विमोचनसँगै महानन्दको उपन्यास ‘बुह्रान’को परिचर्चा

साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन गरिएको छ । शनिवार कोहलपुरमा वरिष्ठ साहित्यकार सनत रेग्मीले उपन्यास बुह्रानको बिमोचन गरेका हुन् ।


पहिलो उपन्यास भएपनि साहित्यकार ढकालको यो छैठौं साहित्यिक कृति हो । थारू संस्कार र संस्कृतिसंग नजिकको सम्बन्ध राख्ने कथावस्तुमा आधारित बुह्रानबारे विमोचन कार्यक्रममा परिचर्चा पनि गरिएको छ ।


कार्यक्रममा वरिष्ठ साहित्यकार रेग्मीसँगै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगीता सुबेदी,वरिष्ठ लेखक नरेन्द्रजंग पिटर,भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना, अबधी भाषी श्रष्टा बिष्णुलाल कुमाल लगायत दर्जन बढि व्यक्तित्वहरुले बुह्रानबारे चर्चा गरेका हुन् ।


तीन दशक लामो समयदेखि साहित्य साधानामा क्रियाशील ढकालले पछिल्लो पटक तराई क्षेत्र विशेषगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पछाडि पारिएका गरिब थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई विषयवस्तु बनाइएको बुह्रान राम्रो कृतिका रुपमा आएको टिप्पणी धेरैको रह्यो ।

त्यसअघि कार्यक्रममा सुमित्रा न्यौपानेको स्वागत मन्तब्य संगै कृतिकारको परिचय तथा उनको कृति परिचर्चा युवाश्रष्टा नविन अभिलाषीले गरे । वरिष्ठ साहित्यकार सनत रेग्मी, कृतिकार र थारुभाषी साहित्यकार सुशील चौधरीबीच नविनले कृतिका विषयवस्तुमाथि परिचर्चा गरे ।


कथामा, समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलहरी, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा बिमोचन समारोहमा गरिएको परिचर्चाका बिषय बस्तु रहेका थिए ।


उपन्यासको आवरण देवेन्द्र थुम्केलीले बनाएका हुन् । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । ‘धेरै ठाउँमा पुस्तक पुर्याइसकिएको छ,’ ढकालले भने ।


बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलहरी प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तरजातिय विवाह महत्वपुर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको टिप्पणीकर्ताका भनाइ छ ।


साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपूर्ण आंकलन गर्न सकिन्छ । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल संग्रह २०५८, ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह २०५९, ‘अव्यक्त प्रत्याशा’ गजल संग्रह२०६३, ‘घाम उदाए’ हाइकु संग्रह २०६८ र सिमाना मुक्तक संग्रह २०७७ यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो । तीनसय बढी साहित्यानुरागी सहभागी कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको थियो भने सचिव पुष्कर रिजालले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया