जनक केसी
यो देश कस्ले चलाएको छ भनेर एउटा देशभक्त नागरिकको हैसियतले सामान्य या गम्भीर जुन रुपले सोच्ने हो भने पनि सोच्दा सोच्दै पागल हुन वेर लाग्दैन । यो राज्य चलाउनेहरुको पारा र सवै प्रकारको अन्याय र वेथितिलाइ निरीह दर्शक वनेर हेर्ने जनताको गति हेर्दा पनि झोला वोकेर विदेशतिर लम्किनेहरुले मुक्ति नै पाएका हुन कि झैं लाग्छ ।
विकृति सुधारको लागि आवाज उठाउने नागरिक पागल हुने अनि राज्यले नृशंसतापूर्वक मार्ने देशका जनता हुनुमा हिनतावोध नहुनेहरु भेटाउन यो देशमा गाह्रै होला । २०औं हजार जनताको वलिदान वेहोरेको हाम्रो लोकतन्त्रमा न्यायका खातिर राज्यले सृजना गरेको विकृतिका विरुद्ध निस्वार्थ रुपले आवाज उठाउने गोविन्द केसी मरे पनि यो सरकार र राज्यलाइ केहि फरक पर्ला जस्तो पनि लाग्दैन तर सयौं वर्ष देखि लोकतन्त्र र अन्य तन्त्रको नाउँमा शासकहरुवाट पिल्सिएका जनतालाइ भने फरक पर्छ । सदियौं देखि भोक र रोगले मारिएका लाखौं जनताको भाग्य र भविस्यमाथि निष्ठुरी लात मार्ने राज्यको व्यवहार भित्रै लोकतन्त्र खोज्न पनि कहाँ सजिलो छ र ? राजनीति देश चलाउने नीति अनि यहि नीतिमा फल्ने सुन्दर राज्यव्यवस्था लोकतन्त्र । अहिले नेपालमा राजनीति र राजनीति गर्नेहरुलाइ गाली गर्ने मात्र होइन सराप्नेहरुको संख्या तिव्र गतिमा वढिरहेको छ ।
लोकतन्त्र र जनअधिकारका लागि भन्दै नेताहरु रंगी विरंगी सिद्धान्त र आदर्शका पानाहरु तयार गर्छन् । हजारौं जनताको वलिदान र संघर्षको एक प्रहर सपनाको भारी वोकेर लोकतन्त्रको गेटमा उभिन थालेको पनि धेरै हुन लाग्यो । लोकतन्त्र भन्दा सुन्दर तरिएकाले सिर्जना गरिएका पार्टीका सिद्धान्त र घोषणापत्रहरुले हजारौं जनतालाइ सुन्दर सपना देख्न वाध्य पारेका छन् । उनीहरुले सुशासन र परिवर्तनका नाउँमा लेखेका मधुर लयका नाराहरु आकर्षक मात्र होइन करोडौं जनताको मन छुने खालका छन् ।
हाम्रो देशका कुनै पनि दलहरुको सिद्धान्त या घोषणापत्रहरु हेरयो भने पनि न्याय समानता र सुशासनका कुरा निकै सुन्दर ढंगले सजाएर लेखिएका छन् । ती दस्तावेजहरुमा लेखिएका जनताको सम्वृद्धि र मुलुक परिवर्तनका कुराहरु पढ्दा सुन्दा उत्साहित नहुने कोही पनि हुदैनन् । निकै क्रान्तिकारी पारामा लेखिएका र सजाइएका दलका घोषणापत्र या प्रतिवद्धताहरु हेरेर जनताहरु मात्र होइन स्वयम नेताहरु नै दंग पर्छन् होला सायद । चाहे कम्युनिष्टका घोषणापत्रहरु हुन् चाहे काँग्रेसको घोषनापत्र होस सवैमा न्याय समानता, विकास र लोकतान्त्रिक मुल्य मान्यताका कुराहरु निकै जोडतोडका साथ व्याख्या र विश्लेषण गरिएका छन् ।
दलका घोषणापत्र र विभिन्न दस्तावेजहरुका हरेक अक्षरहरुमा लोकतन्त्र र देशको सम्वृद्धिको वासना आइरहेको पाइन्छ तर नेताहरु र राज्य सन्चालकहरुको व्यवहार हेर्यो भने उनीहरुका कदम कदममा चर्पीको दिसा जस्तै गन्ध आएको भान भइरहेको छ जनतालाई । पावरवाला हरेक हिसावले जे गरेपनि सुरक्षित हुने तर निमुखा जनताको लागि लोकतन्त्र पनि पक्षपाति छ यहाँ ।
