रुपा गहतराज
बजारमा भएको खाद्य बस्तुमा हुने मिसावट, अनियमितता र अराजक बजारलाई नियन्त्रण गर्न जनचेतना जगाउनु पर्ने औल्याइएको छ । यसका लागि सरोकारवालाको भूमिका महत्वपुर्ण हुने सोमवार आयोजित एउटा अन्तक्र्रियामा सहभागीहरुले बताए ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले सम्बद्ध नियामक निकायको अग्रसरतामा पनि ध्यानाकर्षण गराए ।
‘हामी सबैको सरोकार, खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ मनाइएको दोस्रो खाद्य स्वच्छता महिनाका क्रममा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले उपभोक्ताको सचेतनामा बृद्धि नभएसम्म खाद्य स्वच्छता कायम नहुने धारणा राखे । ‘सरकारी निकाय पनि इमान्दारिता साथ नियमनमा सक्रिय हुनुप¥यो,’ कार्यक्रममा सहभागी एक उपभोक्ताले भने ।
बाँकेका जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बजार अनुगमन खाद्य अधिकारका लागि भन्ने कुरा प्रचलित भए पनि व्यवहारमा लागु नभएको बताए । खाद्य सम्बन्धी अनुगमन सीमित मात्रामा भएकोले अनुगमनलाई पूर्ण रुपमा प्रभावकारी बनाउनुपर्नेमा प्रजिअ केसीको जोड थियो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय बाँकेका प्रमुख ज्योत्स्ना श्रेष्ठले २०७१/०७२ मा खाद्य स्वच्छता तथा गुण नियन्त्रण कार्यक्रम, खाद्य तथा पोषण सुरक्षा लगायतका कार्यक्रमहरु सञ्चालन गरी खाद्यान्नको गुणमा अनियमितता गरेकालाई कारवाही गरिएको जानकारी दिइन् ।
खाद्य गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बाँकेका प्रमुख शम्भु झा अनुगमन टोली बनाएर प्रत्येक उद्योग, कम्पनी, पसल, लगायतका ठाउँमा अनुगमन गर्ने सकेमा उचित हुने बताउंदै अनुगमन गरेर नागरिकको स्वास्थ्यको ख्याल राख्नुपर्ने बताए ।
कार्यक्रममा उपभोक्ता मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले कार्यपत्र प्रस्तुत गर्दै खाद्य पदार्थका गुणस्तरको वर्गीकरण गरिनुपर्नेमा जोड दिए । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले देशका हरेक पर्यटकीय शहरका होटल तथा रेष्टुरेण्टहरुमा अनुगमन गरेर त्यहांँ उपलब्ध हुने खाद्यपदार्थ खान लायकको छ या छैन भन्ने कुरालाई ध्यानमा राखेर खान हुने पदार्थमा स्टीकर टाँस्नुपर्ने व्यवस्था गर्न सुझाए । उनले अखाद्य वस्तु विक्री गरेर नागरिकको स्वास्थ्यसंग खेलवाड नगर्न व्यापारीको ध्यानाकर्षण गरे ।
उद्योगपति प्रदीप छाजेडले पुराना ऐन नियमले अब नियमन गर्न व्यवहारिक नभएकाले नीतिनियम समयसापेक्ष सुधार गर्न आवश्यक रहेको बताए । जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष बद्रुद्दिन अन्सारीले भारतबाट खुलेआम भित्रिइरहेको अखाद्य दुध रोक्न आग्रह गरे ।
सर्वसाधारण नागरिकको स्वास्थ्य सुविधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट विरुद्ध जनचेताना जगाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले केन्द्रिय कार्यक्रम अनुसार, एक महिने जनचेतना अभियान शुरु गरेको छ । दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा पारेर देशव्यापी कार्यक्रम गरिएको हो ।
यसक्रममा आयोजित अन्तक्र्रिया अघि नेपालगन्जमै सोमवार बिहान प्रभातफेरी गरिएको थियो । विद्यार्थीहरु समेतको सहभागितामा विभिन्न चेतनामुलक प्लेकार्डसहित निकालिएको सचेतनामूलक प्रभातफेरीमा विभिन्न सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।
आइतबार मात्र बाँकेका बिद्यालयका विद्यार्थीहरु विच ‘हामी सबैको सरोकारः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ विषयमा बक्तृत्वकला प्रतियोगितासमेत गरिएको थियो । २३ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा खजुरास्थित ज्ञानोदय नमुना माविका प्रकृति भण्डारी प्रथम, गौरव सापकोटा द्वितिय, प्रशंशा विश्वकर्मा तृतिय र सुनिता गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे । पुरस्कृतले ८ हजारदेखि २ हजार सम्म नगद र प्रमाणपत्र प्राप्त गरेको कार्यालयका खाद्य निरीक्षक एकराज बुढाथोकीले जानकारी दिए । उनीहरुलाई प्रजिअ केसीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । खाद्य निरीक्षक बुढाथोकीका अनुसार, आज मंगलवार सरकारसफाइ कार्यक्रम राखिएको छ ।