सुलीगाड सुसाइरह्यो

खगेन्द्र गिरि ‘कोपिला’

उज्यालोका किरणहरु माथिमाथिका पाखाभरी फैलिए । मिरमिरेबाट झिसमिसे हुँदै छ्याङ्ग खुल्ने तरखर गरिरहेको छ आकाश । हामी ठूली भेरीको झोलुङ्गे पुल तरेर सुलीगाड पोष्टनिर आइपुगेका छौं । एकाबिहानै पौने पाँच बजे अँध्यारोमैं हिडेका हौं दुनैबाट । दुनैदेखि सुलीगाडसम्मको धुले बाटोमाथि हुत्तिदै सुलिगाड पुग्न एक घण्टा पनि लागेन ।

 

मर्निङ्वाकजस्तै भयो बिहानीपखको हिंडाई । उत्तर दिशाबाट फाल हाल्दै आउने सुलीगाड खोला ठूलीभेरी नदीमा मिसिने दोभानको देब्रे भित्तोमा नेपाली सेनाको व्यारेक छ । वारिपट्टि चेक पोष्ट राखिएको रहेछ । चेक पोष्टमा उभिएका दुई जना सैनिकले हामीलाई सोधपुछ गरे, हाम्रा झोलाझम्टा नियाले । ठूलीभेरीको बगरमा बेतोडले चल्ने वायुबेग र नदीको एकोहोरो सुसाईलाई झेलेर पहरा दिइरहेका छन् सैनिकहरु तर बेमनले । अस्तव्यस्त पोशाक लगाएका सैनिक कतैबाट पनि सैनिक जस्ता लागेनन् । सैनिक भनेपछि फुर्तिलो र टिपटप आकृति हाम्रो आँखामा सल्बलाउँछ तर यहाँ त हाम्रो अगाडि उभिएका सैनिकले आलश्यलाई त्याग्न सकेको देखिएन । सुत्दाखेरी लगाउने कान छोप्ने ऊनी टोपी, युनिफर्मसंग नमिल्ने रङ्गको ज्याकेट र मास्कले मुख छोपेका सैनिकले यहाँको विषम र प्रतिकुल मौसममा आफूलाई समायोजन गर्न नसकेका रहेछन् सायद ।

 
ठूली भेरीको झोलुङ्गे पुल तरेर ब्यारेक मुन्तिरको कोप्चे बाटो काटेर काठेपुल त¥यौं र सुलीगाड खोलाको दाहिने पट्टिको घोरेटो बाटो समात्यौं । दुईटा अग्लाअग्ला पहाडको बीचैमा साँगुरो गल्छीजस्तो बाटो बनाएर बग्दै आएको सुलीगाडको सुसाहट र बेग ठूलीभेरीको भन्दा बढी रहेछ । ‘यहाँभन्दा अगाडि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र शुरु भो, यहाँ त बाटोमा थुक्न पनि ख्याल गर्नु पर्छ, नियम कडा छ’ हाम्रा गाइड प्रकाश खत्रीले सचेत पारे ।

 
बाटो नदीको किनारैकिनार अघि बढ्यो तर किनार भने पनि किनारजस्तो छैन । कहिले माथि उक्लिन्छ, कहिले तल झर्छ बाटो । कतै ढुङ्गा, कतै धुलो, कतै साँगुरो भिरमा च्यापिएर हिड्नु पर्ने । ‘नदीको किनारैकिनारै हिड्नु पर्छ, सजिलै छ बाटो’ फोक्सुण्डो घुमेर आएकाहरुले भनेको वाक्य सही लागेन मलाई । पहाड भनेपछि नदीको किनार भन्दैमा हिड्न कहाँ सजिलो हुँदो रहेछ र?

 
सूर्यका किरणहरु तल खोंचसम्म आइपुगेका छैनन् तर माथि—माथिका अग्लाअग्ला पाखाभरी फैलिन लागेको सूर्यप्रकाशले बिहानी वातावरणलाई मनमोहक बनाउँदै ल्यायो । हिजै राती परेको हिउँले हिजो सुख्खा देखिने पहाडका माथिल्ला पाखाहरु सेताम्मे भएका छन् । सेतो हिउँमा परेको सूर्यको प्रकाशले पहेंलो रङ्गलाई आवर्तन गरिरहेको छ । ‘सरहरु भायमानी हुनु हुँदो रहेछ हिउँ हेर्न पाउनु भो’ मदन माझीले हाम्रो जिज्ञासामा उत्साह थपे ।

 
एकैछिनमा सुलीगाड गाउँ आयो । अघि सुलीगाड पोष्ट थियो । सुलीगाड खोलाले छोडेको छैन हामीलाई । ‘अगाडि सुलीगाड झरना आउँछ सर’ प्रकाशले सुलीगाडको महिमामा अर्को कथा थपे । शे फेक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयका सुन्दर संरचना देखिए बाटोको छेउमा । गाउँको किनारमा एउटा निर्माणाधिन पसलको आँगनमा प्लाष्टिकका कुर्सी राखिएका छन् । हामी त्यतै लाग्यौं । दुई तले ढुङ्गे घर बन्दैरहेछ । एक जना अधबैंसे अपाङग व्यक्ति काठमा कलाकृति भर्न लागेका छन् । प्रतिमान थापा रहेछ यिनको नाम । घर रुकुम रहेछ । दिनको एक हजार पारिश्रमिक लिएर काठको मिश्रीको काम गर्दारहेछन् । उनका लुला खुट्टा लट्ठिको सहाराबिना उभिन नसक्ने भए पनि हात भने मेसिनजस्तै एकोहोरो चलिरहेका छन् । मन्त्रमुग्ध पा¥यो उनले बनाएका काठका बुट्टा र यन्त्रवत् चलिरहेका हातले । ‘साहुजीले डोल्पा जिल्लामा कसैको घरमा नभएका बुट्टा बनाउनु भनेका छन् म कोसिस गर्दैछु साब’ उनले आफ्नो कलाको घुमाउरो किसिमले बखान गरे ।
प्रतिमान थापासंग गफिदै चिया पियौं हामीले ।

 
चिया पिएको पसलकी साहुनीको माइत प्रकाशकै गाउँमा रहेछ । दिदीभाईको नाता जोडिएपछि उनले दुईटा लट्ठी पनि खोजिदिइन् । पर्यटकले समातेर हिड्ने स्टीकले अगाडिको बाटो छिचोल्न सारै सजिलो गरिदियो मलाई र रामचन्द्र आचार्य सरलाई ।

 
सुलिगाड गाउँ काटेपछि कागेनी आयो, उही सुलिगाड खोलाको किनारमा । यो ठाउँ अलि फराक रहेछ । हरियाली पनि अन्त भन्दा बढी देखियो यहाँ । ढुङ्गे पर्खालको बीचैबीच बाटो अघि बढिरह्यो । कागेनीको सबैभन्दा ठूलो सुनिता होटलको प्रतिक्षालय र आँगनले मन लोभ्यायो । साहुजी दर्पसिंह कार्की लजालु रहेछन् । साहुनी गोमा कार्की भने निकै फरासिली र बोलक्कड लागिन् । कागेनीको विद्यालयमा पढाउने शिक्षिका लीला पहाडीसंग गफ भयो । डोल्पा माइती भएकी पुर्व मन्त्री सत्य पहाडीकी दिदी रहिछिन् उनी । साहुनीले उनको परिचय सत्य पहाडीसंग साइनो जोडेर दिंदा उनको अनुहारमा एक किसिमको संकोच प्रकट भयो । मान्छेलाई अरुसंग जोडिएर भन्दा आफ्नै नामले परिचय दिदा गौरव हुँदोरहेछ । वरिपरि अजङ्गका अग्लाअग्ला ढुङ्गे पहाडको बीच हरियो कचौरा जस्तो कागेनीको सिरानमा राक्ताङ नामको ठाउँनिर झोलुङ्गे पुल त¥यौं । सुलीगाड खोलाको देब्रे किनारपट्टि तेरपायाँतेरपायाँ शुरु भो हिडाई ।

 
बाटोमा एउटा रित्तो गाउँ आयो । ग्यालास नाम रहेछ यसको । एक दर्जन जति घर देखिए तर सबै सुनसान छन् । खेतबारी पनि सुक्खा छन् । ढुङ्गाका खात र दाउराका चाङ छन् जताततै । उपल्लो डोल्पाका भोटे जातीले हिउँदमा आएर अस्थायी बसोबास गर्ने ठाउँ रहेछ यो । कागहरुले पहरादिइरहेका छन् गाउँलाई । ‘यो गाउँको पो नाम राख्नु पर्ने कागेनी?’ रामचन्द्र आचार्य सरले हँसाउनु भो ।

 
हिमाली भेगको जीव शैली एक किसिमले फिरन्ते जस्तै हुन्छ । मौसम अनुसार आफ्नो बासस्थान फेरिरहनु पर्छ, सैनिकहरुले मौसम अनुसारको ट्युनिक बदलेजस्तै गरी । परिवार बोकेर, आफ्ना लालाबाला, अन्न भाडाकुँडा, भेडा बाख्रा बोकेर उच्च हिमाली भेगमा बसोबास गर्ने भोटे जातीका मानिसहरु कहिले लेक कहिले बेसी गरिरहन्छन् । आफ्ना दुःख कष्ट र संघर्ष आफैसंग बोकेर जीवनको अविरल चक्रमा घुमिरहन्छन् । चिसो हिउँदका केही महिना यो गाउँ पनि मान्छेको अचलपहलले चहकिन्छ होला । उहिले त लमतन्न सुतेको छ उदासीको कम्बल ओढेर । हाम्रा पाइला धेरै बेर रोकिएनन् ग्यालासमा ।

 
ठूलाठूला सेता ढुङ्गा र अग्लाअग्ला देवदारका रुखहरुले भरिएको सुलिगाड खोलाको अँध्यारो बगर आयो एक ठाउँमा । फेरि त्यहाँ काठे पुल त¥यौं । पारिपट्टि अलिकति उकालो चढ्नु प¥यो । भोको पेट तरतरी पसिना बग्न थाले । बल्लतल्ल शाङ्टा पुग्यौं । घडीमा पौने दश बजेको छ । एउटा ठूलो ढुङ्गामा बारह किलो मिटर लेखिएको देखियो । दुनैबाट यहाँसम्मको दुरी हो रे त्यो । दुईटा अग्ला पहाडको चेपमा च्यापिएको शाङ्टामा चार वटा घर देख्यौं । रुकुमका पोखर शाही भेटिए । उनैको होटलमा खाना खायौं । भात, कालो सिमीको दाल, आलुको तरकारी र भांगोको चटनी । शाहीजी अवकाशप्राप्त सैनिक रहेछन् । यतै निकुञ्जको पोष्टमा सरुवा भएर आएको बेला लामा परिवारकी दुईटी केटीसंग प्रेम बसेछ । जागिर सकिएपछि यतै होटल खोलेर बसेका रहेछन् । उनका दुबै श्रीमति र बालबच्चाहरु घरमा लामा भाषा नै बोल्दारहेछन् । होटलभरी हिन्दु देवीदेवता र बौद्ध लामाहरुका तस्वीर देखिए । दुई भिन्न संस्कृतिको साझा थलो लाग्यो त्यो परिवार ।

 

पोखर शाहीजीको होटेलको एउटा लज ओडारमुन्तिर देख्यौं । ओडारको भुइँमा काठका फल्याक फिंजाइएका छन् । ‘पाहुना धेरै भएको दिन यसैमाथि ओछ्यान लगाएर सुताउँछु । नेपालीहरु भने नाक खुम्च्याउँछन् तर कुइरेहरु रमाइलो मान्छन्’ पोखर शाहीले आँखा चम्काउँदै भने । शाङ्टामा सानो जलविद्युत केन्द्र रहेछ । यहाँबाट निकालिएको बिजुलीले सुलिगाड खोला वरपरका गाउँहरु उज्यालिएका छन् ।

 
शाङ्टाबाट बाटो उकालो लाग्यो । दुई किलोमिटर जति उकालो हिडेपछि फेरि त्यति नै ओरालो । अनांैठाअनांैठा आकृतिका ढुङ्गाहरु देखिए बाटोमा । प्रायःजसो ठूलाठूला ढुङ्गामा लामा लिपीमा बौद्ध मन्त्र लेखिएका छन् । ढुङ्गाहरुलाई लुङ्दर र ध्वजा पताकाले सिंगारिएको छ । अग्लो ठाउँ, ढुङ्गालाई अति नै पवित्र मानिदोरहेछ यतातिर । ढुङ्गैढुङ्गाको घुमाउरो ओरालो छिचोलर हामी छेप्का पुग्यौं । सानो गाउँ छेप्का घुचुमुच्च एकै ठाउँमा डल्लो परेको छ । बाटो छेउछाउमा होटेलका लहर देखिए । गाउँको उपल्लो सिरानमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको पोष्ट भेटियो । एक जनामात्रै कमैचारी रहिछन् । ती पनि महिला । जुम्ला घर रहेछ उनको । हाम्रो नाम टिपिन् र तातो पानी पिलाइन् । रामचन्द्र सर गफिन थाल्नु भो । थाकेको जिउ, चिसो पानी पिएपछि मेरा त आँखा निद्राले लोलाउन थाले । एक झप्को निदाउन पाए पनि हुने हो । कति मीठो निद्रा लाग्दो हो? तर आज दिउँसो आराम गरेर बस्ने, दिउँसै सुत्ने सुबिधा छैन ज्यानलाई । प्रकाशले भनी हाले— ‘उठौं सर, यसरी बसेर हुन्न, हिंडाईमा अलि बल गर्नु प¥यो’ । सबै जना उठ्यौं र हिड्न थाल्यौं ।

 
सुलिगाडको किनारै किनार लगालग पाँच घण्टा हिडेपछि ¥याची भन्ने गाँउ आयो । बीचमा कतै गाउँबस्ती भेटिएनन् । निर्जन बाटो, सुनसान छ वातावरण । कतैकतै ढुङ्गे चट्टानको बीचैबीच गुफाजस्ता बाटाहरु छिचोल्नु प¥यो । कहिँकहीँ भीरैभीरको साँगुरो बाटो ढेस्सिएर हिड्नु प¥यो । बाटोमा सामान बोकेका घोडा र खच्चरका लश्कर भेटिई रहन्छन् । ‘घोडा र खच्चर आए भने भित्तापट्टि उभिनुहोला सर’ प्रकाश हामीलाई सचेत पारिरहन्छन् । ‘यी यहीँनिर हो काराभान फिल्मको हिरो ठिन्ले चढेको घोडालाई खच्चरको ताँतीले धकेलेर खोलामा झारिदिएको ठाउँ’ एक ठाउँमा भनेथे प्रकाशले । असजिलो थियो भीर । तल हेर्दा रिङ्टा लाग्ने, माथि हेर्दा पनि रिङ्टा लाग्ने ठाउँ रहेछ । आँखा चिम्लेर बाटो काटेको हुँ मैले त्यो भिर । फेरि यहीँ बाटो फर्केर आउनु छ भनेर सम्झियो भने पिंडौला फतक्क गलेर आउँछन् । ‘म सर्वशक्तिमान आत्मा हुँ’ नेपालगंजबाट आउँदा बुनुले सिकाएको मंत्र जप्दै हिंडिरहेको छु लखरलखर ।

 
¥याची पुगेपछि ढुङ्गाको राजधानीमा आइपुगेजस्तो लाग्यो । यो गाउँलाई ढुङ्गेगाउँ भन्न मन लाग्यो । जताजतै ढुङ्गाका रास थुप्रिएका छन् । मुस्किलले दश—बारह ओटा घर होलान् । ससाना साँगुरा बारी जोतेर ठिक्क पारिएका छन् । मुन्तिर सुलिगाड सुसाइरहेको छ । एउटा कोप्चो जस्तो ठाउँमा पूर्व प्राथमिक विद्यालयको सानो भवन देखियो । एउटी शिक्षिका छ जना विद्यार्थीलाई पढाउँदै छिन् । मोरङबाट यहाँ आएर पढाउन थालेको बारह वर्ष भै सकेछ उनलाई । लक्ष्मी निरौला रहेछ नाम । रामचन्द्र आचार्यसर फेरि बेलीबिस्तार लगाएर सोधपुछ गर्न लाग्नु भो । हामी सबैको एउटै जिज्ञासाको उत्तर दिइन् शिक्षिकाले — ‘जहाँ बस्यो त्यही रमाइलो लाग्दो रहेछ सर, मान्छेको जात, जस्तो वातावरणमा पनि आफूलाई ढालिहाल्दो रहेछ’ । मनमनै भनें — सलाम लक्ष्मी निरौंलाजी !

 
स्कुल छेउमा दुईटा होटेल देखिए । एउटा ढुङगे घर, अर्को पाल । हामी पालपट्टि लाग्यौ । गोलो आकारको पालमा झ्याल र ढोका सबै हुँदारहेछन् । पालभित्र सबै कुरा छन् । चिम्नीबाट धुवाँ बाहिर जाने फलामे चुल्हो, होचा बेन्च, टेबिल, गलैंचा, ¥याकमा कलात्मक रुपले सजाएका भाँडा बर्तन, बोतल, शिशिले सजिसजाउ छ पालको भित्री भाग । टेलिभिजनमा देखिने मंगोलियाका फिरन्ते जातीको घरमैं आइपुगे जस्तो लाग्यो । सापकोटा थरका साहुजी रामेछापका रहेछन् । उनकी श्रीमति यही गाउँकी गुरुङकी छोरी रहिछिन् । ‘कसरी मायाप्रिती बस्यो त साहुजी?’ मदन माझीले जिज्ञासा राखि हाले, दुबै जना मज्जाले हाँसे ।

 
‘श्रीमतिको मायाले त होला सर, यस्तो अनकन्टार ठाउँमा रमाएर बसेको छु’ ।
चाउचाउको झोल र चिया पियौं । फेरि शुरु भो हिंडाई । उस्तै बाटो, उस्तै भूगोल, उही नदी र उही हावाको सर्सराहाट । प्रकाश हामीलाई छिटो हिंडाउन खोज्छन् तर हिड्ने गतिलाई केही गरी बढाउन सकिन्न । एक त उकालो—ओरालो, खुट्टा फतक्क गलेका छन् दिनभरीको एकोहोरो हिंडाईले । तिव्र गतिमा चलिरहेको हावाले टोपी र कपडालाई समाल्न धौधौ परिरहेको छ भने अर्कोतिर स्याँस्याँ सास बढिरहेको छ ।

