लापरवाही गर्ने ठेकेदारका पछाडी प्रहरी, अधिकांश ठेकेदार सम्पर्कविहीन, खोरमा ल्याउने तयारी
समाचारदाता
दैनिक नेपालगन्ज
यसअघि आफुखुसी कानूनको दुरुपयोग गर्दै निर्माण क्षेत्रमा लाभ लिन पल्केका निर्माण ब्यवसायीलाई प्रहरी परिचालन गरेर कारवाही थलिएपछि अधिकांश निर्माण कम्पनीका ठेकेदार लुकेर बसेका छन् । गृहमन्त्री रामबहादुर थापाले सडक, पुल लगायत विकास निर्माणको काम ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको तेस्रो बाँके प्रशासनमा छलफल र वास्तविकता बुझ्न बोलाइएका ठेकेदार सम्पर्कविहीन छन् ।
दुई वटा निर्माण कम्पनीका ठेकेदार मात्रै उपस्थित भएर आफु माथि भएको समस्या र समयमा काम हुन नसकेको बारे गुनासो पोखेका छन् । शुक्रवार दुईवटा कम्पनीका ठेकेदारले प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई भेटेर सरकारी कार्यालयको लापरवाहीका कारण समयमा काम सम्पन्न हुन नसकेको बताएका छन् । गृह मन्त्रालयले सरोकावाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन बुधबार निर्देशन दिएपछि देशैभरिका निर्माण ब्यवसायी सन्त्रासमा छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सम्पर्कमा आउन नचाहेका ठेकेदार र निर्माण कम्पनीको विवरणबारे प्रहरीलाई जानकारी दिएर फन्दामा ल्याउने निर्देशन दिइसकेको छ । सबैको फोनमा सम्पर्क गरी वास्तविकता बारे जानकारी दिन सूचना गरिएपनि आउन लापरवाही गर्नेका पछि प्रहरी छाडिएको हो । गृहमन्त्री थापाले यसअघि गृह मन्त्रालयले गरेको निर्णय कार्यान्वयनमा ढिलाई भएके बताउँदै निर्माण ब्यवसायीको विषयलाई गम्भीरताका लिन प्रहरीलाई निर्देशन दिएका थिए । गृहमन्त्री थापाले प्रहरीलाई निर्देशन दिँदै निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारको नाम ठेगाना लगायतको विवरण तयार गरि कारवाही भए नभएको बाँके अवस्था विद्यमान रहेको सो बारे जानकारी दिन निर्देशन दिएपछि बाँकेमा प्रहरी र जिल्ला प्रशासन तातिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी शुक्रवार दुईवटा निर्माण कम्पनीका ठेकेदार संग छलफल गरि समस्याको निकास बारे जिज्ञासा राखेका छन् । ‘निर्माण कम्पनीहरुले पेश गरेको प्रमाण र आधारबाट सरकारी कार्यालयलाई पनि प्रश्न गर्नु पर्ने देखियो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै केसीले भने, ‘यद्यपि बिहिवार विवरण प्राप्त भएका ११ मध्ये २ वटा निर्माण ब्यवसायी मात्र सम्पर्कमा आएका छन् ।’ सरकारले दिएको मापदण्ड बमोजिमको अनुकूल सुविधा हँुँदा पनि काम नगरेको वा काम गर्न नै नचाहेको विषय के हुन गएको हो सो बारे विवरण तयार गरेर मन्त्रालयमा कारवाहीका लागि सिफारिस गर्ने तय भएको हो ।
नेपालगन्जको सडक निर्माण, सिक्टा सिंचाई आयोजना सहित निर्माण हुन बाँकी रहेका अन्य भौतिक पूर्वाधारमा प्रशासनले चासो बढाएको छ । नेपालगन्जको राँझा र जमुनाहा सडक खण्डमा ब्यापक अनियमितता भएको गुनासो बीच कारवाहीको प्रक्रिया आरम्भ हुँदा पनि पप्पु लुम्बिनी जेभीका प्रमुख हरि नारायण प्रसाद रौनियार र बाँके राप्तीपािर विद्युतीकरणको ठेक्का लिएका ठेकेदार राजेन्द्र मिश्र सम्पर्कविहीन छन् ।
२ वर्ष अघि नेपालगन्जमा सडक निर्माण सम्पन्न गरेको भनिएको पप्पु जेभी जरिवानाको सूचीमा परेपनि प्रभावकारी कारवाही हुन सकेन । राप्तीपारि विद्युतीकरणको जिम्मेवारी लिएका ठेकेदार राजेन्द्र मिश्र २०६६ सालदेखि पटकपटक ठेक्का थप्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सबै कार्यालयबाट ठेक्कामा ढिलाई भएको बारे विवरण माग गरेपनि शुक्रवार र बिहिवार गरि दुई दिन भित्र १२ वटा कार्यालयबाट सूचना प्राप्त भएको छ । बिहिवार ९ वटा र शुक्रवार ३ वटा गरि जम्मा १२ वटा निर्माण ब्यवसायीले लापरवाही गरेको विवरण प्रशासनको हात लागेको हो ।
प्रशासनमा गगन रोकाय, सुरुचि जागृति अछाम, नहरही थपलिया एमएएसजेभी नौवस्ता, सपना जेभी काठमाण्डौ, प्रेम निर्माण सेवा, भरत शाह निर्माण कम्पनी प्रालि अछाम, भरत शाह भैरव जेभी नेपालगन्ज, टेक बहादुर खड्का, अम्मर खड्का जेभी चिसापानी, पप्पु लुम्बिनी जेभी, र राप्तीपारि विद्युतीकरणका ठेकेदार राजेन्द्र मिश्रलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको बुझिएको छ ।
दुई व्यवसायी पक्राउ
तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै बिहिबार दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतारा छन् । शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो ।
अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताए ।