नेपालगन्ज, पुस २१
बाकेको राप्तीसोनारी गाउपालिका वडा नम्वर ३ बैजापुरमा रहेको प्रशिद्ध धार्मिक स्थल भुवरभवानी मन्दिरको लागी आवश्यक भौतिक पुर्वाधार निर्माण सम्पन्न गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट मन्दिरको भक्तजन विश्राम गृह तथा खानेपानी योजना निर्माण सम्पन्न गरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष तुलसीराम थारुका अनुसार भक्तजनको विश्राम गृह निर्माणका लागी कुल ५ लाख ३४ हजार रुपैयाँ स्टिमेट गरिएकोमा गाउँपालिका कार्यालयले ५ लाख रुपैयाँ विनियोजन गरेकोमा स्थानीय बासिन्दाले ३४ हजार रुपैयाँ बराबरको श्रमदान गरेका हुन् । उक्त विश्राम गृहमा करिव डेढ सय जना अट्न सक्ने अनुमान गरिएको छ ।
यस्तै मन्दिर दर्शन गर्न आउने दर्शनार्थीका लागी खानेपानीको योजना स्वरुप कुल ३ लाख २५ हजार रुपैयाँको स्टिीमेट गरिएकोमा गाउँपालिकाबाट ३ लाख र स्थानीय बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिबाट २५ हजार रुपैयाँ विनियोजन भएको थियो । डाडाँमा रहेको मन्दिर सम्म खानेपानी पु¥याउन साढे ४ सय मिटर पाईपबाट ‘लिफ्ट’ गरेर २ हजार लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गर्ने गरिएको छ । सोही ट्यांकीबाट मन्दिर परिसरमा टुटी सहितका दुई वटा धारा जडान गरिएको छ ।
‘जेनेरेटर चलाएर बिजुली उत्पादन गर्ने र त्यही बिजुलीबाट जमिनमुनिको पानी मोटरले तानेर ट्यांकी सम्म पु¥याउने गरिन्छ,’ स्थानीय समाजसेवी समेत रहेका उपभोक्ता समिति अध्यक्ष तुलसीरामले भन्नुभयो । मन्दिर परिसरमा विश्राम गृह तथा खानेपानी सुविधा पुगेपछि भक्तजनलाई ठुलो राहत मिलेको उहाँले बताउनुभयो । यसअघि मन्दिर छेउमै रहेको करिव ७५ फिट गहिरो कुँवाबाट पानी तानेर उपयोग गर्न कठिन हुदै आएको थियो ।
भक्तजन विश्राम गृह र खानेपानी योजनाको गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरिसक्नु भएको छ । गाउँपालिका अध्यक्ष थारुले मन्दिरको विकासका लागी पहिलेदेखी आफुले पहल गर्दै आएको जानकारी दिदै गाउँपालिकामा निर्वाचित भएर आईसकेपछि पनि आफुले प्राथमिकता दिएको बताउनुभयो ।
‘मन्दिरमा जाने भक्तजन बस्ने समस्या थियो, खानेपानीको लागी कुवाको भर पर्नुपर्ने अवस्था देखिएको हुँदा हामीले बजेट हालेका हौं,’ उहाँले भन्नुभयो । मन्दिरका लागी आगामी दिनमा पनि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने अध्यक्ष थारुले बताउनु भएको छ । बजेट नपाउँदा विगतमा मन्दिरको भौतिक पुर्वाधार बनाउन कठिनाई रहेको उहाँले स्मरण गर्नुभयो ।