स्वास्थ्य अधिकार उल्लंघन घटना अध्ययनका बारेमा नेपालगन्जमा बिहीबार अभिमूखिकरण गोष्ठी आयोजना गरिएको छ ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) काठमाडौंको सहयोग र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेको आयोजनामा भएको गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत सरोज कुमार शाहले जिल्लाको स्वास्थ्य सेवाको अवस्थाको जानकारी दिंदै गर्भवती महिलाहरुले नियमित रुपमा स्वास्थ्य केन्द्र
वा अस्पतालमा स्वास्थ्य परीक्षण नगरी समयमा स्वास्थ्य संस्थामा नगएको र अन्तिम अवस्थामा पुगेमा यस चालु अवस्थामा मृत्यु हुने सुत्केरी महिलाको संख्या ६ जना पुगेको जानकारी दिए । यद्यपि गत वर्ष यसको संख्या १८ जना रहेको थियो ।
जटिल रोगको उपचारका लागि निःशुल्क स्वास्थ्य उपचार सेवाको बारेमा चर्चा गर्दै शाहले गत वर्ष मुटुको रोगको उपचारका लागि मात्र ७१ जनालाई जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत सिफारिस गरेको जानकारी दिए ।
जनचेतनाको अभावमा भएका यस्तालाई न्यूनीकरण गर्ने उद्देश्यले लागु गरिएको स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलाहरुलाई म्यान झोला वितरण गरेपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न जाने सुत्केरीको संख्या वृद्धि भइरहेको जानकारी शाहले दिए ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)का वरिष्ठ कार्यक्रम अधिकृत रितु प्रधानले मानव अधिकारको विश्वब्यापि घोषणापत्र १९४८ मा उल्लेखित नागरिक तथा राजनैतिक अधिकार अन्तराष्ट्रिय अनुवन्धन, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार, कर्तव्य र अपव्याख्या गर्न नपाईने, भियना घोषण तथा कार्ययोजना योजना लगायत नेपालको संविधान र मौलिक हक धारा तथा कार्यान्वयन र कर्तव्यका बारेमा जानकारी दिए ।
अधिकृत प्रधानले आधारभुत स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो र निःशुल्क रुपमा स्वास्थ्य सुिवधा प्रदान गर्नु राज्यको दायित्व हो तथा संवैधानिक रुपमा मौलिक हकको रुपमा स्थापित स्वास्थ्य सेवा सम्पूर्ण जनताले पाउनुपर्दछ भन्ने मान्यताका साथ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) करीब डेढ दशकदेखि काम गरिरहेको बताइन् ।
नेपालमा स्वास्थ्य अधिकार सम्बन्धि धारा ३५ मा गरिएको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्थाको बारेमा पनि प्रधानले चर्चा गरिन् ।
राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय सञ्जालको सक्रिय सदस्यका रुपमा भूमिका खेल्दै आएको रेस्फेकले देशका ५८ जिल्लामा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको गठन गरेर स्वास्थ्य अधिकार र सुर्तीजन्य वस्तु नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको प्रधानले बताए । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेका अध्यक्ष पूर्ण लाल चुकेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रदेश नं. ५ का फोकल पर्सन डि.बि. खाती लगायतले बालेको थिए । गोष्ठीको सञ्चालन स्थानीय समन्वय संस्था ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले गरेकी थिइन् ।
बर्ष पुस्तकको तयारी
स्वास्थ्य अधिकार उल्लंघनका घटनालाई एकत्रित गरी बर्ष पुस्तक प्रकाशन गरिने भएको छ ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी स्वास्थ्य अधिकार उल्लंघटनका घटनाको तथ्यांक संकलन गरी पुस्तक प्रकाशन गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा अभियानका प्रदेश नं. ५ संयोजक डि.बि. खातीले पुस्तकका लागि सञ्चारमाध्यममा प्रकाशन हुने स्वास्थ्य क्षेत्रका विषयहरु उपलब्ध गराउन अनुरोध गरेका थिए । उनले नेपालमा सर्वसाधारण नागरिकले नेपालको संविधानमा मौलिक हकको रुपमा स्थापित स्वास्थ्य सेवा सहज रुपमा पाउन नसकी स्वास्थ्य अधिकार उल्लंघनका घटना क्रम बढ्ने क्रम जारी रहेको हुँदा यस्ता घटनालाई समेटेर वर्ष पुस्तकको रुपमा प्रकाशित गर्न लागेको जानकारी
दिए ।
संयोजक खातीले स्वास्थ्य अधिकार उल्लंघनका घटना अध्ययनका क्रममा अहिलेको स्वास्थ्य सेवाको बास्तविक स्थितिको बारेमा जानकारी लिने, राष्ट्रले प्रदान गरेको स्वास्थ्य सेवाको ताकत तथा कमजोरीलाई पहिचान गर्न, जनताले पाउनु पर्ने स्वास्थ्य अधिकार प्रत्याभूति गर्न र जनताले कुनै भेदभाव बिना निः शुल्क स्वास्थ्य सेवामा पहुँच भयो कि भएन बुझ्नका लागि पनि यो पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे ।
बर्ष पुस्तकका लागि ५८ जिल्लामा रहेका सञ्जालहरु मार्फत घटनाहरुको संकलन गरिने संयोजक खत्रीले जानकारी दिए ।
सञ्जालका संयोजक पूर्णलाल चुकेले स्वागत गरेको कार्यक्रममा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।