काँग्रेसको प्रजातान्त्रिक समाजवादको कुरा गरौं या एमालेको जनताको वहुदलीय जनवादको कुरा गरौं माओवादीको नौलो जनवादको कुरा गरौं जताततै लोकतन्त्र निकै सुन्दर अक्षरले सिंगारिएको छ । र्काँग्रेस र कम्युनिष्टका घोषणाका कुरा मात्र होइन राजा महाराजाका भाषण र सम्वोधनहरुमा पनि लोकतान्त्रिक मुल्य मान्यताका कुराहरु निकै सिंगार पटारका साथ घन्कने गर्थे कुनै वेला । पक्षपात, अदुरदर्शिता र स्वेच्छाचारीता दल र दलका नेताहरुका लागि सवै भन्दा ठुला दुश्मन हुन भनेर सुन्न थालेको ७० वर्ष वढी भयो हामीले । घोषणा पत्रहरुमा जुन कुरा लेखिएको हुदैन त्यहि कुरा दल र दलका नेताको व्यवहारमा उग्ररुपमा देख्न पाइन्छ । राज्य सार्वभौम र सर्वहारा जनताका लागि सधैं विभेदकारी छ ।
यहि कुरा लोकतन्त्र र नेपाली जनताको लागि दुर्भाग्य वनेको छ । उनीहरुका घोषणा पत्र र अन्य दस्तावेजहरुमा आफना मान्छेको मात्र हेरचाह गरिने छ, आफनालाई मात्र आपत परेको वेला कानुन मिचिने छ, आफनाका लागि मात्र अवसर सिर्जना गरिने छ भनेर लेखेको कतै पनि भेटिदैन ।
संसारकै उत्कृष्ट काव्य रचना जस्तो गरि उनीहरुका सिद्धान्तका दस्तावेजहरु रचिएका छन् । त्यस्तै आफना पार्टीका मान्छेले जे अपराध गरेपनि क्षम्य हुने छ , अरुकाले राम्रो गरे पनि अपराध नै हुने छ भनेर पनि सिद्धान्त र घोषणा पत्रका कुनैपनि दस्तावेजका पानाहरुमा एक दुइ अक्षर पनि कोरिएको पाइदैन । राजनैतिक दलका घोषणापत्र या अन्य दस्तावेजहरुमा हरेक ठाउँमा हाम्रा मान्छेहरु मात्रै चाहिने छन् राम्रा मान्छेहरु चाहिने छैनन् भनेर पनि लेखिएको देखिदैन । पार्टीका घोषणा पत्र मात्र होइन दलका नेताहरुले कुनै पनि ठाउँमा गरेको सार्वजनिक भाषणको सुरु देखि अन्त्य सम्म यी माथिको कुराहरु झुक्किएर पनि कतै वोलेको भेटिदैन ।
पढेकादेखि नपढेका सवै जनताहरुले ती घोषणा पत्र पढे या भाषण सुने भने नेता र दलहरुले अव्वल लोकतान्त्रिक व्यवस्था वनाउदैछन् भनेर भरपुर विश्वास गर्छन् । तर राज्य सन्चालक र लोकतन्त्रका ठेकेदारहरुका हरेक व्यवहारहरु यथार्थमा घोषणा पत्र, प्रतिवद्धता पत्र र भाषणको एक प्रतिसत पनि मेल खाएको भेटिदैन । संसारमा सवैका लागि लोकप्रिय मानिएको लोकतन्त्र यहा“ यति सम्म पक्षपाति छ कि कुनै पीडामा परेको सर्वसाधारण अर्थात सार्वभौम नागरिकलाइ न्याय दिनुको सटटा राज्य अपराधी जोगाउन लागि पर्छ ।
अपराधी दलको भरपर्दाे नेता कार्यकर्ता भए उ देशको कानुन भन्दा माथि नै हुन्छ । यो पक्षपाति लोकतन्त्रले आफनो भए जे पनि अत्याचार गर्ने स्वतन्त्रता दिएको छ तर सर्वसाधारण जनताले जीवन भरि रोए पनि देशमा सरकार भएको अनुभुति गर्न पाउ“दैन । लोकतन्त्र प्रति यहाँ जनताको यति धेरै निराशा किन ? जहाँ नेता र राजनैतिक दलको अस्तित्व लोकतन्त्र अर्थात जनताको शासन व्यवस्थामा मात्र सम्भव हुन्छ अनि जनताको स्वतन्त्रता र अधिकार सर्वाेच्च हुन्छ, त्यहि व्यवस्थामा जनता आफु माथि हाकाहाकी अन्याय र अपमान भएको हेर्न मात्रै सक्छन त्यसका विरुद्ध गर्न केहि सक्दैनन् । अनि त्यसलाई कसरी लोकतान्त्रिक व्यवस्था भन्ने ?
