फन्दामा अपहरणकारी [लेनदेन विवादमा अपहरण प्रकरण]

समाचारदाता
दैनिक नेपालगन्ज

बाँके नरैनापुर गाउँपालिका वडा नं. ५ बस्ने केशव गोडियालाई अपहरण गरि भारतीय क्षेत्रमा लगी फिरौतीसम्मको मोलतोल भएको प्रकरण प्रहरीले मंगलवार एकजना अभियुक्तलाई फन्दामा लिएको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नं.४ घोडदौरिया स्थित छापा मारेर अभियुक्त आरिफ खाँलाई पक्राउ गरेको हो ।

 
गोडियालाई नेपालगन्जबाट अपहरण गर्न भारतीय अभियुक्तहरुको साथमा भारतबाट उनीहरुकै साथमा गाडीमा आएको भन्ने प्रमाण हात लागेपछि प्रहरीलाई आरिफलाई फन्दामा लिएको हो । अनुसन्धानका क्रममा भारतीय अभियुक्तहरुले प्रयोग गरेको गाडी र सो गाडीमा भएका ब्यक्तिहरु बारे बुझ्ने क्रममा आरिफ समेत योजनाकारकै रुपमा रहेको पाइयो बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘अपहरण तथा शरीरबन्धक मुद्दामा आरिफमाथि अनुसन्धान अघि बढाइएको छ ।’

 
बाँके नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया स्थित नयाँ बस्तीमा बस्ने केशव गोडिया खाडी मुलुक रोजगारीका लागि जान भारतीय नागरिक भारत श्रावस्ती घोडदौरिया बस्ने सलीम भन्ने नानु गुज्जरलाई ९० हजार रुपैयाँ बुझाएका थिए । उनले बेलैमा विदेश नपठाएको आरोपमा गोडियाले गुज्जरको मोटरसाइकल नियन्त्रणमा लिएका थिए ।
एकसाता अघि मोटरसाइकल नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै केशव आइतबार दिउँसोबाट अचानक सम्पर्क विहिन भएपछि उनको खोजीमा प्रहरी सक्रिय भएको थियो । ‘आरिफलाई घरबाट नै नियन्त्रणमा लिइएको हो’, इप्रका भगवानपुरका प्रहरी नायब निरीक्षक तथा निमित्त इन्चार्ज परसुराम चौधरीले बताए ।

 
चौधरी नेतृत्वको टोलीले गोडियालाई भारतीय क्षेत्रमा अपहरणमा रहेकै अवस्थामा मुक्त गराउन सफल भएको थियो । घटनामा संलग्न अभियुक्तहरु तत्काल फरार भएपनि एकदिन पछि अर्थात मंगलवार नै घटनामा योजनाकार मानिएका आरिफलाई पक्राउ गरिएको हो ।

 
घटनामा संलग्न नेपाली र भारतीय अन्य अभियुक्त बारे अनुसन्धान चलिरहेको बताउँदै इन्चार्ज चौधरीले भारतीय क्षेत्रमा पनि खोजतालशको काम अघि बढेको हो । गोडियालाई २४ घण्टा पछि प्रहरीले अपहरण मुक्त गराएको हो ।
भारतीय अभियुक्तहरु नेपालगन्ज आएका बेला आरिफ र उनका ४ जना सहकर्मीले अपहरणमा भूमिका खेलेको प्रहरी अनुमान छ । ‘अभियुक्त घरमा लुकीछिपी बसेको सूचनाको आधारमा कारवाही गर्दा अपहरणकारी हात लागेको हो’, चौधरीले भने, ‘अन्य अभियुक्तहरुको खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया