(लघुकथा)
–सृजन लम्साल
‘ज्यान गए त्योसँग म बिहे गर्दिन । केटो हेर्ने वित्तिकै ठाडै अस्वीकार गरी अश्मिताले । छोरी हेर्न आएका केटा पक्षका मान्छे फर्केर गएपछि अश्मिताका बाआमा आगो बने । आफैबाट निस्केको धुवाँले वातावरण नै धमिला देखे ।
‘लौ न नि ! यो केटीले त इज्जत मै दाग लगाइसकी जस्तो पो छ ! कसैसँग सल्किसकी जस्तो पो छ ! नत्र तेतिराम्रो केटोलाई किन नाइ भन्थी ?’ आमाले भनिन् ।
‘ऐ अश्मिते ! तंैले के खोजेको हो ? तेरो निको याल छैन कि क्या हो ? तैले मेरो नाक कटाइसकिस कि क्या हो ? मैले कत्रो विचार गरेर, बडो मुश्किलले सम्बन्ध जोर्न खोजेको ठाउँ, त्यत्रो ठूलो खानदान, अथाह धनसम्पत्तिको मालिक, त्यत्रो ठूलो ओहदामा बसेको हाकिमको एकमात्र छोरो, हेर्दैमा लायक र सुन्दर केटो कहाँ पाउनु अब ? किन नाइ भनेकी तैंले ? तेरो क्वैसित लभसभ छ कि क्या हो ? त्यस्तो छ भने पनि कान खोलेर सुन् – लभको नाममा जथापाई लहसिन पाइनन । आप्mनो इजजत पोलेर तेरोपछि लाग्न सक्दिन म । बिहा भनेको खानदानमा हुनुपर्छ, बुझिस् ”, अश्मिता का बाले आगो ओकले ।
अब भने अश्मिताले मुख खोली, भनी – ‘बुवामुया दुबैले कान खोलेर सुनिस्योस् । हजुरहरुकै इज्जतमा दाग नलागोस, नाककान नकाटियोस् भनेर नै मैले यो बिहा हुन सक्दैन भनेको हो । सम्पत्ति मात्रले खानदान जनाउँदैन । मान्छे खानदानी हुन सम्पत्तिले मान पुग्दैन, आचरण र चरित्र पनि चाहिन्छ । त्यो परिवारको आचरण राम्रो छैन । भ्रष्टाचारको कमाइले कुनै न कुनै दिन पोल्छ । केटाको चरित्र राम्रो छैन । केही समय पहिले मैले काम गर्ने अस्पतालमा त्यो केटालाई प्रहरीले हतकडी सहित लिएर आएको थियो । ऊ लागु पदार्थको सेवन र ओसारपसारको मामिलामा थुनिएको थियो । डाक्टरले उसलाई एचआइभी पोजेटिभको शङ्का गरेको याद छ मलाई । ल अब बुवामुमा दुबैजनाले विचार गरिस्योस त यो बिहा टरेपछि हजुरहरुका नाक काटिए कि जोगिए ? अब भने गम्भीरमान शाही दम्पत्ति गम्भीर बने !!