हिजोको दिनमा शिक्षामा पाखण्ड र आडम्बर थिएन । शिक्षास्थल दूधवालाको मैलो भाँडोजस्तो सादा भए पनि, भित्र शुद्ध दूध हुन्थ्यो । आज स्कूलको भाँडो रक्सीको बोतल जस्तै छ, विभिन्न रङको कलेबरमा सजिएको । सिसाको शोकेसमा रङ्गीविरङ्गी बल्बसँगै चम्किरहेको । हामीले यो आँखा नै तिर्मिराउने उज्यालोमा आफ्नो सन्तानको लागि उसको स्वभाव अनुकुलको एक सामान्य स्कूल खोज्नु छ जहाँ उभित्रको असल मान्छे बिना चाप सामान्य र सरल मान्छेको रूपमा हुर्किन पाओस्
भोजराज शर्मा ‘नादिर’
पुन्टेका लागि राम्रो स्कूल वा मन्टेसरी चहार्दै हिँड्न थालेका हामी लोग्नेस्वास्नीलाई ५ औं दिन बल्ल आफ्नो खोज पूरा भएजस्तो लाग्यो । उनलाई नेपाली बोल्दा जरिवाना लाग्ने, इंग्लिस इन्भायरमेन्ट भएको, सकेसम्म अमेरिकी, युरोपियन नत्र भारतीय फ्रेन्चाइजीको इन्टरनेसनल मन्टेसरी चाहिने । त्यसमा पनि नाम र स्लोगन पनि मिलेको हुनुपर्ने । भारतीय फ्रेन्चाइजीका दुईचार स्कूल चहारियो । ‘बडा भीमका छोटा स्कूल’, ‘मोटुपत्लुका फेवरेट स्कूल’ ‘छोटे बापु गान्धीका अपना स्कूल’ हे¥यौं । मेरी उनीले मन पराइनन् । युरोप, अमेरिकाको नाममा चलेका प्रसिद्ध ‘सिन्डरेला ह्वाइट इन्टरनेसनल स्कूल’ देखि लिएर साउथ अफ्रिकी फ्रेन्चाइजीका ‘झिङ्गालाला हुहु ब्ल्याक इन्टरनेसनल स्कूल’सम्म हेर्यौं । अन्त्यमा यौटा छिमेकी फ्रेन्चाइजीकै स्कूल मन प¥यो, ईआईबीजी इन्टरनेसनल स्कूल । पूरा नाम एङ्ग्लो इन्डियन बुद्ध गुरुकुल इन्टरनेसनल स्कूल ः हर कार्टुनका फेवरेट एसी स्कूल । फिस पनि सबैभन्दा बढी । नेपाली भाषामा ‘चूँ’ बोल्न नपाइने, पूर्ण वातानुकूलित, क्रिसमस र कृष्णाष्टमी दुवै मनाउने, अलि उदार, समावेशी र वृहत्तर सोंचको स्कूल लागेछ क्यार त्यसैमा राख्ने भन्नेमा उनी निश्चित भइन् । हामी फाराम लिई, बच्चाको इन्ट्रान्स र आफ्नो अन्तरवार्ताको दिन तय गरेर निस्क्यौं ।
