समाचारदाता
दैनिक नेपालगन्ज
‘…पन्ध्र दिनभन्दा बढी सास फेर्न नसकी मर्ने नालीलाई अलिकति घुमाएको भए सायद धम्बोझीलाई प्राण दिने सिमल जोगिन्थ्यो’, स्थानीयबासी समेत रहेका साहित्यकार भोजराज शर्माले शनिबार सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै लेखे ।
‘सकिएन बचाउन धम्बोझीको इतिहास’, दशकौं पुरानो उक्त सीमलको रुख काटिंदै गरेको तस्वीर पोष्ट गरेपछि वरिष्ठ पत्रकार शिव गाउँलेले नेपालगन्जका पत्रकारहरुको ध्यानाकर्षण गराए । युवा स्रष्टा शर्माले बाल्यकाल बिताएको छहारी गुमेकोमा पीडा प्रष्ट थियो । उनी भन्छन्, ‘धम्बोझीलाई प्राण दिने सीमल काटेर बनाएको यो नालीले कति सास फेर्दो रहेछ ।’
नेपालगन्जमा यतिबेला सडक बिस्तारको क्रम तिव्र छ । यसबीच कयौं घर, पर्खाल यहाँसम्मकी विद्युतका पोल समेत जोगाउन नाला घुमाइएका दृश्य प्रशस्त देख्न सकिन्छ । तर, नेपालगन्ज–१ को त्यो इतिहास त्यो रुख जोगाउन दुई फुट पनि नाला घुमाउनु पर्दैनथ्यो । कयौंले उक्त रुख काट्ने कुरालाई लिएर सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।
‘धेरै पटक त्यो नकाट्ने भनेरै जोगाइएको हो’, स्थानीयबासी समेत रहेकी नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर भन्छिन्, ‘धेरै कारणले रुख काट्नु पर्ने परिस्थिति सिर्जना भएको हो ।’ उपप्रमुख थापाका अनुसार, नजिकका घरहरुको सुरक्षा जोखिमलाई लिएर पनि रुख काट्नु पर्ने परिस्थिति सिर्जना भएको हो । ‘बरु नेपालगन्जको हरियाली कसरी बढाउने भन्ने तिर हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ’, उ प्रमुख थापाले भनिन्, ‘नगरबासी सबैको साथ भए हामी त्यसतर्फ लाग्नु पर्छ ।’