क्यान्सरले थलिएका वरिष्ठ पत्रकार रेशम विरहीको उपचारका लागि आर्थिक सहयोग जुट्ना थालेको छ । दैनिक नेपालगन्ज र अनलाइन न्यूज पोर्टल www.nepalgunjnews.com ले वरिष्ठ श्रष्टा विरहीको स्वस्थ अवस्थालाई लिएर शनिवार प्रकाशित गरेको समाचार सामाग्रीलाई लिएर कयौं ठाउँबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको हो । ‘एकै दिनमा १ लाखबढीको प्रतिबद्धता प्राप्त भएको छ,’ विरहीको उपचारका लागि अभियान चलाइरहेका वरिष्ठ लेखक नरेन्द्रजंग पिटरले दैनिक नेपालगन्जसँग भने, ‘धेरै मनकारीहरुले समाचार मार्फत सुचना पाएपछि सम्पर्कमा आउनु भएको छ ।’
पत्रकार विरहीको उपचारमा अभियान सुरु गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठकनै राखिएको छ । शनिवारनै शाखा अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ बाँके शाखामा रहेर लामो समय सम्म पत्रकारिता क्षेत्रमा ठुलो योगदान पु¥याउनुभएका बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम बिरही पेटको क्यान्सरका कारण अस्पतालमा उपचारत रहनुभएकोले उहाँको सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको छ ।’
बैठकले बिरहीको उपचारका लागी ठुलो धनराशी आवश्यक पर्ने भएकोेले सहयोग गर्नका लागी महासंघ मार्फत खुल्ला रुपमा आर्थिक सहयोगका लागी आब्हान गर्ने निर्णय गरेको अध्यक्ष थारुले जानकारी दिए । ‘एकै दिन ५१ हजार जतिको प्रतिबद्धता आएको छ,’ अध्यक्ष थारुले दैनिक नेपालगन्जसँग भने, ‘बैठकले बिरहीको उपचारमा सहयोग पु¥याउनका लागी शाखाका तर्फबाट १५ हजार रुपैया र शाखाका कार्यसमिति सदस्यहरुबाट १÷१ हजारका दरले २० हजार गरि ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।’ शाखाको निर्णय संगै बिरहीको उपचार सहयोगका लागी पत्रकार उदय श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको सचिव तिलक गाउँलेले जनाएका छन् ।
दैनिक नेपालगन्जका ग्राहक सदस्य भारत रुपैडिहास्थित सुभाष जैनले ५ हजार ५५५ रुपिया आर्थिक सहयोग पत्रकार महासंघ बाँकेलाई प्रदान गरेका छन् । ‘पत्रकारको उपचारमा हात बटाएको भन्दै रकम पठाएका छन्,’ अध्यक्ष थारुले भने । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले ५ हजार १ सय रुपिया सहयोगको प्रतिबद्धता जनाएका छन् । ‘सधैं जनताका पक्षमा क्रियाशील पत्रकारको सहयोगमा हाम्रो पुरा समर्थन रहनेछ,’ राजधानी काठमाडौं श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘त्यहाँ आउनासाथ रकम हस्तान्तरण गर्नेछु ।’
अभियानमा क्रियाशील युवा श्रष्टा भोजराज शर्माले धेरै ठाउँबाट सहयोगको प्रतिबद्धता आइरहेकाले पत्रकार महासंघसँग समन्वय गरेर खाता सञ्चालन गरिने योजना रहेको बताए । क्यान्सरले थलिएर चितवनस्थित क्यान्सर अस्पतालमा उपचारार्थ भर्ना रहेका विरहीलाई पत्रकार महासंघ चितवन शाखाले विशेष सहयोगको योजना बनाएको अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिएका छन् ।