सशक्तिकरणका लागि ‘वुमेन मिट’

बाँकेमा रहेका उद्यमी, व्यवसायी र अगुवाहरु महिलाहरु बीच आपसी एकता र सशक्तिकरणका लागि ‘वुमेन मिट’ गरिएको छ । युवा अभियन्ता तुलसी थापाको संयोजनमा कोहलपुरको सेन्ट्रल प्लाजा होटलमा शनिबार गरिएको कार्यक्रममा जिल्लाका धेरै अगुवा महिलाहरुले आफ्ना संघर्षका गाथा प्रस्तुत गरे ।


‘व्यवसायिक रुपमा सफल महिलाहरुको संघर्षको शेयरिङदेखि आपसी एकता, व्यवसायिक अनुभव आदानप्रदान र आगामी दिनमा एक अर्काका सहयोगी भएर कसरी हिड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो’, थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘सोंचे भन्दा बढी सफल र प्रभावकारी ढंगले सहभागिता रह्यो ।’ कोहलपुर जेसीजकी कार्यकारी उपाध्यक्ष समेत रहेकी कोहलपुर उद्योग वाणिज्य संघकी सदस्य संगीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्यमी महिला अगुवा ललिता थापा, शिखा गौतम लगायतले आयोजनाबारे धारणा राखे ।

 


नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, लायन्स लिडर युवराज क्षेत्री लगायतले महिलाहरुको सफलताका लागि खेल्नुपर्ने भूमिकाबारे धारणा राखेको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव तारा रोकायलाई बनाइएको थियो । ‘महिला सशक्तिकरण नै हाम्रो मूल उद्देश्य हो’, कार्यक्रमका पहलकर्ता थापाले भनिन् । प्रमुख अतिथि रोकायले महिला सशक्तिकरणका लागि आर्थिक विकासमा महिला साझेदारीको वकालत गरिन् । वैश्य महिला समाजकी अध्यक्ष संगीता वैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य रमारानी वैश्य लगायतले पनि आफ्ना संघर्षदेखि सफलताका गाथा प्रस्तुत गरेका थिए ।

 
कार्यक्रममा सहभागी उद्यमी, राजनीतिकर्मी, समाजसेवी विभिन्न महिलाहरुले आफ्ना अनुभव अदानप्रदान गरेका थिए । महिलाहरुको मुख्य पर्व तिजलाई मध्यनजर गरिएको कार्यक्रममा दरभोज सँगै नाचगान पनि गरिएको कार्यक्रम संयोजक तुलसी थापाले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया