दिपकको साहित्यिक क्रियाशीलता

रामु ओली

यो दिल मेरो मसँग छैन
तैपनी अधेरो मसँग छैन

यो मनलाई बाधेर राख्ने
कुनै पनि घेरो मसँग छैन

मागिरहेछु फिर्ता देउ मन
भन्छौ तेरो मसँग छैन

टाढा छु सात समुन्द्र पारी
आफ्नो सेरोफेरो मसँग छैन

यी गजलका शेर जस्तै गजलकार दिपक आचार्य ‘जलन’को दिल उनी संग छैनन् । उनको दिल त उनको बाल्यकाल बितेको बर्दिया मै छ । बाघ अनि कृष्णसार उछलकुद गर्ने बर्दियाका सुन्दर फाटहरुमा पुग्छन् । कहिले अटुट रुपमा बग्ने कर्णाली नदिमा पौडन पुग्छन् त कहिले बर्दिया देखि नेपालगन्ज आउदै गर्दा चक्ला फाटहरुमा झुलेका धानका बालाहरुमा लहलहै गर्छन् । त्यसैले उनले कोरे ‘यो दिल मेरो मसँग छैन ,
तैपनी अधेरो मसँग छैन ।

कुनै जमानामा रेडियो तथा एफएममा गजल बाचन पछि दोहोरिने नाम हुन्थ्यो दिपक आचार्य ‘जलन’ । यो उनको साहित्यिक नाम । कौतुहुलता जाग्यो असली नाम के त ? दिपलाल आचार्य । उनको छोटो उत्तर थियो । तर उनलाई दिपलालले चिन्ने कमै छन् । दिपक आचार्य ‘जलन’ उनको लागि निकै फापेको छ । उनको सग्लो परिचय बनेको छ । सामाजिक संजालको गलफत्ती मै उनले भने ।

२०३९ माघ १२ गते बुवा स्व. चुडामणि आचार्य र
आमा गोमावती आचार्यको कोखबाट ठाकुरबाबा नगरपालिका बर्दियामा जन्मिएका जलनले प्रारम्भिक शिक्षा जन ज्योति उच्च मा बि र जगदम्बा उच्च मा बि बाट लिए भने महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट भने आइए को पढाइ गरेका थिए ।

हाल सम्म ४०० भन्दा बढी गजल लेखी सकेका गजलकार दिपक आचार्य ‘जलन’का दुई वटा गजल संग्रह समेत प्रकाशित छ । २०५४ बाट लेखनको सुरुवात गरे पनि २०५७ बाट मात्रै गजल लेख्न थालेको उनि बताउछन् ।

‘मैले लेखनको सुरुवात २०५४ साल बाट गरेपनी गजल लेखनको सुरुवात २०५७ बाट भएको हो । सुरुमा गजल भनेर निक्कै भावनाहरु लेखियछ, तेतिबेला गजलका बारेमा खासै जानकारी थिएन । गजल शीर्षक राखेर पत्रीका र रेडियो कार्यक्रमहरुमा खुबै भाबनाहरु पस्किने काम भयो । पछि पछि गजल का बारेमा बुझ्दै गैयो अनि लेखनमा सुधार हुँदै गयो ।’

२०६३ मा “आँसु भित्रको अबिरल यात्रा ” नामक पहिलो गजल संग्रह प्रकासित गरेका उनले करिब दस बर्षको अन्तरालमा दोस्रो गजल संग्रह ” अचानोमा दिल ” प्रकासित गरेका थिए । उनको दोस्रो गजल संग्रह बुलबुल प्रकाशनको पहिलो कृतिको रुपमा बजारमा आएको थियो । अचानोमा दिलमा ७२ वटा गजलहरु समाबेश गरियको छ । साथै पुस्तकमा “गजल लेख्ने तरिका ” नामक लेख पनि राखियको छ । जस्ले गर्दा गजल लेख्न चाहने नब सर्जक हरुको लागि पनि उत्तिकै प्रिय बनेको दिपक आचार्य जलन बताउछन् ।

एक समय रेडियोका स्रोता माझा दिपक आचार्य ‘जलन’ सधै सुनिने नाम थियो । रेडियो तथा एफएमका साहित्यिक कार्यक्रममा उनको गजल बाचन नभएको सायदै कुनै कार्यक्रम थिए होलान् । त्यही समय थियो उनको लेखनले निखारता प्राप्त गर्यो अनि त्यसै समय उनी दिपक आचार्य ‘जलन’ बने अनि गजलकार पनि ।

‘त्यतिबेला रेडियो खुब सुन्ने बानी थियो विभिन्न साहित्यिक कार्यक्रमहरु सुन्दा सुन्दै अलि अलि नजानी नजानी रहरै रहरमा लेख्न सुरु गरियो पछि अग्रजहरुको सामिप्यता मै लेखन मौलायको हो । आदरणीय दाजु खगेन्द्र गिरि “कोपिला” पुस्प अधिकारी “अन्जली” र संकर अशान्त दाजु बाट थप हौसला र उर्जा थपिय पछि लेखनिले निरन्तरता पायको हो ।- गजलकार दिपक आचार्य जलन आफ्ना साहित्यका सुरुवातिका दिनहरू सम्झिदै भन्छन् ।

बाँचुन्जेल जिन्दगी मृत्युको डरमा जान्छ
जाने बेला भने सटुक्कै पल भरमा जान्छ

जलनलाई आफुले लेखेको आफैलाई निकै मनपर्ने गजल को शेर हो । उनि सम्झिन्छन यो गजल सायद मैले सबै निदाए पछि नै लेखेको थिए । कारण उनी एकान्तमा लेख्न अनि भावनामा डुब्न मनपराउछन । त्यसैले उनको लेखनको समय राती हो भने उनि आफुले भोगेका र अनुभव गरेका कुराहरु गजलमा उतार्ने उनी बताउछन् ।

‘ मैले भोगेका र देखेका कुराहरुनै मेरा गजलमा लेखिन्छ्न प्राय । म सकभर समाज , देश , माटाे , प्रेम र आत्मियता को प्रसङ्ग उठाउन मन पराउछु आफ्ना गजलमा ।’

कसैले भनेका थिए शब्दमा खेल्नु , शब्दलाई खेलाउनु अनि एउटा सुन्दर कथा , गित , गजल सृजना गर्नु आफैमा एउटा साधना हो । साहित्य कर्म त्यो मुहान हो जसले आत्मसन्तुष्टि दिन्छ , मनको कुरा बोल्छ अनि समाज र कुनै कालखण्डको इतिहास बनिदिन्छ ।

यहि साहित्यिक कर्ममा कयौं बर्ष देखि रमाइ रहेका दिपक आचार्य जलन विशेषत गजल बिधामा मै रमाउन चाहन्छन् । कहिलेकाही केही फुटकर कबिता र कथा समेत लेख्ने जलनलाई एउटा उपन्यास लेख्ने समेत धोको छ । तेस्रो गजल संग्रहको तयारी गरिरहेका उनको नयाँ गजल संग्रह केहि महिना मै बजारमा आउने बताउछन् । तेस्रो कृति पनि गजल मै आउने र चौथो कृतिको रुपमा आख्यानको रुपमा उपन्यास निकाल्ने जमर्को रहेको उनी बताउछन् ।

‘प्राय म गजल नै लेख्छु । केही बर्ष यता कथा पनि लेख्दै आयको छु । र मेरो चौथो कृती उपन्यासको रुपमा आउनेछ । उपन्यास लेखन चल्दैछ हेरौ कहिले सम्म पूरा हुन्छ ।’

राम्रो अध्यन बिना साहित्यमा गरिएको प्रवेश ठिक नहुने जिकिर गर्ने जलन नयाँ पुस्तालाई आफ्नो पढाई , लक्ष्य र भबिस्य माथी कुनै असर नपारिकन साहित्य रचना गर्न , सकभर धेरै अध्यनमा ध्यान दिन र लहै लहैमा सस्ता र दुई रुपैयाका रचना सकभर नगर्न सुझाव दिन्छन् ।

युवा चेतना तथा सामुदायिक बिकास मञ्च द्वारा कदर पत्र सहित अबिनन्दन (२०६५), मध्यपश्चिमाञ्चल गजल प्रतिस्ठान गुटु साखा द्वारा सम्मान पत्र , जिल्ला स्तरिय कबिता प्रतियोगिता मा प्रथम , मध्यपश्चिमाञ्चल गजल प्रतिस्ठान राजापुर शाखा द्वारा कदर पत्र सहित सम्मान ,
खुल्ला कबिता प्रतियोगितामा प्रथम (कुवेत ) २०७२ , मध्यपश्चिमाञ्चल गजल प्रतिस्ठान सानो श्री द्वारा सम्मान पत्र , उत्कृष्ट साहित्यकार तर्फ परदेशी खबर युएइ एक्सचेञ्ज अवार्ड २०१६ , साया समूह काठमाडौं द्वारा कदर पत्र २०१६, आकुरा नेपाल द्वारा प्रसंशा पत्र जस्ता पुरस्कार तथा कदरपत्र बाट सम्मानित दिपक आचार्य जलन हाल रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।

परदेशमा पनि साहित्यको राम्रो माहोल बनेकोमा निकै खुसी व्यक्त गर्ने जलन अहिलेको समयमा मुलुक भित्र भन्दा पनि मुलुक बाहिर नेपाली साहित्यको माहोला राम्रो भएको जिकिर समेत गर्नुहुन्छ ।

‘मुलुक भित्र भन्दा मुलुक बाहिर आजभोली नेपाली साहित्य को माहोल निकै तातियको देखिन्छ । परदेशमा नेपाली साहित्यको अबस्था निकै लोभलाग्दो छ ।’

प्रतिक्रिया

प्रतिक्रिया