नेपालगन्ज साइक्लिलिङ्ग क्लब अध्यक्षमा पुनः आले
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज साइक्लिङ्ग क्लबले हरेक बर्ष ‘टुर दि ठाकुरद्वारा’ आयोजना गर्ने निर्णय गरेको छ । क्लबको शनिबार आयोजित प्रथम साधारणसभाले प्रत्येक बर्ष माघ १ गते टुर आयोजना गर्ने निर्णय गरेको सचिव गगन थापाले जानकारी दिएका छन् ।
साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । क्लबले अध्यक्षमा केशर आले मगरलाई पुनः सर्वसम्मत नेतृत्व चयन गरेको हो । नव गठित क्लबको उपाध्यक्षमा लवराज श्रेष्ठ, सचिवमा गगन थापा, सहसचिवमा झविलाल शर्मा र कोषाध्यक्षमा खिमा थापा निर्वाचित भएका छन् । ११ सदस्यीय कार्यसमितिको सदस्यमा सतिश निरौला, एम बागवान, टिएस ठकुरी, चन्द्रबहादुर आले, दिनेश सिग्देल र राम बहादुर बस्नेत निर्वाचित भए ।
डुडुवा गाउँपालिकामा आयोजित साधारणसभा अपाङ्ग साइकल यात्री (एउटा खुट्टा मात्र भएका) याम बहादुर रसाइलीको विशेष उपस्तिथिमा भएको थियो । कार्यक्रममा बोल्दै रसाइलीले रारा भ्रमण बर्ष उद्घाटनका क्रममा मुगुमा प्रधानमन्त्रीले एक अपाङ्ग बालकको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम मिलाइएको भएपनि अपांग मैत्री विद्यालय नहुँदा सम्भव हुन नसकेको उल्लेख गरे । उनले सोही कारण आफु सरोकारवालालाई झक्झक्याउन कैलालीदेखि राराको यात्रामा निस्किएको जानकारी दिए ।
साधारणसभामा क्लबको तर्फबाट सदस्य मार्फत संकलन गरिएको रु ९ हजार १ सय ५५ रारा यात्रका लागि क्लबका अध्यक्ष केशर आलेले रसाइलीलाई हस्तान्तरण गरेका थिए ।