कमैया मुक्तिको १८औं बर्ष

 भावुक योगी, बर्दियाबाट । 

नेपालगन्जन्यूज ।  सरकारले कमैयाहरुलाई मुक्त घोषणा गरेको सत्र वर्ष पुरा भएको अवसरमा साउन २ गते बर्दियामा मुक्त कमैयाहरुले दिवस मनाएका छन् । पुनःस्थापना, स्वास्थ्य, शिक्षा र रोजगार सम्पूर्ण मुक्त कमैयाहरुको सरोकार भन्ने नारा सहित विभिन्न संस्थाको सहयोगमा मुक्त कमैयाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।

दिवसको अवसर पारी सरकारले कमैया मुक्ति घोषणा गरेको १७ वर्ष पुरा हुँदासम्म पनि बर्दियामा अभै १ सय ७७ जना मुक्तकमैया पुनःस्थापना हुन बाँकी रहेको मुक्त कमैया पुनःस्थापना केन्द्रका केन्द्रीय सदस्य एवं कमासु दिगो बिकासका अध्यक्ष बिन्तिराम थारुले बताए ।

जिल्ला भुमिसुधार कार्यालय बर्दियाले लिएको लगतमा १६ हजार २ सय ६२ जनाले मुक्तकमैया परिचयपत्र पाउन निवेदन दिएकोमा तिनीहरु मध्ये छानविन गरी पुनःस्थापना गर्न भूमि सुधार कार्यालयले पहिचान गरी रातो र निलो गरी १० हजार ७ सय ९७ मुक्तकमैयालाई परिचयपत्र वितरण गरेको थियो ।जसमध्ये परिचयपत्र पाएका ९८ जना बाँकी रहेको भूमिसुधार कार्यालय बर्दियाका भूमिसुधार अधिकारी कृष्ण प्रसाद ज्ञवालीको भनाई छ ।

दिवसकै अवसरमा मुक्तकमैयाहरुका अगुवाहरुले मुक्ति भएको दुई दशक पुग्न लाग्दा पनि आफुहरुलाई पुनःस्थापना गर्न नसकेकोमा सरकार प्रति आक्रोश पोखेका थिए ।

अझै पनि सम्पूर्ण मुक्त कमैयाहरुले पूर्जा प्राप्त गर्न, जग्गा किन्न, परिचय पत्र पाउन, घर निर्माणको लागी सरकारबाट पाउनुपर्ने काठ समेत प्राप्त गर्न बाँकी रहेकोले कमैयाहरु पूर्ण रुपमा पुनःस्र्थापना हुन नसक्दा कमैयाहरुले वास्तविक रुपमा मुक्तिको अनुभूति लिन नपाएको गुनासो गर्दै सरकारले मुक्त कमैयाहरु प्रति वेवास्ता गरेको आरोप लगाएका छन् ।

सरकारले सहकारी कृषि प्रणाली अनुसार मुक्त कमैयाहरुलाई भूमी उपलव्ध गराउन सके मुक्त कमैयाहरुको समस्या समाधान हुने उनीहरुको माग छ ।

कमैयाहरुलाई २०५७ साल साउन २ गतेका दिन सरकारले दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा रहेका सम्पूर्ण मुक्त कमैयाहरुलाई मुक्ति भएको घोषणा गरेका थियो ।

मुक्ति घोषणापछि हरेक वर्ष साउन २ गते यो दिवस मनाइने गरिन्छ ।

सरकारले कमैया मुक्ति घोषणा गरेको १७ वर्ष पुगिसक्दा पनि बर्दियाका मुक्त कमैयाहरुको समस्या हट्न सकेको छैन । ०५७ सालमा सरकारले दासत्ववाट मुक्त घोषणा गरेका कमैयाहरुको अवस्था सत्र बर्षसम्म पनि उस्तै छ ।

प्रतिक्रिया

प्रतिक्रिया