रुदै कराउदै जनताले न्याय माग्दा पनि नपाउने तर अपराधीहरु भने ठुलो ठुलो छाती गरेर हिड्न पाउने कस्तो लोकतन्त्रमा छौं हामी ? आन्दोलनमा साथ दिने अनि सत्तामा पुग्न भोट दिने जनता भन्दा वढी दल र दलका नेताहरुलाइ वदनाम गर्ने अनि लोभी अन्यायी वनाउने आसेपासेहरुको विश्वास वढी लाग्छ राज्य सन्चालक र लोकतन्त्रका ठेकेदारहरुलाई ।
नेपालमा २००७ सालमा राणाहरुवाट सत्ता खोसे देखि जनताले नेताका हरेक कुरामा विस्वास गर्दै आएका छन् । जनताको हरेक विस्वास राज्यले तोड्ने वढी काम गरेको छ । जो लोकतन्त्रका ठेकेदारहरु जनतासंग गरेको वाँचा पुरा गर्ने खालका थिए उनीहरु सजिलो समयमा जिउ“दा रहन सकेनन जो जिउ“दा रहे उनलाई सार्वजनिक सरोकार भन्दा वढी नातागोता र आफनो व्यक्तिगत.स्वार्थ र फाइदाको मात्र ख्याल छ । आउने युगको चिन्ता गर्नेहरु राना र पन्चका गोली र हत्कडीले सिद्धिए । आउने चुनावको मात्र चिन्ता गर्नेहरु सत्ता र शक्तिका सधैं मालिक भइरहे ।
नेपाली राजनीतिमा देखिएको यो चलन र प्रवृत्ति नेपाली जनताको सम्वृद्धि र प्रगतिको वाधक मात्र नभई नेपालको लोकतन्त्रको लागि दुर्भाग्य हो । देशमा लोकतन्त्र छ विद्यालयमा योग्य शिक्षक नियुक्त हुन पाउदैन, एउटा नागरिकको हत्या हुन्छ अपराधी खुलेआम डुल्छ, पक्राउ पर्दैन । सत्ता र शक्तिको प्रयोग जनताका लागि आकासको फल आँखा तरि मर जस्तै हुन्छ । सरकार जनताले चुन्छन् तर त्यो सरकार पार्टी र नेता कार्यकर्ताको मात्र वन्न पुग्छ । दलीय आस्था नमिल्ने विपन्नहरु सधै नेता र कर्मचारीको विभेदको शिकार वन्छन् । समानताका कुरा गर्ने नेता र दलहरु आफुलाइ भोट दिने जनता र ठाउँ खोजी खोजी योजना पार्न खोज्छन् । किन कि उनीहरुलाई आफुलाई भोट हाल्ने र समर्थन गर्नेहरु मात्र जनता हुन् भन्ने लाग्छ । सवै जनताले एउटै नेता र दललाइ भोट हाल्दैनन् । जनताले भोट हालेका सवै नेताहरु सत्तामा पनि पुग्दैनन् । अनि जनताहरु हरेक दिन हरेक साँझ गुनासो र पिरको भारी आफैसंग पोख्न वाध्य हुन्छन् ।
चुनावमा वाँडिएका आशा र सपनाहरु अधुरा रहने मात्र नभई जनताको शासन जनताकै होइन कि जस्तो पनि अनुभुति हुन थालेको छ । २००७ साल देखि गणतन्त्र आउने वेला सम्म वीस हजार वढीले वलिदान गरे । हजारौं जनताले जीवनको खुसी र स्वतन्त्रता गुमाए । आफनो जीवन र भविस्यलाइ समेत गुमाएर लोकतन्त्रका लागि समर्पित जनताको लागि लोकतन्त्र भोट हालेर नेता जिताउने साधन मात्र वन्दै गएको छ । लाखौं जनता यहि लोकतन्त्र र परिवर्तनको भविष्यका लागि भोकै नांगै रहे तर पनि लोकतन्त्र उनीहरुकै लागि आफनो सम्पति हुन सकेको छैन ।विकास रोजगारी र सम्वृद्धिका हरेक घटनामा सर्वसाधारणहरु विभेदमा पर्न थाले ।
