समाचारदाता
दैनिक नेपालगन्ज
यातायात सेवामा सिण्डिकेट विरुद्ध आक्रामक नीति अख्तियार गरेको सरकारले उनीहरुबाटै सिण्डिकेट खारेजीको कागज गराउने नीति अख्तियार गरेको छ । सम्बद्ध स्रोतका अनुसार, पक्राउ परेका सबै व्यवसायी नेताहरुलाई सिण्डिकेट खारेजी विरुद्ध कागज गराउने अन्यथा कानुनी व्यवस्था अनुसार अधिकतम सजाय गराउने नीति सरकारले लिने भएको छ ।
‘आन्दोलनबारेमा नीति बनाउन गरिएको छलफल कार्यक्रममै हस्तक्षेप गरेर केन्द्रीय नेतृत्वलाई नै पक्राउ गरिएको छ’, एक उच्च अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘सिण्डिकेट विरुद्ध सरकार निष्कर्षमा पुग्न अब केही दिन बाँकी छ ।’ शनिबार पनि प्रहरीले धडपकड जारी राखेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ गरिएको छ ।
सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का लगायत छन् । महासचिव सरोज सिटौलालाई प्रहरीले एउटा पत्रकार सम्मेलनमा सहभागी हुन जाँदै गर्दा शुक्रबार नै पक्राउ गरिसकेको थियो ।
झण्डै एक सय जना यातायात व्यवसायीहरु शुक्रबार पक्राउ परेका थिए । उनीहरु मध्ये सिण्डिकेट विरुद्ध लाग्न सहमति जनाउने कतिपयलाई लिखत गराएर छाडिएको पनि सम्बद्ध स्रोतले जनाएको छ ।
यसैबीच, बाँकेमा शुक्रबार पक्राउ गरिएका भेरी अञ्चल यातायात व्यवसायी संघका कार्यवाहक अध्यक्ष शोभाखर पौडेल लगायतका सात जनालाई प्रहरीले लिखत गराएर छाडेको छ ।
शुक्रबार पक्राउ गरिएका भेरी यातायात व्यवसायी संघका कार्यवाहक अध्यक्ष शोभाखर पौडेल, सनराइज यातायात व्यवसायी संघका उपाध्यक्ष प्रविण बिसी, महासचिव रमेश शाह, कर्मचारी नवराज शर्मा, होमबहादुर खड्का, भेरी सार्वजनिक यातायात व्यवसायी संघका सचिव रमेशबहादुर खत्री, दीपक बस्नेतलगायतलाई शनिबार लिखत गराएर छाडिएको हो ।
‘सिण्डिकेटलाई निरन्तरता नदिने शर्तमा छाडिएको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले दैनिक नेपालगन्जसँग भने । अबेर राती प्रहरी हिरासतबाट मुक्त भएका भेरी अञ्चल यातायात व्यवसायी संघका कार्यवाहक अध्यक्ष पौडेलले सामान्य कागज गरेर आफुहरुलाई छाडिएको जानकारी दिए ।
शनिबारदेखि सार्वजनिक यातायातका साधन पनि सुचारु भएका छन् ।