समाचारदाता
नेपालगन्जका उद्योगी, व्यवसायीहरुको एउटा टोलीले नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग सोमबार भेट गरी ऊर्जा संकटले व्यवसायिक क्षेत्रमा पारेको समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरणका नेपालगन्ज स्थित क्षेत्रीय प्रमुख मनोज कुमार सिंह र नेपालगन्ज वितरण केन्द्र प्रमुख राम दुलार यादवसँग झण्डै दुई घण्टा भेटवार्ता गरी ऊर्जा संकटको समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।
छलफलका क्रममा उद्योगी, व्यवसायीहरुले विद्युत अनियमितता, लो भोल्टेज, अनिश्चितता लगायतका कारणले उद्योग, व्यवसायी क्षेत्र चौपट भएको गुनासो गरे । ‘निरन्तर बत्ती आउने जाने हुँदा मेसिनरीहरुमा निकै ठूलो क्षति पुगिरहेको छ’, उद्योगपति प्रदिप छाजेडले भने । अर्का उद्योगपति चम्पालाल बोथरा, सतिश कुमार अग्रवाल लगायतले विद्युतको तालिका सार्वजनिक गरेर भएपनि जति समय दिने हो पुरा पावर उपलब्ध गराउन जोड दिए । ‘बरु दुई घण्टा दिनुस् तर फुल भोल्टेज आवश्यक छ’, उनीहरुको भनाइ थियो, ‘बत्ती कतिबेला जाने र आउने भन्ने कुराको तालिका सञ्चारमाध्यममार्फत प्रष्ट पारिनु पर्छ ।’
उद्योग, कलकारखानामा भैरहेको नोक्सानीसँगै व्यवसायिक क्षेत्र पनि उत्तिकै मारमा परेको सम्बद्धहरुको गुनासो थियो । ‘नेपालगन्जबाट पर्यटकीय सम्भावना ओझेल पर्ने जोखिम देखिंदैछ’, हानका सदस्य संजय सिंहले प्राधिकरणका अधिकारीहरुसँग भने, ‘यो चरम गर्मीमा पंखा समेतको सुविधा नपाएपछि यात्रुहरु कसरी फर्किएलान् ?’ उनले भारतीय धार्मिक पर्यटकहरुको मानसरोबर यात्रा चलिरहेकाले उनीहरुको सुविधाका लागि पनि विद्युत कटौती नगर्न आग्रह गरे ।
होटल व्यवसायी महासंघका संस्थापक महासचिव भाष्कर काफ्लेको भनाइ पनि उस्तै थियो । ‘होटल व्यवसाय चौपट भएको छ’, काफ्लेले आक्रोश व्यक्त गर्दै भने, ‘के–कति कारणले नेपालगन्जको विद्युत एकाएक संकटग्रस्त भयो ?’ काफ्लेले सूचना समेत नियमित प्रवाह गर्न जोड दिंदै प्राधिकरणका नोलाइट शाखाका कर्मचारीको व्यवहार प्रति आपत्ति जनाए । होटल व्यवसायी संघ बाँके, नेपालगन्जका वरिष्ठ सदस्य रंग बहादुर खड्काले सामान्य व्यवसायी पनि विद्युत अभावको मारमा परिरहेको गुनासो गरे ।
छलफलमा सहभागी उद्योगी, व्यवसायीहरुले प्राधिकरणले विद्युत अनियमितताको समस्या समाधान गर्न ढिलो गर्न नहुने बताए । ‘यस्तै अवस्था रह्यो भने नगरबासीहरु आक्रोशित भएर सडकमा उत्रन बेर लाग्दैन’, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष कपिल अधिकारीले भने । लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष भीम सुवेदीको भनाइ पनि त्यस्तै थियो । ‘सेवा गुणस्तरीय प्रवाह नगर्ने प्राधिकरणले के आधारमा हामीसँग शुल्क असुलीरहेको छ’, सुवेदीको आक्रोश थियो ।
प्राधिकरणका क्षेत्रीय प्रमुख सिंहले छलफलका क्रममा उठेका कतिपय कुराहरु स्थानीय स्तरबाट सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता जनाए । ‘मलाई दुई साता दिनुस्, क्रमशः यो समस्या समाधान गर्दै अगाडि बढ्छु’, नेपालगन्ज वितरण केन्द्रका प्रमुख यादवले उद्योगी, व्यवसायीहरु माझ भने, ‘दिनहुँ समस्या समाधान तर्फ नै प्राधिकरण केन्द्रित छ ।’ प्राधिकरणका दुवै अधिकारीले आपूर्तिको अभाव भन्दा वितरण प्रणालीमा समस्या औंल्याएका थिए ।
‘नेपालगन्जलाई चाहिने जति विद्युत आपूर्ति भैरहेको छ भन्ने जानकारी प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रष्टसँग जानकारी दिनुभएको छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका महासंघका सदस्य श्रेष्ठले छलफलका क्रममा भने, ‘वितरण प्रणालीलाई जति सकिन्छ छिटो सुधार गरेर विद्युत समस्याको समाधान गरिनुपर्छ ।’ प्राधिकरणका अधिकारीहरुले प्राविधिक समस्या कारणले मात्रै विद्युत अनियमितता भैरहेको भन्दै समाधानका लागि आफुहरु अहोरात्र खटिइरहेको बताए ।