न्याय क्षेत्र समन्वय समितिमा गौतम

समाचारदाता
दैनिक नेपालगन्ज

 
उच्च अदालत न्याय क्षेत्र समन्वय समितिकोे सदस्यमा अधिकारकर्मी वसन्त गौतमलाई तोकिएको छ । उच्च अदालत नियमावली २०७३ को नियम १६६(१) बमोजिम गठित उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्यमा अधिवक्ता गौतमलाई तोकिएको हो ।

 
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासको मिति २०७५ बैशाख ३१ गतेको निर्णय अनुसार, गौतमलाई सदस्य तोकिएको अदालतका निमित्त रजिष्ट्रार भुवन गिरिले जानकारी दिए । मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीश अध्यक्ष रहने उच्च अदालत न्याय क्षेत्र समन्वय समितिमा क्षेत्रीय प्रशासक वा क्षेत्रीय प्रशासक नरहेको ठाउँमा प्रखुख जिल्ला अधिकारी, क्षेत्रीय प्रहरी कार्यालय प्रमुख वा प्रहरी कार्यालयको माथिल्लो निकायको प्रमुख, सम्बन्धित सरकारी वकिल, सम्बन्धित बारको अध्यक्ष र मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीशले तोकेको नागरिक समाजको सदस्य सदस्यको रुपमा रहने कानूनी प्रावधान रहेको छ ।

 

 
सोहि प्रावधान अनुसार, कानून, न्याय र मानव अधिकारको क्षेत्रमा बिगत लामो समय देखि कार्यरत अधिकारकर्मी गौतमलाई उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्यमा तोकिएको रजिष्ट्रार गिरिले बताए । सदस्यको पदावधि दुई बर्षको हुनेछ । सदस्यमा तोकिएको बारे प्रतिक्रिया दिदै गौतमले आफ्नो कामको मुल्याङ्कन गर्दै सदस्य तोकिएकोमा वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेल प्रति आभार व्यक्त गरेका छन् । उनले इमान्दारिपूर्वक पदीय जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

 
अदालत, मातहत अदालत, न्यायिक निकायहरुको काम कारवाही, सुब्यवस्थित तरिकाले संचालन गराउन, जिल्ला न्याय क्षेत्र समन्वय समितिका काम कारवाही, न्यायपालिकाको रणनीतिक योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र अदालतको सुरक्षा ब्यवस्थालाई समेत समन्वय गर्नको लागि उच्च अदालत नियमावली २०७३ को नियम १६६ बमोजिम उच्च अदालत न्याय क्षेत्र समन्वय समिति रहने कानूनी ब्यवस्था रहेको छ ।
उच्च अदालत न्याय क्षेत्र समन्वय समितिले आफ्नो काम कारवाहीको त्रैमासिक प्रतिवेदन केन्द्रिय न्याय क्षेत्र समन्वय समिति समक्ष पेश गर्ने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया