‘मातृभूमिको रक्षाका लागि नेपाली एकजुट’

कृष्ण अधिकारी
नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले मातृभुमिको रक्षाका लागि सबै नेपालीहरु एकजुट भएर अगाडी बढ्नु पर्ने बताएका छन् । उनले संविधान र सरकारले दिएको जुनसुकै जिम्मेवारी पुरा गर्न सेना तयार रहेको बताए ।

मध्य पश्चिमाञ्चल भुतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति क्षेत्रीले कुनै पनि बेला भुतपूर्व सैनिकहरुको आबश्यकता खड्किन सक्ने बताए । उनले नेपालको सुनौलो इतिहास जोगाउन समयको माग अनुसार राष्ट्रसेवाका लागि तयार रहन पूर्व सैनिकहरुलाई आग्रह पनि गरेका छन् ।

‘भुतपूर्व सैनिकहरुको आर्थिक उन्नति र प्रगति हुनु भनेको नेपालको आधार स्तम्भ बलियो हुनु हो,’ प्रधानसेनापति क्षेत्रीले भने, ‘नेपाली सेनाको कल्याणकारी कार्यक्रमहरु पूर्व सैनिकहरुको सर्बोपरी हित हुने तर्फ केन्द्रित गर्दै लगिएको छ ।’

नेपाली सेनाले कल्याणकारी कोष मार्फत भुतपुर्ब सैनिकहरुका लागि नेपाल इनभेष्टमेन्ट बैक मार्फत ४.५ प्रतिशत ब्याज दरमा एक लाख देखि सात लाख सम्म सहुलितपूर्ण ऋण उपलब्ध गराउदै आएको छ ।

सहुलियत पूर्व ऋण लिएर पूर्व सैनिकहरुले बिभिन्न रोजगार मुलक उद्यमहरु संचालन गर्दै आएका छन । हाल सम्म करिब १७ हजार भुपु सैनिकहरुले २ लाख ७५ करोड सहुलियतपूर्ण ऋण लिएर उद्यमहरु संचालन गरि रहेका छन । सोही समारोहमा सेनापति क्षेत्रीले भुपु सैनिक तथा उनीहरुका परिबारका सदस्यहरुलाई सहुलियतपूर्ण ऋण, असक्तलाई ह्बील चेयर समेत वितरण गरेका थिए ।

प्रधानसेनापति क्षत्रीले पूर्व सैंनिक तथा उनका आश्रित परिबारहरुसंग भेटघाटगरी उनीहरुका गुनासाहरु सुनेका थिए । नेपालमा करिब ८ लाख पूर्व सैनिक तथा उनका आश्रित परिवार छन ।

कार्यक्रममा बाहिनीपति नबजीब सम्शेर राणाद्वारा लिखित श्री न. चारबाहिनी अड्डाको इतिहास पुस्तकको समेत प्रधानसेनापति क्षत्रीले विमोचन गरेका थिए । विभिन्न जिल्लाको संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको कार्यक्रममा वोर्डका प्रमुख कार्यकारी अधिकृत चित्र बहादुर गुरुङले पनि बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया