नेपालगन्ज/समाचारदाता
दैनिक नेपालगन्ज
जिल्ला प्रहरी कार्यालय बाँके र संघीय ईकाइ प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको सादा पोसाकको प्रहरीले सोमवार बरामद गरेको भन्सार छलीको सामाग्री सहितको गाडी र चालकलाई जरिवाना नगरेरै छाडेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र संघीय ईकाइ प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले संयुक्त कारवाही गरी नेपालगन्ज भन्सार नाकाबाट चोरी पैठारी गरिरहेको बा.१८ च.२९६७ नं.को गाडीलाई ७६ हजार बराबरको मोटर पार्ट्स सहित नियन्त्रणमा लिएको थियो ।
बरामद भएको गाडी र पक्राउ परेका चालक श्याम बस्नेतलाई प्रहरीले भन्सार कार्यालयमा नपुर्याएर विचमै छाडेपछि प्रहरी मिलोमतो बारे तथ्यहरु बाहिर आएको हो । ‘सोमवार नेपालगन्ज भन्सार कार्यालयमा मोटर पार्टस् मात्रै पुर्याइयो’, प्रहरी निकट श्रोतले भन्यो, ‘पार्टस् पनि थोरै मात्र भन्सार पठाइएको छ ।’ सोमवार बरामद भएको गाडी र सामाग्री बारे उत्साहित भएर मीडियालाई सूचना दिएको प्रहरीले गाडी र तस्कर किन छुटेको भन्ने सन्दर्भमा प्रतिक्रिया दिन पन्छियो । ‘गाडी बरामद भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारीमा दिइएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्र्दै संघीय इकाइ प्रहरी नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक मोहम्मद इस्राईल अन्सारीले भने, ‘बरामद भए लगत्तै कारवाही र अनुसन्धानको जिम्मेवारी जिल्ला प्रहरीलाई दिइएको थियो ।’
गाडी, सामाग्री र चालक सबै कुरो संघीय प्रहरीकै जिम्मामा थियो, जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख डीएसपी राजेन्द्र अर्यालले भने, ‘संयुक्त टोलीले पक्राउ गरेको हुँदा संघीय प्रहरीले आफ्नो जिम्मेवारीमा कारवाहीका लागि लगेको थियो ।’
श्रोतका अनुसार, गाडी जिल्ला प्रहरीकै नियन्त्रणमा लगिएको थियो । पक्राउ गर्ने टोलीमा सहभागी एक प्रहरी अधिकृतले भने, जिल्ला प्रहरीकै जिम्मेवारीमा गाडी दिएपछि दुबै टोली फरक मिसनमा लागेको थियो । तर, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले गाडी संघीय प्रहरीको जिम्मामा रहेको बताए । ‘हाम्रो यहाँ त आउँदै आएन’, दैनिक नेपालगन्ज संग उनले भने, ‘कारवाहीको जिम्मेवारी संघीय प्रहरीको थियो ।’
गाडी र तस्कर जिल्ला प्रहरीकै जिम्मेवारीमा रहेको बारे श्रोतले ठोस जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख डीएसपी राजेन्द्र अर्याल संग पटक पटक फोन सम्पर्क गर्दा पनि प्रयास सफल हुन सकेन । घटना बारे चासो बढेपछि मुद्दा इन्चार्ज विष्टले समेत उठाउन छाडे । भन्सार ऐन अनुसार, सामाग्री बोकेको गाडी र गाडीको चालक समेतलाई कारवाही गर्नका लागि जुन अवस्थामा पक्राउ वा बरामद भएको सोही अवस्थामा भन्सार कार्यालयमा लैजानु पर्छ ।
तर, प्रहरीले आपसी मिलोमतोमा मोटर पार्ट तस्कर श्याम बस्नेत र पार्टस् बोकेको गाडीलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै छाडेपछि तस्करीमा प्रहरी मिलोमतो रहेको आरोप अघि सरेको हो ।











