शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘सिल्ली फो’ले नेपालगन्जमा दर्शकको अपेक्षित माया पाउने देखिएको छ । बाँकेका कलाकारले अभिनय गरेको ‘सिल्ली फो प्रदर्शन सुरु भएदेखिको आकर्षणले अपेक्षित मायाको सन्देश दिएको हो ।
फिल्ममा खजुराका पूर्णचन्द्र पोखरेल (मामाजी) मुख्य खलनायकको भूूमिकामा छन् । यो उनी मुख्य भूमिकामा रहेको पहिलो चलचित्र हो । ‘दर्शकले रुचाउने भएको छ, शनिवारको शोमा अपेक्षित दर्शक देखिएपछि पोखरेलले दैनिक नेपालगन्जसँग भने, ‘निर्देशक देखि कलाकारसम्म स्थानीय भएर पनि होला बाँकेले हामीलाई माया गरेको छ ।’
‘म आफैपनि २८ वर्षपछि सिनेमा हल छिरें,’ सिल्ली फो का केन्द्रीय पात्र पोखरेलले २०४४/०४५ तिर शत्रु फिल्म हेर्न सिनेमा हल पसेको सम्झँदै भने, ‘आफ्नै फिल्म हेर्न जाँदा दर्शकको राम्रो उपस्थितिले सन्तुष्ट छु ।’ शत्रुका कलाकार उनले अर्काे ठुलो पर्दाको चलचित्र पर्खिबसे लिन आउँछुमा पनि भूमिका खेलेका छन् । सिल्ली फो उनको तेस्रो ठुलो पर्दाको सिनेमा हो । साना पर्दाका टेलिभिजन सिरियलहरुमा अभिनय गर्दै आएका पोखरेल सामाजिक क्षेत्रमा सक्रिय छन् ।
चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका केकी अधिकारीदेखि धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बरबहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमन बिश्वकर्मालगायतको अभिनय छ । नेपालगन्जका कलाकार वीरेन्द्र यादव लगायतले अभिनय रहेको चलचित्रमा बाँकेको सेरोफेरोमा अधिकांश छायांकन गरिएको छ । निर्देशक राजबहादुर सानेले नेपाली नागरिकले दैनिक जीवनमा भोग्नुपरेको कुरालाई फिल्ममा चित्रण गरिएको बताए । ‘फिल्मले मलाई निर्देशकीय हिसाबमा धेरै कुरा सिक्ने अवसर पनि दिएको छ,’ उनले भने, ‘पहिलोपटक कमेडी फिल्ममा हात हालेको हुँ । यो विधामा म सफल हुन्छु भन्ने आशा छ ।’
पहिलो दिन दिउसो १२ः१५ को पहिलो शोमा ६० प्रतिशत दर्शकको उपस्थिति रहेको क्युएफएक्स सिनेमाज बागेश्वरी नेपालगन्जका प्रबन्धक सन्जिव शाक्यले सञ्चारकर्मीलाई जानकारी दिएका थिए । ‘दोस्रो दिनमा झन राम्रो छ,’ पोखरेलले भने । सिल्ली फो अर्थात् चार जना मूर्ख नाम राखिएको फिल्ममा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । कलाकारहरु राजाराम पौडेल र रविन्द्र झाले पनि फिल्ममा कमेडी चरित्रमा अभिनय गरेका छन् ।
चलचित्र ‘सिल्ली फो’ चार जना सिल्ली केटाहरुको कथामा बनेको कथा बस्तु हो । ‘चलचित्र हेर्दा चलचित्रमा समाबेश सम्बाद र कलाकारको अभिनयले दर्शकलाई २ घण्टा २५ मिनेट बाँधेर राखेको छ’ दर्शकको प्रतिक्रिया छ ।
मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह–निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर छ ।
बाँकेबाटै कला क्षेत्रमा लागेका युवा निर्देशक राजबहादुर सानेले सिमित स्रोतसाधनमा पनि उम्दा चलचित्र दिन सफल भएको दर्शकको प्रतिक्रिया छ । आशा छ, फिल्मले दर्शकलाई नयाँपन दिनेछ ।