फेरि किन रोकियो नेपालगन्जको नगरपरिषद् ?

झण्डै दुई महिना खर्चिएर भाद्र २८ मा हुने भनिएको नगरपरिषद कार्तिक २२ गतेका लागि सारिएको थियो । कार्तिक ६ गते बसेको बैठकले कार्तिक २२ गते सारेको थियो ।
कार्तिक २२ मा पनि तयारी पूरा नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको परिषद अनिश्चितकालिन हिसाबले सारिएको छ । ‘के कुन मितिमा हुने भन्ने एकिन छैन’, कार्यालयका सूचना अधिकृत शरद पौडेलले भने, ‘यद्यपि तयारी पूरा हुन अझै केहि समय लाग्ने भएको मिति निश्चित नगरेर सारिएको हो ।’ यसअघि बजेट बाँडफाँडमा विवादले सरेको नगरपरिषद् सोमवार औपचारिक बैठक बसेरै सारिएको छ । आगामी कुन मितिमा गर्ने समेत निर्णय लिन नसक्ने नवनिर्वाचित पदाधिकारीले आगामी कार्यकाल कसरी तय गर्ने भन्ने विषय जटिल बन्दै गएको पाइएको हो ।

 
नगर उपप्रमुख उमा थापा मगरले वडा अध्यक्षहरुको लापरवाहीका कारण परिषद् सार्नु परेको बताइन् । ‘केहि वडामा अझै भेला नै हुन सकेको छैन’, उनले भनिन्, ‘नयाँ योजना र नीतिले गर्दा वडा अध्यक्षहरु माझ धेरै अन्योलता छ ।’
सबै विषयमा पर्याप्त जानकारी नभएका कारण वडा भेला सम्भव हुन नसकेको वडा अध्यक्षहरुको भनाई छ । ‘वडाबाट आएको योजनालाई विषयगत समितिमा छलफल पछि मात्र परिषदमा लग्न सक्ने विषयले गर्दा परिषद सरेको हो’, उपमेयर थापाले बताइन् ।

 
नगरपरिषद समयमा हुन नपाएका कारण कतिपय योजना र कार्यक्रमहरु प्रभावित भइरहेका छन् । ‘नेपालगन्ज क्षेत्रमा आवश्यकता अनुसारको विकास कार्यमा सामान्य रुपमा भएपनि प्रभाव परेको हो’, दैनिक नेपालगन्ज संग वडा नं.१ का अध्यक्ष अधिवक्ता प्रमोद रिजालले भने, ‘यो गम्भिर विषय हो ।’ केहि वडाको भेला रिपोर्ट सोमवार मात्रै उपमहानगरपालिका कार्यालयमा पुगेको छ । अझै वडा नं.४, ८, १७ को भेला बाँकी रहेकै अवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया