नेपालगन्जबाट साहित्यिक यात्रा सुरू गरेकी नीलम कार्की ‘निहारिका’को कृति ‘योगमाया’ मदन पुरस्कारका लागि छनोट भएको छ । दुई दशकदेखि साहित्य विधामा सक्रिय नीलमको कृति ‘योगमाया’ २०७४ सालको मदन पुरस्कारका लागि छनोट भएको हो ।
पाल्पामा जन्मिएर बर्दियामा हुर्किएकी नीलमको लेखन आरम्भ नेपालगन्ज बाट भएको थियो । यस अघि नीलम कार्की लिखित चीरहरण उपन्यासले २०७३ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो भने बेली र ‘अर्की आइमाई’ पनि नीलमका चर्चित कृतिहरु हुन् । ‘योगमाया बजारमा आएको पाँचौ दिन मैले किनेर पढें र नीलम कार्कीलाई भनेकी थिएँ, न्यायोचित निर्णय भो भने यस पटकको मदन पुरस्कार योगमायाले पाउँछ’, नेपालगन्जकी स्रष्टा ऋचा लुइटेलले सम्झदै दैनिक नेपालगन्जसँग भनिन्, ‘नीलमले सालिन जवाफ दिंदै भनेकी थिइन्, भन्न सकिँदैन योगमायालाई जीवन दिनु थियो सकेसम्म कोशिस गरेकी छु ।’ ऋचाका अनुसार, क्रान्तिकारी महिला योगमायाको जीवनका आयाम र संघर्षलाई नीलमले निक्कै सुन्दर किसिमले प्रस्तुत गरेकी छिन् ।
नेपालगन्जका वरिष्ठ स्रष्टा सनत रेग्मीले योगमायालाई मदन पुरस्कारका लागि छनोट गरेपछि आफ्नो प्रतिक्रिया दिंदै भनेका छन्, ‘बहिनी नीलम कार्की निहारिकाले यसबर्षको मदन पुरस्कार प्राप्त गरिन् । नेपालगन्ज हर्षित पनि छ र गौरवान्वित पनि ।’