शान्ति निकेतनका विद्यार्थीद्वारा खाजा खर्च कटाएर मृगौलापीडितलाई सहयोग

दाङ, कार्तिक २४ । शान्ति निकेतन विद्यालय घोराही दाङले खाजा खर्च कटाएर मृगौलापीडितलाई सहयोग गरेका छन् । घोराही १५ का मृगौलापीडित अरुण खनालको उपचारका लागि शुक्रबारको खाजा खर्च कटाएर ३ हजार ५ सय ३१ रुपैया सहयोग गरेको विद्यालयका क्याप्टेन साजना थारु कुमालले जानकारी दिनुभयो ।

 

विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको सक्रियतामा रकम संकलन गरिएको भन्दै रेडक्रस सर्कलका अध्यक्ष अजित बस्नेतले मृगौलापीडित अरुण खनाललाई सहयोग गर्न पाउँदा खुसी लागको जानकारी दिनुभयो । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुको एक दिनको खाजा खर्चबाफत उक्त रकम जम्मा गरिएको रेडक्रस सर्कलका सचिव ममता बस्नेतले जानकारी दिनुभयो । यसपूर्व पनि आफूहरुले यस प्रकारका कार्यक्रम गर्दै आएको भन्दै सचिव बस्नेतले आगामी दिनमा पनि रेडक्रस सर्कलले मानवहीतका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

 

 

यसैबीच शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको छ । विद्यालयका प्रिन्सिपल खगेश्वर पोडेल र शान्ति निकेतन विदालय जुनियर रेडक्रस सर्कलका शिक्षक नायक विष्णुप्रसाद अधिकारीले संकलित ३ हजार ५ सय ३१ रुपैया मृगौलापीडित अरुण खनालको सहयोग संकलन अभियानका सदस्य विवेक रेग्मी, उत्सव खनाल र विनायक डिसीलाई हस्तान्तरण गर्नुभएको थियो । घोराही १५ का हेमलाल खनालका छोरा अरुण खनाल विगत ८ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्र काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँका दुवै मृगौलाले काम गर्न छाडेपछि परिवारले उपचारका लागि सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया