किसान जागरण अभियान सकियो
भूमिहिन किसान जागरणको लागि जिल्ला भूमि अधिकार मञ्च, बाँकेले गरेको सप्ताहव्यापी जागरण अभियानको अहिले नेपालगन्जको सेतु वि.क. चोकमा समापन भएको छ ।
गाउँ गाउँबाट साइकलमा प्लेकार्ड बोकेर आएका भूमिहिन किसानहरुले मोहियानी हक कायम गर, सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन किसानलाई, जलजंगल र जमिन हुनुपर्छ जनताको अधिन जस्ता नारा लगाएका थिए ।
नेपाल सरकारले २०७३ फागुन ३ गते सुकम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नको लागि व्यवस्थित बसोबास आयोग गठन गरेपछि पुनः जागरण अभियान थालिएको थियो । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २०७४ भदौ ६ गते सम्म मोही जग्गा बाँडफाटको लागि भूमिसुधार कार्यालयमा निवेदन दिन मिति तोकेकाले पनि जागरण अभियान गरिएको मञ्चका अध्यक्ष जसवीर वडले जानकारी दिए ।
हाल बाँके जिल्लामा ४ हजार ९ सय ९१ दर्तावाल मोहियानी किसान रहेको मञ्चले जनाएको छ ।
अध्यक्ष वडले जागरण अभियान जिल्लाको खजुरा गाउँपालिकाको गिजराबाट सुरु भई बैजनाथपुर, कोहलपुर हुँदै राप्ती सोनारी, डुढुवा गाउँपालिकाका विभिन्न स्थानमा पुगेर आएको बताए ।
भूमिहिन तथा सुकुम्बासी जनतालाई सरकारल गरेको व्यवस्थाको बारेमा सूचना दिन तथा सरकारलाई यथासक्य चाँडो भूमिहिन किसानको समस्या समाधानका लागि दबाव दिन अभियान गरिएको वडले नेपालगन्जन्यूज सँग
बताए ।
मञ्चले हिजो बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थमार्फत सुकुम्बासी र भूमिहिनहरुको व्यवस्थित बसोबास, मोहियानी हक ग्यारेण्टिका लागि सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।