दैनिक नेपालगन्ज/प्रेम विश्वकर्मा
राज्यको सुविधा प्राप्त गर्न, सम्पत्ती आर्जन गर्न, आर्थिक कारोबार, संघ संस्था स्थापना लगायत क्षेत्रका लागि नागरिकता महत्वपूर्ण साधन हो । जन्मको आधारमा नेपालको नागरिकता लिएका ब्यक्तिका छोरा छोरीलाई नागरिकता लिन कानूनी जटिलता देखिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ र नेपाल नागरिकता ऐन २०६३ ले दिएको अधिकारलाई प्रयोग गरि आमाबुवाले नेपाली नागरिकता प्राप्त गरेका रहेछन् भने, ऐनमा भनिएको छ कुनै ब्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो ब्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ ।
ऐनमा भनिएको छ नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागे सम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको ब्यक्तिको त्यस्तो नागरिकताको प्रमाण पत्र प्राप्त गर्नु अघि जन्मेको सन्तानले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने कानूनमा ब्यवस्था छ ।
संम्बत् २०४६ साल चैत्र मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गदै आएको ब्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुने उल्लेख छ । तर ऐन बमोजिमको ब्यवस्था निश्क्रिय भएकाले जन्मका आधारमा नेपाली नागरिकता पाएका ब्यक्तिका छोराछोरीलाई नागरिकता लिन कानुनी जटिलता थपिएको हो । मस्यौदा तयार भएपनि ऐन निर्माणमा समस्या देखिएपछि नागरिकता वितरणमा पनि चुनौती उत्पन्न भएको सरकारी अधिकारीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेलाई गृह मन्त्रालयले गरेको परिपत्रमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ द्वारा नेपाल नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा ४ मा उल्लेखित ब्यवस्था नेपालको अन्तरिम संविधान २०६३ को धारा ८८ उपधारा २ को प्रतिबन्धात्मक बाक्यांशको खण्ड (ग) बमोजिम २०७० चैत्र १२ गतेदेखि निस्क्रिय हुने भएकोले सो ब्यवस्था बमोजिम सोही मिति देखी नागरिकता जारी नगर्ने भनी नेपाल सरकार (उपप्रधानमन्त्री तथा गृहमन्त्री स्तर) बाट २०७० चैत्र ११ मा निर्णय भएको भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत गणेश बहादुर शाहीका अनुसार बशंज र वैवाहिक, अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण हुँदै आएको छ ।
मन्त्रालयको परिपत्रले पछिल्लो समय समस्या बनाएको छ, शाहीले भने, परिपत्र भन्दा बाहिर जान सक्ने अवस्था नभएकोले वैवाहिक, अंगिकृत नागरिकतामा कानूनी जटिलता उत्पन्न भएका छन् । ‘वंशज नागरिकताको विषयमा समस्या देखिएको छैन,’ शाहीले भने, ‘आवाश्यक पर्ने सबै कागजात ल्याए आधा घण्टा भित्र नागरिकता प्राप्त गर्न सकिन्छ ।’
कानुनी जटिलताकै कारण विचाराधीन अवस्थामा रहेका ७ वटा नागरिकता मध्ये हाल सम्म ६ वटा नागरिकता अदालतको परमादेश पछि जारी गरिएको पाइएको छ । एउटा नागरिकताको कागजी प्रक्रिया पुगे त्यो पनि जारी हुने सरकारी अधिकारीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाँके नागरिकता फाँटका अनुसार २०७४ साउन १ गते देखि २०७५ जेठ १८ गते सम्म वंशजको आधारमा ७ हजार ६ सय ७४ नागरिकता वितरण भएको छ ।
सो अवधिमा वैवाहीक, अंगिकृत नागरिकता ६ सय ६४ वटा वितरण भएको छ । कम्युटरमा इन्ट्री गरिएको र वितरण गरिएको रेकर्ड अनुसार हाल सम्म बाँकेबाट ३ लाख ३६ हजार ३ सय ८४ वटा नेपाली नागरिकता वितरण भएको देखिन्छ ।
इलाका प्रशासन कार्यालय कोहलपुरका अनुसार वैशाख मसान्त सम्म वंशजका आधारमा ९ हजार ५ सय ८८ वटा नागरिकता वितरण गरिएको छ । वैवाहिक, अंगिकृत ३९ वटा रहेको छ । आमाको सनाखतबाट २ हजार १ सय ९० वटा नागरिकता वितरण भएको छ । बादी जाति ४१, अपाङगता ४५, जेष्ठ नागरिक २५, कर्मचारी परिवार १०, प्रतिलिपी १ हजार ६९, नाबालक परिचय पत्र १४, राहदानी २ सय ३, राहदानी सिफारिस १ सय १२ रहेको कार्यालय प्रमुख एवं शाखा अधिकृत दत्तराज हमालले बताए ।
इलाका प्रशासन कार्यालय नरैनापुरका सुब्बा अमृत बुढाका अनुसार वैशाख देखि चैत्र मसान्त २०७४ सम्म वंशजका आधारमा १ हजार १ सय ६१ वटा नागरिकता वितरण भएको छ । वैवाहिक अंगिकृत ३ सय १६ गरि जम्मा १ हजार ४ सय ७७ वटा नागरिकता वितरण भएको हो ।