हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासंग्रह माथि कोहलपुरमा परिचर्चा आयोजना गरेको छ ।
प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले संग्रहका सबै कथालाई व्याख्या गरे गर्दै बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको टिप्पणी गरिन् । उनले कथामा बिदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन् । उसको बानी व्यहोरा र पढाइको समेत वास्ता नगरि हचुवामा क्षमतावान व्यक्तिको रुपमा विश्वास गर्ने हाम्रो स्वभाव छ । न्यौपानेले भनिन् – ‘वैवाहिक जीवनको कौतुहलता र अनुमानको बारेमा केटीले गरेको मनोबिश्लेषणलाई कथामा उनिएको छ ।’
यौनको उन्मादमा आफन्त पनि नभन्ने सामाजिक अपराधी पुरुष पात्रलाई पीडक देखाएर मात्रै नारी माथिको अत्याचार र भेदभाव नमेटिने न्यौपानेको धारणा थियो । नारीपात्रलाई कोमल हृदयको रूपमा चित्रण गरिएको छ । न्यौपानेले भनिन्, ‘प्रकृतिले मानिसलाई सर्वगुणसम्पन्न बनाएर पठाएको हुँदैन । नारीहरू आफ्नो हकहितका लागि सदैव लडेर मात्रै हुँदैन, दाजुभाइले उनीहरूलाई साथ र सहयोग दिनुपर्छ ।’ पैसा कमाउन बिदेश गएका महिलालाई पैसा कमाउने नाममा विभिन्न गल्ती गरेका लान्छना लगाएका प्रसङ्गलाई कथामा जोड्नु शोभनीय नभएको न्यौपानेको धारणा थियो ।
परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रस्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी राखेका थिए । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासंग्रहका अधिकांश कथा नारीका बिषयमा केन्द्रित रहेको बताए । पादुकाले संग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राखे । पराजुलीका कथामा सीमान्तकृत समुदायका नारीका जीवन र भोगाइलाई समेटिएको छ ।
पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको बताए । शीर्ष कथा र समग्र कथामा नारीका सुखदुःखलाई उजागर गरिएकोले मोम्चो नारी प्रधान कृति होझ टिप्पणीकार गैरेले भने – कथामा घटनाले प्राथमिकता पाएको छ र कथाकारले त्यसलाई आफ्नो लेखन शिल्पमार्फत व्याख्या गरेका छन् ।
लेखक वसन्त पराजुलीले मोम्चो सीमान्तीकृत चेपाङ समुदायको धर्म, रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकोले यी समुदायसँगसँगै आम पाठकले मन पराएको बताए । कोहलपुरमा आएर मोम्चोको कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै कोहलपुरको कार्यक्रमले चितवन र बाँकेको साहित्य अझ सम्बन्ध बलियो भएको बताए ।
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । पराजुलीको यसअघि कुमाता कथासंग्रह प्रकाशित छ । पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।
परिचर्चा कार्यक्रममा नरेन्द्रजंग पिटर, मणि अर्याल र सूर्यप्रकाश कँडेलले पनि बोलेका थिए । कार्यक्रमको सुरुवातमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव बद्री ढकाल हिरामणिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई पुष्कर रिजालले सहजीकरण गरेका थिए ।