नेपालगन्जको पहिचान र भविष्यलाई लिएर शनिबार चिन्ता गरिएको छ । तराई–मधेस आन्दोलनले उठान गरेको सवाल र त्यसको सेरोफेरोमा नेपालगन्जलाई केन्द्र बनाएर पत्रकार सरोजराज अधिकारीले लेखेको आख्यान कृति ‘धम्बोझी’ माथिको चर्चामा नेपालगन्जबारे चिन्ता गरिएको हो ।
सम्यक मिडिया हब प्रा.लि.ले धम्बोझीमाथि आयोजना गरेको छलफलमा सहभागी स्रोत व्यक्तिदेखि विभिन्न क्षेत्र समुदायका प्रतिनिधिहरुले नेपालगन्जको भविष्यलाई लिएर चिन्ता गरे । खासगरी राज्य पुनर्संरचनापछि नेपालगन्जको भविष्य पछाडि धकेलिंदै गरेका उनीहरुले त्यसको निकासका लागि ठोस पहलको आवश्यकता महसुस गरे ।
‘राजनीतिले सिर्जना गरेको मन विभेद हटाएर नेपालगन्जबासी अगाडि बढ्नु पर्छ’, कार्यक्रममा स्रोत व्यक्तिका रुपमा सहभागी राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले भनिन् । उनले समुदायहरु बीच मतभेद रहने कुरा सामान्य भएपनि ‘मनभेद’ रहिरहन नहुने धारणा राखिन् ।
तराई–मधेस आन्दोलनपछि फरक समुदायहरु बीच उत्पन्न मनभेद तर्फ अन्सारीको संकेत थियो । विभिन्न धर्म, सम्प्रदाय बीच आपसी एकता र भावनात्मक सहकार्यको वातावरण सिर्जना गरिनुपर्ने उनको तर्क थियो । अधिकारीको कृति ‘धम्बोझी’ले तराई–मधेस आन्दोलनका भावनालाई जनस्तरबाट राम्रोसँग समेट्न सकेको टिप्पणी आयुक्त अन्सारीले गरिन् ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापामगरले कृतिबारे धारणा राख्दै धम्बोझीले नेपालगन्जको विविधतापूर्ण पहिचानलाई उजागर गर्न सफल भएको बताइन् । ‘कृतिले समुदायबारे न्याय गर्न प्रयास गरेको छ’, थापाले भनिन् । उनले नेपालगन्जको विकास र स्थायित्वका लागि उपमहानगरपालिकाले नीतिगत र कार्यगत रुपमा योजना बनाएर अगाडि बढेको जानकारी दिइन् ।
लेखक अधिकारीले नेपालगन्ज सांस्कृतिक विविधता र विशेषताको केन्द्रका रुपमा रहेको धारणा राख्दै लेखकीय रुपमा धम्बोझी जस्ता कृति ३ वटा जन्मन सक्ने औंल्याए । ‘सिंगो मधेस राजनीतिमा नेपालगन्जको धम्बोझीलाई विम्वका रुपमा राखेर पुस्तक तयार गरिएको’ अधिकारीको भनाइ छ । ‘कृतिमार्फत यहाँका समस्या पस्किएको छु’, पत्रकार अधिकारीले भने, ‘त्यसको सम्बोधन र समाधानका लागि जिम्मेवारी लिएकाहरुले पहल अघि सार्नुपर्छ ।’
युवा स्रष्टा ऋचा लुइँटेलले सहजीकरण गरेको कार्यक्रममा पत्रकार विजय बर्माले नेपालगन्ज सांस्कृतिक, पारम्परिक विविधताले सम्पन्न रहेको बताए । ‘शासकले रैथानेमाथि गरेको शोषणका कारण अपेक्षित रुपमा यो ठाउँ अगाडि बढ्न सकेन’, पत्रकार बर्माले भने, ‘धम्बोझी मार्फत लेखकले कृतिका पात्रहरुका भूमिकालाई प्रष्ट पार्न जरुरी छ ।’ उनले धम्बोझीले उठान गरेर विषयवस्तुको खुलेर प्रशंसा पनि गरे ।
कार्यक्रममा सहभागी पत्रकार, लेखक, साहित्यकार, प्राध्यापक लगायतका विभिन्न व्यक्तित्वहरुले तराई मधेस आन्दोलनको सवालको अवस्था, सम्बोधनका लागि भैरहेको पहलबारे विभिन्न टिप्पणी र धारणा राखेका थिए ।