आज शुक्रबार नाग पञ्चमी, जनैपूर्णिमा र रक्षाबन्धन मनाइ“दैछ । यी पर्वहरुस“ग हिन्दुहरुको चाडपर्वहरु सुरु भएका भएका छन् ।
जनैपूर्णिमाको दिन आज हिन्दु तागाधारीहरूले विभिन्न कुण्ड, जलाशय तथा सागरमा पवित्र स्नानका साथ रक्षाबन्धन तथा नूतन योज्ञोपवित धारण गरी यो पर्व मनाइदैछ । जनैपूर्णिमाको प्रमुख तीन पक्षमा यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पण पर्दछन् ।
आजको दिन तागाधारीहरूले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नुपर्ने भएकाले जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहित कहाँ जाने गर्दछन् । हिन्दु तागाधारी जातिले देह शुद्ध गरी देवीदेवताका साथै सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार, पोखरी तथा तालतलैमा गई तर्पण गर्ने चलन भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’ पनि भन्ने गरिन्छ ।
तराई क्षेत्रमा आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधिदिने चलन छ । आजको दिन एघार थरिका गेडागुडी मिसाइएको क्वाँटी खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण लागेको चिसो हटी शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु–पुन्ही’ भनी मनाइने परम्परा रहेको छ ।
आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ । त्यस्तै, आज नाग पञ्चमी पनि मनाइदैछ । श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ । वैदिक दर्शनमा १२ वटा नागहरुको उपस्थिति पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णकोलागि आजकै दिन पूजा अर्चना गरिन्छ ।
यिनै नागहरु अङ्कित चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ–आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले विषालू जीवहरूबाट परीवारको वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, फलफूल र भोजन पनि गराउने चलन छ ।
नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ सुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे । उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे ।
तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
फरक तिथिका पर्व एकै दिन !
श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन नाग टाँस्ने तथा श्रावण शुक्ल पूर्णिमा अर्थात ऋषितर्पणी पूर्णिमाका दिन रक्षावन्धन तथा यज्ञोपवितधारण (जनै–पूर्णिमा) गर्ने कार्यहरु पनि यिनै शास्त्रहरुद्वारा निर्देशित हुन् ।
तर, यस पटकको रक्षावन्धन तथा यज्ञोपवितधारण ऋषितर्पणी पूर्णिमाका दिन नगरी नागपञ्चमीका दिन गर्ने भन्ने कुराले आम जनमानसमा यो कसरी हुनगयो भनी जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो ।
कतिले त पूर्णिमा र पञ्चमी विलकुलै फरक फरक तिथिहरु एकै दिन कसरी पर्न सक्छन् ? यो असम्भव कुरा हो भन्ने तर्क समेत राख्नु भएको छ । पूर्णिमा तथा पञ्चमी विलकुलै फरक फरक तिथिहरु हुन र यी दुवै तिथिहरु एकै दिन पर्नै सक्दैनन् र यो वर्ष पनि एकै दिन परेकै होइनन् ।
माथि उल्लेखित गरिएका शास्त्रहरुमा भनिएको छ, हाम्रो संस्कार अनुसार विशेष दिनमा गरिने विशेष कार्यहरु गर्ने दिन यदि ग्रहण लागेमा, जुठो–सुतक परेमा वा अन्य व्यावधान आएमा उक्त कार्यहरु सो दिनको सट्टा यथासक्य नजिकैको अरु नै कुनै पवित्र तथा उपयुक्त दिन छानेर गर्नुपर्ने हुन्छ । यस पटकको ऋषितर्पणी पूर्णिमाका दिन पनि ग्रहण लाग्ने भएकाले उक्त दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु यसै दिन गर्न मिलेन ।
शास्त्रहरुमा नै ऋषितर्पणी पूर्णिमाका दिन गरिने विशेष कार्यहरु कुनै कारणवस उक्त दिन गर्न नमिलेमा नजिकैको शुक्ल पञ्चमीका दिन गर्नु पर्छ भन्ने कुरा स्पष्ट उल्लेख छ । यसै कारण शास्त्रोक्त विधान अनुसार, यस पटकको ऋषितर्पणी पूर्णिमाका दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता विशेष कार्यहरु यस पूर्णीमा भन्दा केहिदिन अगाडी पर्ने पवित्र श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गर्न उपयुक्त हुने भएकाले नागपञ्चमीकै दिन ऋषितर्पण, रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु गर्नु पर्छ भनि सर्वत्र उल्लेख भएको हो ।
त्यसैले हामी सवैले के स्पष्ट हुन जरुरी छ भने, यस पटक पञ्चमी तथा पूर्णिमा फरक फरक तिथिहरु एकै दिन परेका होइनन् तर, ऋषितर्पणी पूर्णिमाका दिन ग्रहण लाग्ने भएकाले उक्त दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता धार्मिक कार्यहरु श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गरिन लागिएको हो । (हाम्रो पात्रोबाट)