जीवन शर्मा
धेरैलाई मनमा खेल्ने र जिज्ञासा राख्ने विषय भनेको उच्च रक्तचाप (ब्लड प्रेसर) के हो ? र कसरी देखिन्छ । वास्तवमा मानिसको शरीरमा रहेको मुटुले रगत पम्प गरेर शरीर भरी पठाउने बेला र शरीरका विभिन्न भागबाट रगत मुटुमा फर्कने बेला रक्तनलीमा पर्ने रगतको चापलाई ब्लड प्रेसर भनिन्छ । यो चाप विभिन्न करणले बढी, घटी हुनसक्दछ । जसमा धेरै विषयहरु पर्दछन् ।
१) वंशानुगत २) उमेर ३) खानपिन ४) उचाई अनुसार शरीरको तौल ५) काम ६) जीवनशैली ७) कुनै अन्य रोग ८) गर्भवति जस्ता कारणहरु पर्दछन् । यी कारणलाई एउटै अर्थमा लेख्नु पर्दा यदि हाम्रो पुर्खामा ब्लड प्रेसर छ भने हामीलाई हुनसक्छ । त्यस्तै ब्लड प्रेसर खासगरी ४० बर्ष नाघेकालाई हुने गर्दछ । हाल त्यो भन्दा अगाडि पनि देखिएको पाइन्छ । त्यस्तै हाम्रो खानपिन धेरै चिल्लो, नुन बढी भएको, मसलायुक्त हुनाले यसले ब्लड प्रेसरमा फरक पार्दछ ।
त्यस्तै हाम्रो उचाई अनुसार तौल बढी भएर पनि प्रेसर बढ्न सक्छ । त्यस्तै हाम्रो दैनिकी कामकाज धेरै मानसिक तनाव युक्त छ, शारीरिक परिश्रम गर्दैनौं भने ब्लड प्रेसर बढ्न सक्दछ । त्यस्तै, जीवनशैली धेरै धुम्रपान, मद्यपान गर्ने, ज्यादा विलाशी जिन्दगी जिउने, खानपिनमा बाहिरी बजारको खानामा जोड गर्ने, जंक फुड, मैदायुक्त खाना खाने, हरियो तरकारी, सलाद नखाने, खेलकुद, कसरत, योगा नगर्ने भएमा हाम्रो ब्लड प्रेसर बढ्न सक्दछ ।
त्यस्तै मानिसको शरीरमा विभिन्न अन्यरोगहरु छ भने प्रेसर बढ्न सक्दछ । जसमा मधुमेर (सुगर), थाइराइड, मृर्गौला रोग, दम, रगतमा चिल्लो मात्रा बढ्नु जस्ता रोगले पनि प्रेसर बढ्ने गर्दछ । त्यस्तै २० जना मध्ये १ जना गर्भवति महिलालाई पनि ब्लड प्रेसर बढ्न सक्दछ । यसरी यी बढ्ने कारणहरुको बारेमा हामी सुरुमा नै सजग र सर्तक भइयो भने हामीलाई भविष्यमा ब्लड प्रेसर समस्याले विकराल रुप लिन सक्दैन । साथै यी माथिका कारण मध्ये सबैभन्दा जीवनशैली परिवर्तन नै महत्वपूर्ण नियन्त्रणको उपाय हुन सक्दछ ।
ब्लड प्रेसर भएको थाहा पाउनका लागि पहिलो स्थास्थ्यकर्मी वा चिकित्सक कहाँ गएर प्रेसर चेक गराउने र माथि १२० तथा तलको ८० भन्दा बढी भएमा हामीले आवश्यक सल्लाह सुझाव लिई अघि बढ्नु उपयुक्त हुन्छ । त्यसैले ब्लड प्रेसर बढी छ भन्दा भन्दै हामीले त्यसलाई लापरवाही गर्दा जोखिमता बढ्न सक्दछ ।
ब्लड प्रेसर बढ्दा टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाक लाग्ने, रिसाउने, मुख रातो हुने, निद्रा नपर्ने, कसैकसैमा धड्कन बढ्ने, पसिना आउने हुनसक्दछ । यस्ता समस्या देखिएमा छिटो चेक जाँच गराउनु पर्दछ । जसमा ब्लड प्रेसर देखिएमा आवश्यक सल्लाह सुझाव तथा औषधी लिन आवश्यक भए लिनुपर्दछ ।
यसमा विभिन्न भ्रम पाल्ने र यो घरकाले यसो भने उसले उसो भन्यो भनेर अरुको पछाडि लाग्नु हुँदैन । हामीमाझ केही भ्रमहरु पनि देखिन्छन् जस्तै, प्रेसर बढेपनि समस्या छैन किन खाने औषधी, औषधी खाएपछि सधै खानुपर्छ, यसले भविष्यमा मृर्गौला फेल गर्छ, नुन, चिल्लो, रक्सी छोड्यो भने ठिक भैहाल्छ भन्ने । २÷४ दिन करेलाको तरकारी र जुश खान्छु यो ठिक भैहाल्छ जस्ता भ्रम पालेर बस्दा ब्लड प्रेसरको कारणले विभिन्न जटिलता ल्याउन सक्दछ । जसमा हर्टअट्याक, ब्रेन हेमरेज, प्यारालाइसिस, मृर्गौला फेल, मुटुको गति घट्ने, बढ्ने जस्ता समस्या आउन सक्दछ । त्यसैले हामीले आवश्यक स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह गरी अघि बढ्दा माथि उल्लेखित जटिलताबाट बच्न सक्दछौं ।
ब्लड प्रेसर नबढोस् र बढेको भएपनि कम होस् भन्ने हो भने हामीले आफ्नो दैनिकीलाई केही हेरफेर गर्नै पर्दछ । जसमा
१) हरियो तरकारी, सलाद, फलफुल बढाउने
२) आवश्यक कसरत, योगा अनिवार्य गर्ने
३) आवश्यक तौल बढ्न नदिने
४) तनावयुक्त काम नगर्ने
५) धुम्रपान÷मद्यपान नगर्ने
६) पानी प्रशस्त पिउने
७) आवश्यक शारीरिक तथा मानसिक आराम गर्ने
८) नुन बढी भएका र चिल्ला खाना कम प्रयोग गर्ने
९) समय समयमा ब्लड प्रेसर चेक गराउने
१०) बर्षमा २ पटक सुगर, क्लोस्ट्रोल, मृर्गौला जाँच, इसिजी लगायतका जाँच गर्ने र सही भएको नभएको एकिन गर्ने ।
११) यति विधि अपनाउने हो भने हामी ब्लड प्रेसरबाट सजिलै बच्न सक्दछौं र स्वस्थ्य जीवन यापन गर्न सक्दछौं ।