बाँकेलाई राष्ट्रपति रनिङ शिल्ड

समाचारदाता
दैनिक नेपालगन्ज

प्रदेश नम्बर ५ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बाँकेले हात पारेको छ । नेपालगन्जमा आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र १० काँस्य पदक सहित कुल २९ पदक ल्याएर बाँकेले उपाधीमाथि कब्जा जमाएको हो ।

 
प्रतियोगितामा बर्दियाले दोस्रो स्थान हात पारेको छ । बर्दियाले १० स्वर्ण, ९ रजत, ७ काँस्य गरि कुल २६ पदक हात पारेको हो । ६ स्वर्ण, १० रजत र १ काँस्य गरि कुल १७ पदक ल्याई रुपन्देही तेस्रो भएको छ । प्रतियोगिताका बिजयी खेलाडीहरुलाई क्षेत्रीय अध्यक्ष भीम ओली, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, प्रहरी तालिम केन्द्र नेपालगन्जका निमित्त समादेशक चिन्तामणी बुढाथोकी, सशस्त्र प्रहरी नायब उपरिक्षक जिवन भट्टराई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, जिल्ला खेलकुद बिकास समितिका अध्यक्षहरु लगायतले पुरस्कार, प्रमाणपत्र, शिल्ड तथा ट्रफी बितरण गरेका थिए ।

 
प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु आगामी जेष्ठ २३ गतेदेखि काठमाडौंमा संचालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन् । नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता आयोजना भएको हो । प्रदेश ५ अन्तरगत रहेका १२ जिल्लाका ९ सय ४८ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कपर्दी, कराते, तेक्वान्दो र उसुका खेलहरु समावेश गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया