमा कोहलपुर नगरपालिकाले जेष्ठ २६ गते मस्यौदा बजार अनुगमन कार्यविधि माथि सरोकारवालाबाट सुझाव संकलन गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा इन्सेक नेपालगन्ज र उद्योग वाणिज्य संघ कोहलपुरको सहकार्यमा उपभोत्ताको अधिकार, दायित्व र बजार अनुगमन कार्यविधि विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि नगरपालिकाले सुझाव संकलन थालेको हो ।
मस्यौदा कार्यविधि प्रस्तुत गर्दै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार भएकाले त्यसको संरक्षणमा स्थानीय निकायको महत्वपूर्ण भूमिका हुने बताए । उपभोक्ता हित संरक्षणार्थ उपभोक्ताको स्वास्थ्य, सुविधा, र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मुल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्नका लागि बजार अनुगमन कार्यविधि उपयोगी हुने बताए । कार्यविधि तयार गरिरहेका गौतमले उपभोक्ता अधिकार लगायत मस्यौदा कार्यविधिमा भएका प्रावधान र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
कोहलपुर नपाकी उपाध्यक्ष सञ्जुकुमारी थारुले उपभोक्ताको अधिकार संरक्षणका लागि नगरपालिका लागि परेको बताइन् । वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा संचय स्थल, थोक तथा खुद्रा विक्री स्थल र उपभोग स्थल लगायतका ठाउँहरुमा वस्तु वा सेवा प्रदायक वा बिक्रेताको व्यवसायिक कारोबारको दर्ता, नवीकरण, आपूर्ति, मुल्य, गुणास्तर, नापतौल, विज्ञापन लगायतका व्यापारिक क्रियाकलापको नियमन गर्न कोहलपुर नगरपालिकाबाट नियमित रुपमा प्रभावकारी बजार अनुगमन गर्न आवश्यक भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी उपभोक्ता हितमा लागी कोहलपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि, २०७५ तयार पारि कार्यान्वयनमा ल्याउन लागेको बताइन । मस्यौदा कार्यविधि माथि सुझाव संकलन पश्चात अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउने उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी उपप्रमुख थारुले जानकारी दिइन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले उपभोक्ताका हितलाई संविधानले ग्यारेण्टी गरेको बताउँदै त्यस अन्तरगत पनि थुप्रै कानुनहरु रहेको बताए । अनैतिक तरिकाले कमाई गर्ने प्रवृत्तिले उपभोक्ता ठगिने गरेकोले त्यसतालाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । इन्सेक नेपालगन्जका संयोजक भोला महतले गुणस्तरीय बस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित हुने गरी कानुन निर्माण गरी कार्यान्वयन गर्न सहज बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष ठाकुरसिंह थारुले हरेक नागरिक उपभोक्ता भएको बताए । यसैगरी कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले कार्यविधी कार्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चत्र अधिकारीले नगरपालिकाले कार्यबिधि बनाई लागु गर्नु आफैमा खुसीको कुरा भएको भन्दै हामी सबै उपभोक्ता भएकाले सबैले इमान्दारीपूर्वक पेशा ब्यवसाय गर्नुपर्नेमा जोड दिए । कोहलपुरमा जथाभावी मासु बेच्ने, सडक पेटी र सडकमा खुल्ला रुपमा फलफुल, कपडा, लगायतको गैर कानूनमा ब्यापार ब्यवशाय भैरहेको भन्दै यसको नगरपालिकाले यसको नियमन गरि कानूनी दायरामा ल्याउनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड नगर्ने खाद्यबस्तुको बिक्री बितरण गर्न र गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने प्रत्येक उपभोक्ताको अधिकार सुनिश्चित गर्र्ने गरि कानून बनाई प्रभावकारी कार्यान्वयनमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, कोहलपुर उद्योग ब्यापार संघका चण्डी प्रसाद गैरे, दया बिक लगायतले उपभोक्ता अधिकारको बारेमा बोलेका थिए । स्थानीय तहलाई उपभोक्ता हित संरक्षणका लागि कानून बनाउन अधिकार दिएको भए पनि कोहलपुर बाहेक अन्य स्थानीय निकायले कानून बनाएका छैनन् । बाँकेका ८ स्थानीय तह मध्य कोहलपुर नगरपालिकाले सबै भन्दा पहिले उपभोक्ता हित संरक्षण समिति गठन गरी कार्यविधि तयार गरी सुझाव संकलन थालेकाले अन्य स्थानिय तहले पनि उपभोक्ताको हितका लागि सरोकारवालाहरु संगको ब्यापक परामर्शमा कानून निर्माण गरि कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।