नभेटेको भए तिम्लाई बगर हुन्थे होला !

ऋचा लुइँटेल


सम्झिने मनले नसम्झिदिए खै तिम्रो के लाग्छ
बिर्सिने मनले बिर्सियो भने झन कस्को के लाग्छ
सोचेका कुरा पाइन्नन सबै जीवन हो घामपानी
धर्तीमा जून झर्दैन मन नदुखाउ सान्नानी

प्रकट पगेनी शिव का सुन्दर हरफहरु हुन यी प्रकट सौम्य – सौरभ रसिलो भाषामा हृदयका आयातानहरु पत्रपत्र गरेर नाप्ने हृदयका बोलीहरु लाई टपक्क टिपेर शब्दमा उन्न सिपालु सर्जक हुन् । जति पढ्यो उति मीठो लाग्ने जति पुरानो उति रसिला लाग्ने गजल गीत कविता लेख्न सिपालु प्रकट पोखरेली थातथलोमा बसेर अक्षरहरुको बासन्ती मगमगाईरहेका सर्जक हुन् ।

उनका रचनाले हृदय छुन्छ उनिभित्र म कसरी पुगे उनका गीत गजल सुन्ने हरेकले सम्भवत यहि सोचेको हुनुपर्छ । प्रकृतिको अनुपम छटा त्यसको बिराटता र हार्दिकताको प्रचुरता बोकेर उनी गीत गजल लेख्छन लाग्छ उनी जे देख्छन त्यही गीत बन्छ जे भोग्छन त्यही गजल बन्छ । उनी सिर्जनाहरु सरल शैलीमा सम्प्रेषित गर्छन गामबेसीको सुसेली सुसेल्छन लोकसंस्कारको बास्ना छर्छन् ।

मुटुमा ढुङ्गा राखेर बस जे जस्तो परे नि
रुवाउदै मन रात संग जुन नमाग पगेनी
म दुख्दा यता तिमीलाई उता दुख्यो कि दुखेन
सिरानीछेउ राखेको रुमाल सुक्यो कि सुकेन

उनका प्रत्येक रचनामा प्रेम छ प्रेमको कोमल स्पर्श छ बिस्तारै मायाले साउति मारेजस्तो लालित्यपुर्ण छ । स्नेहको अंगालोमा प्रेमको बासना टपक्क टिपेर राखे जस्ता उनका रचना । आँखामा अल्झिए जस्ता मुटुमा टाँसिए जस्ता लाग्छन उनी यसकारण पनि रसिक सर्जकका रुपमा चिनिन्छन् । २०१३ असोज २४ गते मंगलबारका दिन देउराली उकाली कास्कीमा घामको किरण जस्तै उज्यालो बोकेर धर्ती टेकेका प्रकट चित्रकार पनि हुन जीवन गुजार्न उनलाई थुप्रै बर्ष यही कलाले सघायो उनी साधक हुन साधना गिररहेका छन् । उनको उपस्थिति र प्रस्तुति नै प्रेमिल लाग्छ उनका गजल रसिक हुन्छन उनि गजलका गाँसहरु चबाउदै जाँदा उन्माद बर्साउछन् भन्ने आरोपपनी थेगिरहेकैछन् ।
गजलको शब्दिक अर्थ भनेकै स्त्री संगको प्रेमिल संबाद भनिएपनी गजल सामाजिक दायित्वबोध गर्दै मनोबैज्ञानिक छलाङ मार्दै बिबिधतामा फैलिसकेको छ । समय संगै साहित्यका धार र सर्जकका बिचारहरु पुस्ता दर पुस्ता परिवर्तन भैरहदा प्रकट भने आफ्ना गजल मार्फत प्रेम बर्साईरहेका छन् । त्यही लयमा हिडिरहेका छन् जुन लयका निम्ति उनी यो धर्तिमा आएका हुन् । उनी जस्तो स्नेही गजल लेख्ने सर्जक थोरै मात्र छन अहिले नेपाली गजल फाँटमा ।

उनी आफ्नै विशेषतामा स्थापित भएका साधक हुन उनका लयात्मक सुसेलीको बोलीमा रागात्मक संगीतको धुन निस्किन्छ त्यही धुनभित्र मानिस आफ्ना दुख पीडा ब्यथा बिर्सिदिन्छन् । उनी कतै अल्झिए जस्ता कतै पोखिए जस्ता गजल लेख्छन् । उनी आँशुलाई शीत बनाउन खप्पिस छन् । त्यसैले त उनका सिर्जना मन भत्किदा साथी बन्छन् । सम्झनाको तरङ्ग र प्राप्तिको उमंग हुन्छन् जिन्दगीको आरोह र अबरोहहरुमा भरोसा बन्छन दौतरी बन्छन् त कहिले हितैसी बन्छन् प्रकट हृदय बाटै प्रकट भएर लेख्छन्, आशुलाई सिरानीमा राखेर धडकनलाई श्वास भित्रै बाधेर राख्छन् र लेख्छन जिन्दगीका लयहरु यसरी ।

अंगमा रंग खुलेर आयो फुललाई छोयौ कि
धपधपी बल्छ मुहार तिम्रो जुनले धोयौ कि
संगै हिडेउ यत्रो यात्रा तिमि थकिनौ खै
उकालीमा तिर्खा लाग्दा पानि मागिनौ खै
साँझ पख एकान्त मा बनको बाटो हिड्दा
डराएर ’प्रकट’ संग अन्तै भागिनौ खै

दुई दशक भो मैले प्रकटका गजल गीत कविता पढेको धेरै पछि मात्रै सुने उनको आवाज र उनलाई पढ्न थालेको थुप्रै बर्ष पछि मात्रै हो उनको तस्विर देखेको साच्चिकै प्रकट लाई मैले आज सम्म नजिक बाट देखेकोपनि त छैन बोलेकोपनि त छैन तर पनि उनी प्रिय र प्रेमिल लाग्छन मलाई अक्षरले यति मीठो प्रेम जगाउँदो रहेछ म अचम्म हुन्छु एउटा सर्जकको उपलब्धि भन्नू नै यत्ती हो कतै नभेटेरै प्रेम जागोस कतै नदेखेरै मन भागोस जिन्दगी भन्नू नै यत्ती न हो ।

मंसिरको पहिलो साता पत्रकार अमृत भादगाउँलेले प्रकटलाई नेपालगन्जमा प्रकट गराउन सकिने नसकिने बारे चर्चा छोडेर जानुभएको थियो । डा बद्री चापागाईं र पत्रकार कमल खत्री जसरीपनी पुस भित्रै कार्यक्रम गर्ने एक सुत्रे अभियानमा हुनुहुन्थ्यो नभन्दै पुष ३० गते कार्यक्रमहुने मिति समेत तय भएको खबर सुन्दा प्रिय लागेकोछ ।
स्वास्थ्य प्रबद्र्धनको निम्ति बिहान बिहान हिंड्ने नेपालगन्जिया प्रबुद्ध टोली समाजसेवाको लगायत नेपाली कला, संस्कृतिको संबर्द्धनको निम्ति संवेदनशिल देखिएकोछ।
गत तिहारमा देउसी भैलो खेलेर रु ३ लाख संकलन गरेर निलसागर आश्रमलाई हस्तारण पश्चात यो समूहले प्रकट पगेनीको गजल साझ गर्दैछ पुषको ठिहिमा तात्न अनि माघीलाई अविस्मरणिय बनाउन पुस ३० गते नेपालगन्जमा हुन लागेको यो प्रेमिल कार्यक्रमको भब्य शुभकामना । र अन्तमा प्रेम मैत्री करुणा र बिश्व बन्धुत्व कायम गर्न र प्रेमलाई अझ प्रेम गर्न मान्छेको अओच प्रेमिल हुन जरुरी छ मैले प्रकटलाई पढेर यति चाही महसुस गरिरहन्छु ।
नभेटेको भए तिम्लाई बगर हुन्थे होला
हुन्थे होला पक्कै पनि पत्थर हुन्थे होला
जिन्दगीनै नौनी जस्तो बनाइदियौ तिम्ले
ओखती पो भाछु अचेल जहर हुन्थे होला

प्रतिक्रिया

प्रतिक्रिया