प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार वरिष्ठ श्रष्टा महेशविक्रम शाहलाई अर्पण, नारी श्रष्टालाई सम्मान
नेपालगन्ज : यसबर्षको प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार वरिष्ठ श्रष्ठा महेशविक्रम शाहलाई प्रदान गरिएको छ । गायक, कवि, साहित्यकार स्वर्गीय प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ८४ औ जन्म जयन्ती पारेर शनिवार वरिष्ठ श्रष्टा शाहलाई उक्त पुरस्कार अर्पण गरिएको हो ।
भेरी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा २०६३ सालको मदन पुरस्कार विजेता कृति छापामारको छोरोका लेखक शाहलाई कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले कदर पत्र, दोसल्ला सहित नगद पुरस्कार राशी अर्पण गरे । रेग्मीले स्व. मल्लसँगै पुरस्कृति व्यक्तित्व शाहको चर्चा गरे ।
समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा स्वर्गीय प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ८४ औ जन्म जयन्तीको अवसर पारेर बहुभाषिक कवि गोष्ठी तथा प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार अर्पण कार्यक्रम राखिएको हो । कार्यक्रममै नारी श्रष्टा किरण आचार्य, सन्तोषी विष्ट र कल्पना खरेललाई भेरी साहित्य सम्मान– २०७६ प्रदान गरिएको थियो ।
यसअघि वरिष्ठ समालोचक डा. जीवेन्द्रदेव गिरि, वरिष्ठ उर्दु सायर अब्दुल लतिफ शौक, प्रा.डा. गोपाल प्रसाद अधिकारी र वरिष्ठ पत्रकार पूर्णलाल चुकेलाई प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार अर्पण गरिसकिएको छ । समाजले स्व. मधुकरकी छोरी वाणी श्री मल्लको सहयोगमा पुरस्कार कोष समेत स्थापना गरेको हो ।
वरिष्ठ श्रष्टा शाहले प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कारले आफुलाई गौरवान्वित बनाएको बताए । २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका महेशविक्रम शाह एम.पि.ए., बि.एल, बि.एस्सी. सम्मको शिक्षा हासिल गरी २०४६ साल देखि प्रहरी सेवामा संलग्न छन् । प्रहरी सेवामा शाह हाल डिआइजी हुन् ।
झण्डै चार दशकको कथा यात्रामा वरिष्ठ स्रष्टा शाहका सटाहा (२०५३), सिपाहीकी स्वास्नी (२०५९), अफ्रिकन अमिगो (२०६०), छापामारको छोरो (२०६३), काठमाडौँमा कामरेड (२०६५) तथा ज्याक्सन हाइट (२०६९) नामक कथा सङ्ग्रह प्रकाशित छन् । ‘अब शाहले साहित्यको कप्तानी लिनुपर्छ,’ उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै समालोचक इन्द्र भण्डारीले कार्यक्रममा भने ।
स्व. प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृतिमा आयोजित कार्यक्रममा साहित्यकार खगेन्द्र गिरि कोपिलाले स्व. मल्लको कृतित्वको चर्चा गर्दै उनका ८ वटा प्रकाशित कृतिबारे सविस्तार लगाए । ‘प्रेम प्रकाश मल्ल राष्ट्रवादी भावनाबाट प्रेरित व्यक्तित्व थिए,’ कोपिलाले भने, ‘उनका रचनामा क्रान्तिकारिता झल्कँन्छ ।’ स्व. मल्लका रचना सहित प्रस्तुत भएका कोपिलाले मल्लका विविध पक्षबारे चर्चा गरे । गायक प्रभात सुवेदीले स्व. मल्लका गीत प्रस्तुत गरि कार्यक्रमलाई संगीतमय बनाए ।
युवा साहित्यकार लेख प्रसाद प्याकुरेलले सहजीकरण गरेको कार्यक्रममा अब्दुल लतिफ शौक, चरित्रा शाह, कोपिला अधिकारी, निशु जोशी, ज्ञानेन्द्र बहादुर सिंह, शिशिर सापकोटा र महेन्द्र रोकाका रचना प्रस्तुत भएका थिए । प्रभात सुवेदी, नसिम कादरी र लक्ष्मी बस्यालको गायन प्रस्तुति रहेको कार्यक्रममा लोकगायक कमल बिके निर्माेहीले स्व. मल्लका गायन पक्षबारे चर्चा गरेका थिए ।
बाँकेमा वाङमय प्रतिष्ठान
वाङमय प्रतिष्ठान प्रदेश न.५ ले बाँकेमा आफ्नो शाखा विस्तार गरेको छ । लेखक भरत बहादुर रानाभाटको अध्यक्षतामा गठित समितिमा मीना बराल उपाध्यक्ष, पुष्पमणि प्रधान सचिव, टिकाराम थापा कोषाध्यक्ष र महेन्द्र रोक्का सह सचिव छन् ।
कार्यसमिति सदस्यमा सन्तोषी बिष्ट , दिला शाह, नासिम कादरी, करिस्मा योगी चयन भएको अध्यक्ष रानाभाटले जानकारी दिए । शनिवार पदभारमा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई बरिष्ठ कथाकार सनत रेग्मी र प्राज्ञ सभा सदस्य समेत रहेका भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना शुभकामना दिएका थिए ।