नेपालगञ्ज पुष २१ गते– नेपालगञ्ज उपमहानगरपालिकाले सडकको धुलो पनि सफाई गर्दैछ । धुलो उडेर हैरानी भएपछि मुख्य सडकहरुमा सरसफाईकर्मी नै परिचालित गरि धुलो उठाइदैछ । साप्ताहिक सरसफाई हुँदै आएको नेपालगञ्जका सडक किनारमा जम्मा भएको धुलो उठाइन लागिएको हो ।
धुलोका कारण सडक फोहर हुनुका साथै मानव स्वाथ्यलाई समेत असर पु¥याउँदै आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २ ले आफनो क्षेत्रका सम्पूर्ण सडकमा धुलो उठाईन शुरु गरिसकिएकोमा अब उपमहानगरपालिकाको कार्यालयले पनि सुर्खेत रोड लगायतका सडकको धुलो उठाउन लागेको हो । दुई दिनभित्रै सुर्खेत रोड लगायतका सडकहरुमा धुलो उठाइने तयारी गरिएको बातावरण तथा सरसफाई इन्जिीनियर प्रकाश डीसीले जानकारी दिनु भयो । वडा न २ ले केस नामक नीजी सस्थासँगको सहकार्यमा ४ दिनसम्म सडकको धुलो उठायो । विपी चौक, धम्वोझी, घरबारी टोल, न्यूरोड, सेतु विक चौक हुँदै बसपार्क रोड, कारकाँदो चौक सम्मको सडकको धुलो उठाउने कार्य गरिएको केसका अध्यक्ष बालिकादेवी रावतले जानकारी दिनु भयो ।
अध्यक्ष रावतका अनुसार ५ जना मजदुर सडकमा धुलो बढार्ने, ५ जना एउटा ट्रयाक्टरमा धुलो उठाउने गरि खटाइएको थियो । वडा न २ सहितका केही वडामा केसले फोहर संकलन गर्दै आएको थियो । सडक सफा गरिएपछि जाथाभावी फोहर फाल्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने गरि सरसफाई अभियान शुरु गरिएको वडा अध्यक्ष सुनिल सिंह हमालले जानकारी दिनु भयो । वृहत योजनासहितको सरसफाई शुरु गरिने तयारी गरिएको पनि हमालले जनाउनु भयो ।