गेटमा एउटा दृष्य देखियो । शायद दोस्रो तेस्रो दिन यौटी मम्मी गाडीमा आफ्नो छोरोलाई छोड्न आएकी रहिछन् । स्कूल गेटनेर छोरो ह्वाँह्वाँ रोइरहेको, उसलाई अँगाल्दै मम्मीचाहिं पिलपिल रोइरहेकी । स्कूलले आआ भनिरहेको र घरले जाजा भनिरहेको ३ साढे तीन वर्षे भर्भराउँदो उमेर । मोबाइलको नेटवर्क नै नलाग्ने गाउँमा एक्ली छोरी अन्माउँदा जति कष्ट हुन्छ बिचरा आमाछोराको त्यस्तै बेहाल थियो । बालक ध्रुव तपस्या गर्न निस्कँदा आमा सुनितिको जुन हालत थियो त्यही दृश्य अनुमान गर्न सकिन्थ्यो । फरक के थियो भने बालक ध्रुव ज्ञानको खोजीमा निस्कने बेला ध्रुवले आमालाई सम्झाउनुपर्ने स्थिति थियो, यहाँ चाहिं मम्मीले सम्झाउनुपर्ने । आँखा टिलपिल पार्दै उनी सम्झाउँदै थिइन्, ‘बेटु, मामा लभ्स यु । गुड ब्वाय भएर स्कूल जानुपर्छ । आफ्नो आईको आँसु पुछ । मामालाई बाई गर । मामा छिट्टै लिन आउनुहुन्छ हस् बेटु ? मेरो बच्चा । ब्यागमा मामाले यौटा एप्पल, यौटा एग, टु ओटा चकलेट हालिदिएको छु हस् ? आइजको टियर्स स्टप गरेर स्माइल गर बेटु । अनि मामालाई किसी गरेर हग गरेर बाई भन मेरो बच्चा ।’ मामा कतै छन् कि भनेर यताउति हेरेको मम्मीलाई मामा भनेको रहेछ ।
छोरो अलिअलि मान्लाजस्तो गथ्र्यो अनि सुँक्कसँक्क गर्दै भन्दै थियो, ‘अनि घरमा मोटुपत्लु राखिदिनुहोला है, आएपछि मोबाइल खेल्न दिनुहोला…..अनि हम्टीडम्टी पनि…। मम्मीको सकारात्मक आश्वासनपछि पिलपिलाउँदै फर्कीफर्की हात हल्लाउँदै छोरोचाहिँ एउटी मीससँग भित्र पस्यो । मम्मीले सुकसुकाउँदै हेड मिस्ट्रसलाई भनिन्,‘मेरो बेबी अलि स्पेसल र मोस्ट ट्यालेन्टेड छ है म्याम । उसलाई खाना घुमाईघुमाई ख्वाउन लगाइदिनुहोला । सुत्नुअघि टुफिप्टी ग्राम मिल्क बोतलबाट चुसाइदिनुहोला । एसी २६ डिग्री है ।’ मन्टेसरीकी प्रमुखले न्युट्रिसन प्लानदेखि खानेकुराको ज्ञान, खानेसुत्ने तालिकादेखि, सँगै खेल्ने बालिका, एसीको डिग्री, सुसुको फिक्री सबैबारे निश्चिन्त गराएपछि मम्मी हतारहतार कारभित्र छिरिन् । सायद अफिस पुग्ने हतारो थियो होला ।
यो हृदयविदारक दृष्यले हाम्रो पुन्टेका लागि मन्टेसरीहरुको अवलोकन गर्दै हिँडेकी मेरी श्रीमतीजीलाई बडो भावुक बनायो । आमाको चित्त माखाको पित्त भन्छन् धन्नै पिलपिलाउन लागेकी । सुकसुकाउँदै भन्न थालिन्, ‘आफ्नो मुटुको टुक्रालाई मैले कसरी सुम्पिने होला यो स्कूलमा ? मेरो बेबी त झन यो आइमाईको छोरो भन्दा कत्ति ट्यालेन्टेड र स्पेशल छ ।’ मैले भनें,‘डार्लिङ, तिमी छ्यौ त उसको लागि झन् स्पेशल । त्यो गाडीवाली भन्दा त तिमी कहाँ हो कहाँ जिम्मेवार छौ ।’ आफ्नो तारिफ पाएपछि उनको नाक चुलिएको र मप्रति मान फुलिएको प्रष्ट देखें ।
राती सुत्नुअघि पनि उनको फिक्री सुतेको थिएन । त्यस मन्टेसरीमा आफ्नो छोरोले गाडीवालको छोरोलाई पछार्ला कि नाइँ ? ३ महिनामै अंग्रेजी पढ्ला, बोल्ला कि नाइँ ? युट्युबका सबै इङ्लिस ¥याम्स भन्ला कि नाइँ ? सुसु र आका टाइममा गराउलान् कि नाइँ ? स्कूलले सुताउन निद्राको औषधी ख्वाउला कि ? होमवर्क सफिसियन्ट नदिने हुन् कि ? ह्यान्डराइटिङ कस्तो सिकाउने हुन् ? ५ वर्षभित्र सबैजसो मस्तिष्क विकास भइसक्ने हुनाले यही उमेरमा सिकेको धारणाले सम्पूर्ण जीवन निर्धारण गर्छ भन्ने कुरा मनमा गढेको छ मेरी श्रीमतीजीको । उनलाई आफ्ना जोरीपारीका छोराछोरी विदेशमा भएजस्तै आफ्नो छोरोको युएस र डेनमार्क पुग्ने बेस यस स्कूलले बनाइदेला कि नदेला भन्ने खुब पिरलो थियो । उनको गहिरो पीडामा मलम लागोस् भन्न वा कुरा अन्तै मोड्न मैले उनको विचार बदल्न भनें,‘आज पालैपालो आफ्नो बाल्यकालको स्क्ूलजीवन सुनाउने है त । पहिला म सुरु गर्छु ।
‘उहिले उहिले पाँच वर्ष भएपछि स्कूल हाल्ने चलन थियो । हामी त्यतिखेर बुवाको नोकरीको जताजता सरुवा भयो त्यतै टोकरी बोक्दै पुच्छर लाग्थ्यौं । यसै क्रममा त्यस उमेरमा जुम्लाको खलङ्गामा थिएँ । तर मैले ६ वर्षको भइसके पनि स्कूल जान मानिनँ । अर्काका बारीका काँक्रा चोर्ने, भँगेरालाई थाप्ने पासो बनाउने, जुगाड खोलामा माछा समात्न जाने र दिनभरि गुच्चा खेल्नेमा कहलिएका टोलका आवारासँग लागेर बर्बाद भयो भन्ने निष्कर्ष निकालेर मेरा र टोले सँगाती गोरेका बाआमाबीच के सल्लाह भएछ कुन्नि ? एकाबिहानै दुवैलाई एकै ठाउँ राखेर खुब सम्झाए । सरस्वतीको प्रतिमा देखाउँदै ज्ञानको महिमा गाए । माछा मार्न नगए दिनहुँ माछाको तरकारी ख्वाउनेदेखि आफ्नै थाँक्रामा काँक्रा फलाउनेसम्मको योजना सुनाउँदै फुल्याए । हामीले भने स्कूल नहालिदिन बाआमासँग गिड्गिडायौं, कहिल्यै टाउको दुखेको बहाना बनायौं त कहिले बिहानै घरबाट भागी मध्यान्नमा खाना खान आउने योजना बनायौं । बाआमाले पक्का मनसुवा बनाइसकेका हुँदा भर्ना नगराई के छोड्थे ?
एक दिन हाम्रो भर्ना गर्ने दिन बडो कुर्लंदै आयो । गोरेका बा हातमा यामानको लौरो समातेका, गोरेको गर्दनमा सटको कलर च्याप्प समाती घिसार्दै हाम्रो आँगनमा पुगे । गोरेका दुई दाई एउटाको हातमा डोरी, अर्को भाग्यो भने समात्छु भनी पाखुरा सुर्केर स्ट्यान्ड बाई तयार । यसो पछाडि हेर्छु त हाम्री आमाको हातमा पनि लौरो । बुवाले मेरो पनि गर्दन समाइहाल्नुभो । त्यस दिनको भयानक तयारीका अगाडि हाम्रो कुनै बुता चलेन । सरेन्डर गर्नुबाहेक अरु कुनै उपाय थिएन । दुवैलाई घिच्याउँदै नजिकैको नमुना प्राथमिक स्कूलमा लगी मास्टरको जिम्मा लगाइयो । हेडमास्टरले बेतको लौरी उज्याउँदै थर्कमान पारेर भने, ‘आजदेखि तिमी दुईजनाको जिम्मा हाम्रो । सधैं स्कूल आएनौ या स्कूलबाट भाग्यौ भने तिमीहरूको पिँडौलाका मासु झारुँला बुझ्यौ ?’ अनि हाम्रा बाहरूतिर हेर्दै बडो रवाफले भने,‘यी फटाहाहरूले घरमा पढेनन्, डुले, आवाराका सङ्गत गरे भने मलाई भन्नुहोला ।’ प¥यो फसाद । लाग्यो अब उम्किने कुनै उपाय छैन । गोरे र म त्यसदिन जुगाडखोला किनारमा भक्कानिएर रोयौं । हाम्रो कुनै दैया चलेन । हरेक दिन बिहान ९ बजे गोरेका दुई दाइ गोरेलाई घिसार्दै हाम्रो आँगन ल्याई पु¥याउँथे । मेरा बुवाआमा पनि गोरेका दुबै पुष्ट दाइहरूको समर्थनमा लौरोसहित आँगनमा तयारी अवस्थामा हुन्थे । निरीह हामी दुईलाई अन्ततः खाना, नाना र छानोको भर अनि लौराको डरले स्कूल जान कर लाग्यो । हार स्वीकार गरेर दिनहुँ पढ्न थाल्यौं । बिस्तारै स्कूलको बानी लाग्यो । ४ कक्षाबाट अंग्रेजीको एबीसीडी पढ्न थालेपछि अंग्रजी सरले हानेका लठ्ठीले देखाएका ताराहरू अहिले पनि कहिलेकाहीं धपक्क बल्छन् ।’
अनि उनलाई चिन्ता नलिन सम्झाएँ । आफू यस्तो स्कूलमा पढेर पनि आज राम्रै हैसियत बनाएको बुझाएँ । पुन्टुलाई लिएर अहिले नै यतिसारो चिन्तित नहुन सुझाएँ ।
श्रीमतीजीले एक छिन् गम खाइन् । एकछिनपछि गम्भीर भएर बिस्तारै भनिन्,‘पुन्टेको बुवा ! म बाबुको पढाइलाई लिएर धेरै सिरियस भएँछु । टोलका साथीहरू आफ्ना केटाकेटीको स्कूलको कुरा सुनाउँछन् । कोही देहरादून, कोही नैनिताल, कोही लखनउ र दिल्लीका कन्भेन्ट स्कूलका महँगा महँगा फिसको चर्चा गर्दै धाक लगाउँछन् । आफू भने उनीहरूको अगाडि के भनूँ के भनूँ लाग्छ ।’
मैले प्रेमभावमा उनलाई सम्झाएँ, ‘हरेक बाआमा आफ्ना सन्तानका लागि भलो सोंच्छन् । तर के ग¥यो भने भलो हुन्छ भन्ने ज्ञान नहुन सक्छ । मेरा बाआमाले जे जान्नुभयो त्यति नै गर्नुभयो । आजका अभिभावक झनै जान्ने छन् र झन् राम्रो गर्न खोज्दैछन् । दुवैको चाहनामा कुनै खोट छैन । तर हिजोको दिनमा शिक्षामा पाखण्ड र आडम्बर थिएन । शिक्षास्थल दूधवालाको मैलो भाँडोजस्तो सादा भए पनि, भित्र शुद्ध दूध हुन्थ्यो । आज स्कूलको भाँडो रक्सीको बोतलजस्तै छ, विभिन्न रङको कलेबरमा सजिएको । सिसाको शोकेसमा रङ्गीविरङ्गी बल्बसँगै चम्किरहेको । हामीले यो आँखा नै तिर्मिराउने उज्यालोमा आफ्नो सन्तानको लागि उसको स्वभाव अनुकुलको एक सामान्य स्कूल खोज्नु छ जहाँ उभित्रको असल मान्छे बिना चाप सामान्य र सरल मान्छेको रूपमा हुर्किन पाओस् ।’