‘कारागारलाई किताब’ लिएर कर्णालीतिर श्रष्टा

‘तपाई बन्दी जीवन बिताउनु परेको भए के गर्नु हुन्थ्यो ? कर्णाली प्रदेशका सबै कारागारका कैदीबन्दीहरु चर्चित श्रष्ष्टाहरुसँग सम्भवतः भोलि शनिवार यस्तै प्रश्न गर्लान् । ‘आम्मै कस्तो जवाफ दिने ?’ कर्णाली प्रदेशको सुन्दर जिल्ला जुम्लास्थित कारागार जान हिंडेकी चर्चित श्रष्टा शिवानी सिंह थारुले विहीवार दैनिक नेपालगन्जसँग भनिन्, ‘यस्तो प्रश्न आयो भने जो कोहीलाई पनि एक छिन आङ जिरिंग पार्छ ।’

 
कर्णाली प्रदेशका कारागारहरुमा साक्षात्कार गर्न चर्चित लेखक, साहित्यकारहरु पुग्ने भएका हुन् । कर्णालीका सबै कारागारमा पुस्तकालय अभियान अन्तर्गत कर्णाली प्रदेशका सबै कारागारमा स्थापना गरिएका पुस्तकालय शुभाम्भ गर्न श्रष्टाहरु त्यसतर्फ जान लागेका हुन् । पहिलो पटक कारागार प्रवेश गर्न लागेकी श्रष्टा सिंहले अनौठौ अनुभूति गरिरहेको प्रतिक्रिया दिइन् ।

 
आफंैपनि मदन पुरस्कार विजेता कृतिका लेखक समेत रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख, डिआइजी महेशविक्रम शाहले कर्णालीका सबै कारागारमा विभिन्न निकाय तथा नागरिकको सहयोगबाट पुस्तकालय स्थापना पहल गरेका हुन् । ‘कैदीबन्दीलाई सिर्जनशील तथा अध्ययनका माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ भन्ने बुझाइका साथ यो अभियान चलाइएको हो,’ शाहले भने ।

 
छापामारको छोरो, सिपाहीका स्वास्नी, भुईंखाट, ज्याक्सन हाइटजस्ता चर्चित पुस्तकका लेखक वरिष्ठ साहित्यकार शाह कर्णाली प्रदेशमा प्रहरी नेतृत्व लिएलगत्तै उक्त अभियानमा अभियानमा जुटेका थिए । ‘२१ लाख रुपिया बराबरका पुस्तक जुटिसकेका छन्,’ विहीवार श्रष्टा स्वागत गर्न नेपालगन्ज विमानस्थलमा भेटिएका डिआइजी शाहले दैनिक नेपालगन्ज सँग भने, ‘कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको अभियानमा सबैतिरबाट सहयोग मिलेको छ ।’ ‘कारागार अपराधीलाई थुन्ने ठाउँमात्रै नभई चरित्र सुधार गर्ने ठाउँ पनि हो भन्ने कुरा सिद्ध गर्न खोजिएको छ,’ शाहले भने । उनी कर्णालीका कथाका लागि पनि प्रत्येक जिल्लाका गाउँवस्ती पुगिसेकेको बताउँछन् ।

 
कारागार शुभारम्भसँगै किन पढ्ने र पढ्दा हुने फाइदाबारे साक्षात्कार गर्न सुर्खेतमा वरिष्ठ कथाकार सनत रेग्मी पुग्दैछन् । ‘गज्जबको काम भएको छ,’ वरिष्ठ साहित्यकार रेग्मीले अभियान बारे दैनिक नेपालगन्जसँग भने । रेग्मीसँगै चर्चित आख्यानकार नयनराज पाण्डे र कवि नवराज पराजुली सुर्खेत पुगेका छन् । दैलेखमा शेखर खरेल र उमा नगरकोटी, सल्यानमा रामलाल जोशी, रुकुम पश्चिममा कुमारी लामा, जाजरकोटमा अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, डोल्पामा अमर न्यौपाने लगायतका १४ जना लेखक तथा साहित्यकार कर्णालीका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको डिआइजी शाहले जानकारी दिए ।

 
पुस्तकालय स्थापना गर्नका लागि डिआइजी शाहको संयोजकत्वमा गठित समिति र जिल्लामा गठित उपसमितिहरु मिलेर जम्मा ८ हजार ३ सय ८८ वटा पुस्तकहरु संकलन गरिएको बताइएको छ । संकलित पुस्तकहरु कैदीहरुको संख्याका आधारमा प्रत्येक जिल्ला कारागारहरुमा पठाएर पुस्तकालय स्थापना गरिएको हो । कैदीबन्दीलाई नयाँ ज्ञान र सकारात्मक सोचको विकास गर्न जीवन उपयोगी पुस्तकहरु उपलब्ध गराइएको डिआइजी शाहले जानकारी दिए । अध्ययनबाट सकारात्मक सोच विकास हुँदा समाजमा शान्तिसुरक्षा प्रभावकारी हुने विश्वासमा डिआइजी शाह छन् ।
कारागारभित्रै पुस्तकालयको संरक्षणका लागि ‘बुक क्लब’ गठन गरिने र प्रत्येक शनिबार कैदीबन्दीसँग विभिन्न पुस्तकमाथि समीक्षा गरिने योजना डिआइजी शाहले सुनाए । ‘पछिल्लो साता अध्ययन गरेको पुस्तकको समीक्षा र अध्ययन लगनशीलताको आधारमा महिनाभरी सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने कैदीबन्दीलाई पुरस्कृतसमेत गरिने व्यवस्था मिलाइएको छ,’ शाहले अभियान सफल भइरहेकोमा उत्साहित हुँदै भने ।

 
डिआइजी शाहका अनुसार, पहिलो चरणमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम, कालिकोट, जुम्ला र डोल्पामा पुस्तकालय स्थापना गरिदैछ । ‘हुम्ला र मुगुमा पनि चाँडै पुस्तकालय स्थापना गरिनेछ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआइजी शाहले भने । उनका अनुसार, हुम्लामा कारागार निर्माणको अन्तिम प्रक्रियामा रहेको र मुगुमा पनि निकट भविष्यमै कारागार निर्माण हुने भएकाले पुस्तकालय स्थापनाको काम अर्को चरणमा मात्र गरिने भएको हो । ‘कम्तिमा अब बन्ने नयाँ कारागारहरुमा पुस्तकालयको सुनिश्चितता गरिनुपर्छ,’ डिआइजी शाहले भने ।
डिआइजी शाहले विहीवारनै जिल्ला जिल्ला पुग्दै गरेका श्रष्टाहरुसँग नेपालगन्जमा संक्षिप्त अन्तक्रियात्मक छलफल गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया