तपाई मन पराउनुस् वा रिसाउनुस् तर अस्विकार गर्न सक्नु हुन्न ।
हामी कुरा गर्दैछौ एउटा यस्तो सनसनीखेज एप्सको जसले अहिले नेपाल लगायतका विश्वभरीका फेसबुके प्रयोगकर्ताहरुको टाइमलाइनमा जवरजस्त स्थान पाइरहेको छ ।
अंग्रेजीमा मात्र हैन, नेपाली लगायतका विश्वभरीका १ सय भन्दा बढि भाषाहरुलाई रिकगनाइज गर्न सक्ने यो एप्सको भविष्यवाणिलाई आफ्नो टाइमलाइनमा प्रयोगकर्ताहरुले शेयर गरिरहेका छन् ।
रमाइला टेस्ट गर्ने अन्य एप्सहरु भन्दा टेस्टोनीको सर्भे र परिणाम एकदमै अस्वाभाविक छ ।
टेस्टोनीमा तेरो विवाह कहिले हुन्छ, तेरो पार्टी कुन हो, तेरो प्रोफाइल फोटोका बारेमा मानिसहरु के भन्छन् , पत्रकार भएर के पाइस्, तँ किन जन्मिस् जस्ता एकदमै जेनेरिक प्रश्नहरुको उत्तर चाहि हाँस्यास्पद र व्यंगात्मक छन् ।
जस्तो कि तँ किन जन्मिसमा उत्तर आउँछ, सुपर मोडल बन्न । कति पैसा कमाउँछस् ? उत्तर आउँछ धन्दा नमान विल गेट्सलाई ऋण दिन्छस् । पैसा कमाएर के गर्छस् ? केहि गर्दैनस् रक्सि खाएर सक्छस् ।
यस्तो उत्तरले प्रयोगकर्ताहरुलाई हाँसो लाग्नु स्वभाविक हो । केहि क्षणको रमाइलो बाहेक यो केहि हैन । तथापी केहि प्रयोगकर्ता भने उत्तरलाई लिएर गम्भीर हुन सक्छन् ।
सबै हसिमजाँक रमाइलो नै हुन्छ भन्न सकिन्न । जस्तो कि मेरो वैवाहिक जीवन कस्तो छ ? भन्ने प्रश्नको उत्तरमा तेरो श्रीमतीको १० जना परपुरुषसंग विवाहेत्तर सम्वन्ध छ भन्ने उत्तर आएपछि टेस्टोनीलाई नै व्लक गरेको नेपालगन्जका एक फेसबुक प्रयोगकर्ता बताउँछन् ।
टेस्टोनीमा आउने उत्तर र प्रश्नहरु होच्याउने शब्दहरुको प्रयोगले भरिपुर्ण छ । तर यि शब्दहरु सामान्य बोलीचालीमा आउने र कहिलेकाहि साथीहरुसंग हसिँमजाक गर्ने खालको छ यसकारणले टेस्टोनी एप्सको लोकप्रियतामा सहयोग पुगिरहेको बताउँछन् सूचना प्रविधिका विज्ञहरु ।
तर, केहि फेसबुक प्रयोगकर्ताहरुले टेस्टोनीका परिणामहरुले आफ्नो वाल प्रदुषित भएको बताउँछन् । टेस्टोनीका बारेमा फेसबुकमा छलफल समेत भइरहेका छन् । हाम्रो भाषालाई गलत स्वादमा पस्किने काम बाहेक केहि हैन । एउटा स्टाटसमा भनिएको छ ।
वास्तवमा टेस्टोनी आफैंमा ज्योतिषि हैन । प्रयोगकर्ताहरुले नै आफैं प्रश्न बनाउने र त्यसको उत्तर समेत लेखेर पोस्ट गर्न सक्छन् । यसमा भएका प्रश्नहरु प्रयोगकर्ताहरु आफैंले बनाएका हुन् ।
तपाईको वालमा टेस्टोनी सर्भे पोस्ट हुने दायाँ छेउमा हाइड फ्रम अल टेस्टोनी डट कम मा क्लिक गरेर आफ्नो वाललाई टेस्टोनीको प्रदुषणबाट बचाउन सकिन्छ ।
यो एप्सको प्रयोगले केहि रमाइलो त होला तर तपाईको इमेल र फेसबुकको अकाउन्टको प्रयोग गरेर धेरै स्पाम मेलहरुले तपाईको इनबक्स चाहि पक्कै भरिन सक्छ ।
यसैले टेस्टोनी शेयर गर्नुभन्दा अघि सोच्ने कि ।