 
अग्लाअग्ला ठाडा पहाडले सूर्यलाई छेकिरहने भएर होला अँध्यारो चाँडै हुँदोरहेछ यतातिर । हामी सात बजे बाकराल पुग्यौं । समुद्र सतहबाट तीन हजार मिटरको उचाईमा रहेको बाकरालमा स्याँठ चले जस्तो चिसो हावा चलिरहेको छ । झमक्क रात परिसक्यो । बाटोको छेउमा एउटा सानो होटेल देखियो । साइनबोर्डमा सम्झना होटेल लेखिएको छ । त्यतै पस्यौं हामी । साहुनीले यसरी स्वागत गरिन् कि मानौं उनी हामीलाई नै पर्खेर बसेकी थिइन्, मानौं हामी उनकै आफन्त हौं । चिसो पानीले आत्थुआत्थु गर्दै हात खुट्टा धोयौं र अगेनो वरिपरि झुम्मियौं । संभव भएजति सबै सुबिधा छन् होटेलमा । साहुजीको नाम सन्दुक रोकाया रहेछ साहुनीको नाम लक्ष्मी । उनका छोराको नाम लेन्डुप रोकाया रहेछ । साहुजीको नाम भोटे भाषाको जस्तो र थर क्षत्रीको जस्तो । बास्तबमा यतातिरको सामाजिक जनजीवनका थुप्रै कुरामा भोटे र पहाडी दुबै संस्कृतिको मिश्रण पाइन्छ । साहुजीले थर रोकाया लेखे पनि उनको जात मगर रहेछ । साहुनी गुरुङ्की छोरी रहिछिन् । घरमा बौद्ध धर्म मान्दारहेछन् । छोराछोरीको नाम भोटे भाषाबाट राखिएको रहेछ । बास्तबमा हिन्दु र बौद्ध संस्कृतिको यही अन्तरघुलनमैं अडिएको छ नेपाली संस्कृतिको जग हो ।

 
दुनैबाट बाटोको सर्भे गर्दै ढुङ्गामा यति किलोमिटर, उति किलोमिटर भनेर लेख्दै आएका तीन जना अमिनहरुको एउटा टोली पनि त्यही होटेलमा भेटियो । दुनैबाट बाकरालको दुरी छब्बिस किलोमिटर रहेछ ।

 
आज दुई हजार पचहत्तर साल बैसाख नौ गते अर्थात् सन् दुई हजार अठार अप्रेल महिनाको बाइस तारिख । तिथि, मिती र डेटको आफ्नै भाषा भए पनि बार भने आज आइतबार हो । आदित्यबार पनि भनिने आइतबारको सिंगो दिन सूर्य अर्थात् आदित्यलाई सहयात्री बनाएर खोलैखोला हिडेर यहाँसम्म आइयो । रेडियो र मोबाइलबाट आज दिनभरी सम्बन्धविच्छेद भए पनि खासै चासो भएको थिएन । रात परेपछि बचेराले पनि बास खोज्छ भनेजस्तै घरमा फोन गर्न पाए हुन्थ्यो भनेर मनभित्र एक किसिमको व्याकुलता बढ्दै आयो । संचारका उपकरणले सम्बन्ध बिच्छेद गराए पनि असम्बन्धको सम्बन्धले बाँधिएकै हुन्छौं हामी जहाँ पुगे पनि आफ्नो घरपरिवारसंग ।

 
रात छिप्पिदै गयो । होटलको अगेनुँनिर ढिलोसम्म गफियौं हामी । हिमाली वातावरणमा अगेनुँको निकै ठूलो महत्व हुन्छ । अगेनुँ खाना खाने र आगो ताप्ने मात्रै ठाउँ नभएर सामाजिक सम्बन्ध जोड्ने थलो पनि हो । यहाँका हरेक अगेनाहरु कथा—व्यथाका साक्षी हुन्, श्रोता हुन् । यी अगेनासंग सुख, दुःख, कष्ट र संघर्षमा अनगिन्ती कथाहरु छन् । अगेनुँनिर बसेर खाना खानुको छुट्टै अनुभव पनि बटुलियो । खाना भने उही भात, सिमीको दाल, आलुको तरकारी र भाँगोको चटनी । यहाँ भाँगोसंग पुदिना मिसाएको रहेछ । चिसो रात झन्झन् चिसो हुँदै गयो । हाम्रा थाकेका जिउ बाक्ला कम्बल, सिरकभित्र गुटमुटिएर घुरिरहे । रातभर सुलिगाड सुसाइरह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया