सुर्खेतमा नयाँ विमानस्थलको अध्ययन

– शुरबहादुर सिंह

सुर्खेत, २३ जेठ (रासस) ः कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले रु सात अर्ब ४१ करोड लागत लाग्ने बताउनुभयो ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गर्नुभयो ।

उहाँले पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कूल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताउनुभयो । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डिपिआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुग्नुभएका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “यसको डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।”

प्रतिक्रिया

प्रतिक्रिया