बाँके प्रहरीले निर्वाचनलाई लक्षित गरी चुस्त सुरक्षा ब्यवस्था भएको दावी गरिरहेका बेला पछिल्लो २५ दिन भित्र नेपालगन्जमा चोरीका तीन वटा ठूला घटनाहरु भएका छन् । नेपालगन्जका मोबाइल पसल, ब्यवसायिक प्रतिष्ठानलाई निशाना बनाइएको र चोरीबाट भएको क्षतिको पूर्ण विवरण अझै खुल्न बाँकी रहेको प्रहरी भनाई छ । निर्वाचन सुरक्षामा चासो दिइरहेको प्रहरीले नेपालगन्ज क्षेत्रमा चोरी बढेको बताएको छ ।
‘अहिले सबै ध्यान निर्वाचन तिर गएपछि चोरी गर्ने गिरोह सक्रिय भएको हो‘, दैनिक नेपालगन्ज संग वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले भने, ‘चोरहरु अझै फन्दामा परेका छैनन् ।’ हालै मात्र राही ट्रेडर्सबाट लाखौंको चोरी भएको विषयमा अझै प्रहरीको हात खाली नै छ । एलसीडी मोबाइल सहित १५ लाखको सामाग्री, २ लाख नगद र चेक समेत चोरी भएको स्वर्गद्वारी ट्रेडर्सका संचालक आकाश राज भण्डारीले बताए ।
‘हामीले प्रहरीमा उजुरी गरेका छौं’, भण्डारीले भने, ‘प्रहरीले खोज्ने प्रयास गरिरहेको जानकारी दिएको छ ।’ नेपालगन्जमा चोरी गरेको गिरोह दिल्ली तिर गएको प्रहरीले जनाएको छ । ‘४।५ जना युवाहरुको समूह रहेको जानकारी आएको हो’, प्रहरी निरीक्षक गौतमले भने, ‘उनीहरुले चोरी गरेको रकम खर्च नहुँदा सम्म दिल्ली तिरै बस्ने गरेको श्रोतको दावी छ ।’ त्यसै गरि कान्तिपुर इलेक्ट्रोनिक्समा समेत चोरी भएको छ । नेपालगन्ज ४ बस्ने मोहम्मद रईस हलवाईको घरबाट कार्तिक २९ गते ७ लाख रुपैयाको गहना चोरी भयो । घटनामा अनुसन्धान अझै भइरहेको छ । प्रहरीको हातमा गहना र चोर दुवै लागेन ।
हलवाईले वडा प्रहरी र जिल्ला प्रहरी दुबै स्थानमा चोरी बारे उजुरी गरेका छन् । दिन वित्दैछन् । प्रहरी अनुसन्धान जारी छ । ‘घटनामा संलग्न मानिएको ब्यक्तिहरुको बारे अनुमान भएपनि प्रमाण नहुँदा पक्राउ गर्न गार्हो छ’, वडा इन्चार्ज गौतमले भने, ‘केहि चोरहरु भारतमा पसेकोले फर्किने बेलामा प्रतिक्षाको विकल्प छैन ।’ यसैबीच, ओप्पो सर्भिस सेन्टरमा पनि चोरीको घटना भएको छ । सेन्टरबाट मोबाइलहरु चोरी भएका छन् । प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । चारै तिर निर्वाचन माहोलमा होमिएको प्रहरीले ठूला चोरीका घटना दोहोरिएपछि चासो ब्यक्त गरे ।