जनताको अभुतपूर्व त्याग र वलिदानले लोकतन्त्र आयो । मर्ने लाइनमा सधै जनताकै छोराछोरी अगाडीको लाइनमा उभिए । लोकतन्त्रकै लागि मरेका कतिका छोराछोरी श्रीमति र वावा आमाहरु भोक भोकै वसेका छन् । आफन्त गुमाएर पनि एक छाक गाँस अनि एक सरो कपासका लागि उनीहरुको आँसु भौतारिरहेको भेटिन्छ । निरंकुश राज्यसत्ताले शक्तिहिन र प्रभावहिन वनाएका वेला ज्यानको वाजी लगाएर दल र दलको अस्तित्व जोगाएको गुण जनताले कहिले पाउछन् ? प्रश्न अनुत्तरित छ । पहु“च, सत्ता र शक्तिका वरीपरी रहेकाहरुका लागि लोकतन्त्र सधैं दसैं तिहार जस्तै भयो तर विपन्न जनताका लागि कागलाइ वेल पाक्यो हर्ष न विस्मात जस्तै भयो । न्याय समानता र सम्वृद्धिका लागि दल र नेताका नाराहरु एका देशका कथा जस्तै भए । २० वर्षपछि स्थानीय तहको चुनाव भयो अनि प्रदेश र संघको चुनाव पनि हुदैछ तर पनि जनताले परिवर्तनको नया अनुभुति गर्न पाएका छैनन् । जनताले चुनेका प्रतिनिधिहरु फेरि पुरानै पारामा नभएको काम पनि भयो भन्दै विल मिलाएर कागजमा विकास देखाउन लागि पर्न थाले ।
धेरै ठुलो आसा गरेका जनताहरु नयाँ जनप्रतिनिधिहरुको पुरानै पारा र ढंग देखेर निराश वन्न थाले । ठुलो परिवर्तन र राजनैतिक सफलतापछि पनि जनताको निरासा कम हुने संकेत नदेखिनु लोकतन्त्रको दुःखद् पक्ष नै हो । जनताको वलिदान र त्यागको मुल्य यदि दल र दलका नेताहरुले तिर्न सकेनन् भने भोलिका दिनमा लोकतन्त्र अझै खतरामा पर्ने निस्चित छ । जनताले लोकतन्त्र संकटमा पर्दा यदि साथ नदिने अवस्था आयो भने त्यसको सवै दोष दल र दलका नेताहरुले नै लिनुपर्छ । यति ठुलो जनताको त्याग र वलिदान अनि सहभागितामा भएको परिवर्तन अग्रगामी र समृद्ध वन्न सकेन भने त्यो भन्दा अर्काे दुर्भाग्य पनि केहि हुदैन । त्यो दुर्भाग्यको पहिलो शिकार नै अहिलेका नेता र दलहरु नै वन्ने छन् । त्यसैले सिद्धान्तमा नहिड्ने नेता र आउने चुनावको मात्र जोड घटाउमा लगानी गर्ने दलीय सँस्कृतिले लोकतन्त्र पक्षपाती मात्र होइन कम्जोर वन्दै गएको छ । असल नेताले यो सत्यलाइ आत्मसाथ गरेर राजनैतिक धर्म र सँस्कृतिको सुरुवात समयमै गर्न जरुरी छ । यसका लागि जनताको खवरदारी सवैभन्दा वलियो उपाया हो । (लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका निवर्तमान अध्यक्ष हुन् ।