फ्रान्स : ‘सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून’

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले उनको सरकारले चुनावी अभियानका क्रममा आउन सक्ने गलत समाचार रोक्न कानून ल्याउने बताएका छन्।

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले प्रायोजित रूपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरूको रक्षा गर्न त्यस्तो कदम अनिवार्य रहेको बताए।

नयाँ कानूनले न्यायाधीशहरूलाई झुट्टा समाचार दिने वेबसाइटहरू बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजन सेवाहरूले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने उनले जानकारी दिए।

माक्रोंले अघिल्लो वर्षको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरूले आफ्नाबारे गलत विवरणहरू फैलाएको आरोप पनि उनले लगाएका छन्।

एलिजे दरबारमा नयाँ वर्षको अवसरमा सञ्चारकर्मीहरूका लागि आयोजित भोजमा राष्ट्रपति माक्रोंले यस्तो घोषणा गरेका हुन्।

 

विगतमा माक्रोंले युरोप र अमेरिकामा जनमतलाई आफ्नो स्वार्थ अनुरूप हेरफेर गराउन मस्कोले प्रयास गरिरहेकोबारे सार्वजनिक रुपमा नै टिप्पणी गरेका थिए।

प्रस्तावित कानूनअनुसार चुनावको समयमा फेसबुक जस्ता सामाजिक सञ्जालले समाचार जस्ता देखिने सामाग्रीको स्रोतको परिचय खुलाउन कडा नियमहरूको सामना गर्नुपर्ने उनले बताए।

त्यसबाहेक समाचार सामाग्री प्रायोजन गर्न कतिसम्म खर्च गर्न सकिन्छ भन्नेबारे सीमा तोकिने उनको भनाइ छ।

 

Source : BBC Nepali sewa

प्रतिक्रिया

प्रतिक्रिया